News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको उत्तरगया–४ तल्लो पैरेबेँसीको थापा परिवारका १५ सदस्य बाढीमा बगेर हराएपछि बाँचेका १३ जना काठमाडौंमा आश्रय लिएर बसिरहेका छन्।
- थापा परिवारले २०७२ को भूकम्प, २०७४ को पहिरो र १० भदौको बाढीपछि तेस्रो पटक विस्थापन भोग्दै करिब १० करोड रुपैयाँको क्षति बेहोरेको छ।
- परिवारले सुरक्षित र दीर्घकालीन पुनर्स्थापनाको माग गर्दै पैरेबेँसी नफर्कने र काठमाडौंमै बसोबासको व्यवस्था खोज्ने बताएका छन्।
२८ भदौ, काठमाडौं । गाउँको माया कसलाई हुन्न र ! तर यी गाउँलेहरू थातथलोमा फर्कनु त परको कुरा, यो गाउँको नाम पनि सुन्न चाहँदैनन् ।
गाउँ भन्नु आखिर गाउँलेहरू नै त हुन् । ती गाउँले नै कहिले भूकम्पमा परे । बाँचेकाहरूलाई पहिरोले लग्यो । अनि बाढीले ।
रसुवाको उत्तरगया–४ तल्लो पैरेबेँसीमा थापा खलकको लहरै ५ घर थियो । १० गतेको रसुवा बाढीले उनीहरूको घर मात्र बगाएन ।
७० वर्षीय हजुरआमा दुर्गादेवीलाई बगायो । उनको ५३ वर्षको माइलो छोरा, ४७ वर्षीय साहिली बुहारी सरिता थापा, १० वर्षको नाती सञ्चित थापा र ९ वर्षको नाती निशान थापालाई पनि बगायो । उता छोरीतिर १० जनाको परिवारै लग्यो ।
थातथलो बगर बन्यो । थापा खलक शून्यमा पुग्यो । बस्ती मात्र होइन उनीहरू पनि उजाडिए । ‘अब त्यो ठाउँमा फर्किन चाहँदैनौं । त्यो ठाउँलाई सम्झिन पनि मन छैन,’ विपद्का विगतहरूसँग लड्दालड्दा यसपल्ट चाहिँ विक्षिप्त बनेका उनीहरूले भने ।
थापा परिवारले विपद्सँग लडेको यसपटक मात्र होइन । तर विपद्सँग लड्दा लड्दै बाढीमा आइपुग्दा १५ सदस्य गुमाए । अहिले उनीहरूसँग बाँकी परिवारका १३ सदस्य छन् ।
यतिबेला उनीहरूसँग खुसी र हाँसोबाहेक सबै चिज छ ।
लघुवित्तको ऋण छ ।
आँखामा आँसु छ ।
विलौना र वेदना छ ।
विपद्सँग हारेका उनीहरू पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् ।
तर गाँस र बासको टुंगो छैन ।
तारकेश्वर नगरपालिकाको हिलेटोल हाइटमा भान्जीको घरमा आश्रय लिएर बसेका छन्, उनीहरू । विस्थापित थापा परिवार र भान्जीको परिवारसहित २० जना जति हुन्छन् ।

एकैपटक खाना खाने अवस्था पनि छैन ।
‘आलोपालो गर्नुपर्छ । कुर्नुपर्छ । खाने बेला भएपछि एक अर्काको अनुहार हेर्छौं । आँखाबाट सबैको आँशु झर्छ,’ ४७ वर्षीया गीता थापाले भनिन् । उनीहरूको भान्जीको एक तलाको पक्की घर छ । छेउमै पुरानो माटो र इँट्टाले बनेको टहरा छ । दुवै भरिएको छ ।
पुरानो घरको चिसो कोठा छ । केही थान म्याट्रेस छ । थोरै भाँडाकुँडा छ । आगो बाल्ने चुल्हो छ । बासको दाउराबाट निस्केको धुवाँ कोठामा रुमलिन्छ । त्यो भन्दा बढी उनीहरू रुमलिएका छन् । केवल, टहराले उनीहरूलाई ओत दिएको छ ।
त्यही कोठामा लहरै बसेका छन् उनीहरू ।
र, उनीहरूले अनलाइनखबरसित ११ वर्षयता विपद्सँग लडेको एउटा यस्तो कथा सुनाए, जो उनीहरू खासमा सम्झन पनि चाहँदैनन् ।
अनि कुन मनले पो फर्कन चाहन्छन् !

थापा खलकले भोगेको विपद्को श्रृंखला
२०७२ मा उनीहरूको घर कुवापानीमा थियो । विनाशकारी भूकम्पले घर ढल्यो ।
पहिलो पटक विस्थापित भए, उनीहरू ।
त्यसपछि बसाईं सर्ने निर्णय गरे । र, नुवाकोटको तुप्चे साहुगाउँ पुगे, उनीहरू । तर पुनर्बासको सरकारी मापदण्डले भूकम्पले नै ढलेको ठाउँमा फर्किन विवश भए । पुनर्निर्माणको लागि सरकारले दिएको पैसाले उनीहरूलाई पुरानै भत्किएको थातथलोमा ल्यायो ।
जुन ठाउँमा उनीहरू फर्किनै चाहँदैनथे ।
जुन पालिकाको हो त्यही पालिकामा बस्नेले अनुदान रकम पाउने भनेपछि उनीहरू कुवापानीमै फर्किनुको विकल्प रहेन ।
‘छ महिनापछि पुरानै थातथलोमा फर्कियौं,’ ४२ वर्षीय ताराबहादुर थापाले भने, ‘सरुमा जस्ताको टहरा बनायौं ।’

अनुदानको रकमले मात्र पक्की घर बन्न पैसा पुग्ने भएन ।
थपथाप ऋृण गरेर उनीहरू घरको जग हाले । कोहिले डीपीसी सकेका थिए । कोहिको छानो हाल्ने बेला भएको थियो ।
तर, फेरि अर्को विपद आइलाग्यो । २०७४ मा बस्तीमा पहिरो लाग्यो । भूकम्पबाट नउठ्दै पहिरोले लखेट्यो उनीहरूलाई ।
‘घर बनि नसक्दै पहिरोले लग्यो,’ ३७ वर्षीया अस्मिता थापाले भक्कानिँदै सुनाइन्, ‘छानो पनि हालेको थिएन । पहिरोले तहसनहस भयो । हाम्रो उठिबास लाग्यो ।’
दोस्रो पटक विस्थापित भए, उनीहरू ।
त्यसपछि, अस्थायी बसोबासको लागि नुवाकोटको विदुर नगरपालिका– ९ कोलनीमा पुगे । तीन चार महिना जति कोलनीमै बसे ।
फेरि कुवापानीमा नफर्किने निर्णय गर्यो– थापा परिवारले । र, सरकारसँग छलफल भयो । घडेरी किन्न २ लाख र घर बनाउन ३ लाख सरकारबाट पाउने भए ।
त्यसपछि २०७५–२०७६ मा उनीहरूले तल्लो पैरेबेँसीमा घडेरी लिए । जुन ठाउँ पहिलेको कुवापानीभन्दा आधा घण्टा मुनि पर्छ । अनुदान रकममा उनीहरूले थपेर बसोबास बसाले । माटो परीक्षण गरेर ‘अब यो ठाउँ बस्न सुरक्षित छ’ भन्ने जवाफ पाएपछि थापा खलकका ५ दाजुभाइले लहरै घर बनाएका थिए ।
‘एउटा घर बनाउन २० लाख माथि लगानी गरेका थियौं । संघ संस्था र लघुवित्तबाट ऋण लिएर बस्ती बसालेको हो,’ अस्मिताले भनिन्, ‘ऋण तिरिसकेको छैन ।’
त्यत्रो दु:खजिलो गरेर अबका दिनहरू चाहिँ ढुक्कले बिताउन पाइएला भनेर लहरै घर बसालेको । फेरि १० भदौमा बाढीले बस्ती नै बगायो ।
‘तीन–चार वर्ष पनि त्यो घरमा बस्न पाएनौं । बाढीले सबै लग्यो,’ अस्मिताले बिलौना गरिन् ।
दुईपल्टसम्म त लड्दै उठ्दै गरेथे । तेस्रो पटक चाहिँ विस्थापित नै भए, उनीहरू ।
‘परिवार छैन । बलबच्चा छैन । खेतबारी छैन । एउटा सियो पनि बचेको छैन । छिमेकी छैनन् । पैरेबेँसी जानै नपरोस्,’ उनीहरू यसो भनिनसक्दै भक्कानिएर रुन थाले ।

विछोडै–विछोड
त्यो दिनदेखि गीता थापाको आँखा ओभाएको छैन । उनलाई रातमा निद्रा आउँदैन, गुमाएका सन्तानहरूको याद आइरहन्छ । उनले घरपट्टी ५ र छोरीतिर १० गरी १५ जना गुमाएकी छिन् ।
१० गते बिहान उनी खाना पकाएर खेतमा घाँस काट्न पुगेकी थिइन् । गाडीको टायर पड्केको जस्तो आवाज कानमा ठोक्कियो । ‘पानी परेको छैन । भेल उर्लेर आएको छ । महामारी आयो जस्तो लाग्यो । छोरी–छोरी भन्दै कराउन थालेँ । मै भएको ठाउँमा भेल आइपुग्यो,’ उनले भनिन्, ‘हेर्दाहेर्दै छोरीको घरका १० जना परिवार लग्यो । घरतिर ५ जनालाई लग्यो ।’

उनीहरूको परिवारमा ७० वर्षीया देखि चार महिनाको सानो बच्चासम्मलाई बाढीले बगाएको छ । ‘छोरीबाट जन्मेकी दुई वर्षकी छोरी थिइन् । छोरीकी नन्द सुत्केरी भएर माइत बस्न आएकी थिइन् । चार महिनाको सानो छोरो थियो । आँखै अगाडि सबैलाई बगायो । जो भाग्न खोज्दै थिए, तिनलाई पनि भाग्दा भाग्दै भेलले समेट्यो । कसरी सम्हाले मन,’ उनी घोत्लिइन् ।
बाढीमा परेकाहरूको न लास भेटियो, न सास । ‘बगाएको प्रत्यक्ष देखेको भएर आठौँ दिनबाट काजकिरियामा बस्यौं । १३ औँ दिनको काम सकायौ । डीएनए पनि दिएका छौँ,’ ताराबहादुरले भने ।

विदेशबाट पैसा पठाए छोराले झिक्नै पाएनन्
४० वर्षीय खड्गबहादुर थापा खाडी मुलुक दुबई बसेको १५ वर्ष भयो । १० गते बिहान ६ बजे नेपाली समयमा उनले छोराछोरी र आमासँग फोनमा कुरा गरे । छोरा–छोरीले लाखे जात्रा हेर्न जान पैसा मागेका थिए । दुबईबाट छोरा छोरीको लागि १० हजार रुपैयाँ पठाएर उनी काममा गए । दसैंमा घर आउने वाचा गरेका थिए, उनले । तर केही घण्टामा नै बाढी आएको खबर सुने । परिवारसँग सम्पर्क गरे । तर कसैसँग सम्पर्क हुन सकेन ।
‘दसैँमा घर आउछु भनेर जात्रा हेर्न जादा आफूलाई चहिने कुरा किन्नु भनेर पैसा पठाएको थिए । यता सबै बगाएछ,’ उनले भने, ‘पठाएको पैसा पनि बाबुले झिक्न पाउनुभएन ।’
तीन कक्षामा पढ्ने उनको छोरासहित परिवारकालाई बाढीले लग्यो । त्यसपछि उनी ११ गते बेलुका टिकट काटेर नेपाल आए । नेपाल आएपछि १४ गते काठमाडौंमा उनको बाँचेर आएका परिवारसँग भेट भयो ।
त्यसपछि मात्र थाहा पाए उनले आमा, छोरा, दाई, भाउजु, दाईको छोरी र नातिनी गुमाएको ।

‘१५ वर्ष विदेश बसेर जोडेको ५ मिनेटमै सकियो । फेरि त्यही जायजेथा जोड्न कति लाग्छ ? छोरा छोरीको सपना पूरा गर्न विदेश बसेँ । जिन्दगी नै उजाडियो,’ उनले आफ्नो असहायपन सुनाए ।
विपद्ले लखेटेको त्यो ठाउँमा फर्किन चाहँदैनन् उनी । ‘घटनास्थल पुगेको छैन । त्यहाँ जान मन छैन । त्यो ठाउँमा फर्किनु नपरोस् । बरु काठमाडौंमा मागेर गिटी बालुवा चालेर खान्छु । तर रसुवा जान्नँ,’ उनले भने ।
निद्रामै बगायो
२१ वर्षीय सिजल थापा कामबाट आएर घरमा सुतेका थिए । हाइड्रोपावरमा काम गर्ने उनी रातिको काम गरेर आएका थिए । सुतेका उनले बाढी आएको पत्तो पाएनन् । उनले सुरुमा त सोचे– सपनामा बाढी आएको देखेको हुँला । तर ब्युँझिदा त अघि नै खोलामा थिए ।
‘निदाएका बेला नै बाढीले सबै लगेछ, धन्न कसोकसो बाँचियो,’ उनले भने ।
सिजलको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई उद्धार गरेर धुन्चे हुँदै हेलीबाट काठमाडौंको टिचिङ अस्पतला ल्याएर उपचार गरियो । अस्पतालबाट डिस्चार्ज भएका उनी पूर्ण निको भएका छैनन् ।

थापा परिवारको ५ घरबाट १० करोड बराबरको क्षति भएको अनुमान उनीहरूको छ । घरजग्गा, खेतबारी, पशुपंक्षी सबै पूर्ण क्षति भएको छ । कोरोना कालमा लकडाउनको समयमा ताराबहादुरले साउदीबाट २० लाख कमाएर ल्याएका थिए । त्यही लगानी गरेर फार्म खोलेका थिए । फार्मको भवन बनाउन मात्र १० लाख खर्चेका थिए । र, उनले बाख्रा पालन गरेका थिए । तर अहिले बाढीले बगायो । ‘गाई भैैंसी बाख्रा केही पनि छैन । सबै बगायो,’ उनले भने ।
अनि बाँचेकाहरू काठमाडौं आए
पटक पटक विपदमा परेपछि ताराबहादुर थापा कामको सिलसिलामा मकवानपुरको हेटौंडा बस्न थालेका थिए । उनले १० गते बिहान ९ बजे माइलो दाईलाई फोन गरे । ‘५ मिनेट जति कुरा भएको थियो । त्यसपछि दाइको फोन टुट्यो,’ उनले भने, ‘दाइको कल ब्याक आउने प्रतीक्षामा बसेँ ।’
त्यही बेला नै दाइलाई बगाएको थाहा पाए । भोलिपल्ट ४ बजे उनी बचेका परिवारलाई लिन पैरेबेँसी पुगे ।
‘दुई दिन त्यतै बस्यौं । उद्धारको प्रतीक्षामा बस्यौं तर हेली आएन । ९ घण्टा हिँडेर सूर्यगढी गाउँपालिकामा राति ७ बजे आइपुग्यौं,’ उनले भने, ‘बाढी आएको चौथो दिन काठमाडौं आइपुग्यौं ।’ बाँचेका १३ जनालाई उनले काठमाडौं ल्याए ।

अब कहाँ बस्ने ?
१३ जनाको परिवार अहिले बासको खोजीमा काठमाडौंमा भौतारिरहेका छन् ।
छोराछोरी पढाउनु पर्ने छ । बाढीले बगाएको ठाउँमा फर्किने स्थिति छैन ।
कोठा छैन । ग्यास छैन । पैसा छैन ।
‘भान्जीको घरमा बसेका छौं । सरकारले छिटो पुनर्स्थापना गरोस् भन्ने आशामा छौं,’ उनले भने । तर पुनर्स्थापना हुँदा आफूले रोजेको ठाउँमा बस्न पाउनु पर्ने माग उनीहरूको छ ।
‘तीन/चार पटक विपद् भोगिसक्यौं । पहिलो पनि मकवानपुरमै बस्न खोजेको हो तर गाउँपालिकाको निर्णयले जान पाएनौं । सुरक्षित ठाउँमा दीर्घकालीन हुनेगरी पुर्नवास होस्,’ उनीहरूले भने, ‘फेरि अर्को विपद्मा पर्न चाहदैनौं ।’
प्रतिक्रिया 4