News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बैतडीका चार पूर्वसभापतिले पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायत गतिविधिमा सहभागी नहुन कार्यकर्तालाई अपिल गरेका छन्।
- नरेन्द्रबहादुर बम, नरेन्द्रसिंह बिष्ट, शिवराज भट्ट र नरबहादुर चन्दले एकता, सहमति र लोकतान्त्रिक विधिबाट पार्टी बलियो बनाउनुपर्ने बताएका छन्।
- उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयबिनाको विशेष महाधिवेशन र त्यसबाट अघि बढाइएका गतिविधिले पार्टीभित्र विभाजनको बिजारोपण गरेको ठहर गरेका छन्।
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीका पूर्वसभापतिहरूले पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।
बैतडीका चार पूर्वसभापतिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन् । ‘पार्टी एकढिक्का नहुँदासम्म एकतर्फी रुपमा अघि बढाइने भनिएका वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन नेपाली कांग्रेस बैतडीका सम्पूर्ण क्रियाशील सदस्य साथीहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा पूर्वसभापतिहरू नरेन्द्रबहादुर बम, नरेन्द्रसिंह बिष्ट, शिवराज भट्ट र नरबहादुर चन्द रहेका छन् । उनीहरूले पार्टीलाई एकता, सहमति र लोकतान्त्रिक विधिबाट बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
केन्द्रीय कार्यसमितिको निर्णय बिना सम्पन्न भएको विशेष महाधिवेशन र त्यसबाट अघि बढाइएका गतिविधिले पार्टीभित्र विभाजनको बिजारोपण गरेको पूर्वसभापतिहरूको ठहर छ । ‘पार्टीभित्रको विद्यमान विवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाउने कार्यले पार्टीलाई एकताबद्ध देख्न चाहने आम नेता–कार्यकर्ताको भावना र विश्वासमाथि गम्भीर आघात पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा तथा पार्टीको सुदृढ भविष्यका लागि कांग्रेसको सम्पूर्ण एकता अपरिहार्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया 4