+
+
Shares

तपाईंको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ ? अपनाउनुहोस् यी ५ उपाय

साना बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिभावकले बच्चाको रूपरङबारे चर्चा नगरी क्षमताको प्रशंसा गर्न र उनीहरूलाई आफूलाई अरूसँग तुलना नगर्न सिकाउनुपर्ने बताइएको छ।

धेरै बालबालिकामा आफ्नो शारीरिक बनावट वा रूपलाई लिएर हीनताबोध हुन सक्छ । हीनताबोधका कारण उनीहरूले आत्मविश्वास गुमाइरहेका हुन सक्छन् । यसले उनीहरूलाई दुखी मात्रै बनाउँदैन; पढाइ, खेलकुद तथा अन्य गतिविधिमा समेत असर पुर्‍याइरहेको हुन्छ ।

उनीहरूमा आत्मविश्वास बढाउन र करिअरमा केन्द्रित गराउने कुरामा अभिभावकले ध्यान दिन आवश्यक छ । यस्तो अवस्थामा कसरी बालबालिकालाई सम्झाउने, कसरी उनीहरूको आत्मविश्वास कायम राख्ने भन्ने अलमल हुन सक्छ । त्यसका लागि केही उपायहरू छन् ।

१.आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने

बच्चाका अगाडि आफ्नो रूपरङ वा छालाको रङबारे चर्चा नगर्नुहोस् । त्यसैगरी, अरूको रूपरङबारे टिप्पणी गर्नबाट पनि बच्नुहोस् । यसको कारण के हो भने अभिभावकहरू बालबालिकाका लागि पहिलो रोल मोडल हुन्छन्; जब अभिभावकहरू आफूप्रति विश्वस्त हुन्छन्, बालबालिकाले पनि त्यही गुण अपनाउने सम्भावना हुन्छ।

२.रूपरङभन्दा क्षमताको चर्चा गर्ने

बच्चाको ध्यान उनीहरूको रूपरङ र शरीरबाट हटाउनु पर्छ । उनीहरूका शारीरिक गतिविधि वा कार्यहरूको प्रशंसा तथा आलोचना गर्नु हुँदैन । जस्तो यदि तपाईंको बच्चा राम्रोसँग उफ्रिन्छ वा दौडिन्छ भने, त्यसको प्रशंसा गर्नुहोस् । सुन्दर शरीरभन्दा स्वस्थ शरीर बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझाउनुहोस् ।

३.सञ्चारमाध्यमको प्रभावबारे सचेत गराउनुहोस्

सकारात्मक कुराकानीका साथै, सञ्चारमाध्यममा देखाइने नकारात्मक प्रभावहरूबारे पनि बालबालिकालाई सिकाउनुहोस् ताकि ती सन्देशहरूले उनीहरूको सोचमा नराम्रो असर नपारोस् । साथै, सबैको शारीरिक बनावट फरक-फरक हुन्छ र त्यसैले आफूलाई अरूसँग तुलना गर्नु गलत हो भन्ने कुरा पनि बुझाउनुहोस् ।

४.आफूप्रतिको प्रेम वा सम्मानको भावना जगाउनुहोस्

साना बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो । यसले उनीहरूलाई भविष्यमा हीनताबोधको भावना विकास हुनबाट बचाउन सक्छ । शरीरको हरेक अंग आकर्षक र सुन्दर हुनुपर्छ भन्ने भन्दा तिनीहरू स्वस्थ र सलब रहनुपर्छ भन्ने कुरामा जोड दिनुहोस् ।

५.बच्चाको भावनालाई सहानुभूतिपूर्वक सम्बोधन गर्नुहोस्

यदि तपाईंको बच्चा आफ्नो शरीर वा छालाको रङलाई लिएर चिन्ता, निराशा वा लज्जा महसुस गरिरहेको छ भने, रिसाउनुको सट्टा माया र समझदारीका साथ त्यो परिस्थितिलाई सम्हाल्नुहोस् । खुला संवादले बालबालिकाको मनमा आफ्ना भावनाहरू अभिभावकसँग साट्न हुने हिचकिचाहटलाई हटाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?