News Summary
Generated by OK AI. Editorially reviewed.- ८० को दशकमा हुर्किएका मिलिनियल पुस्ता पुस्ताले गुच्चा, डन्डिबियो, टुकीबत्ती, ब्ल्याक एन्ड ह्वाइट टिभी र एन्टिनासँगै बाल्यकाल बितायो।
तपाईंले थोत्रो मोजाको फुटबल बनाएर खेल्नुभयो ? पुरानो चप्पल काटकुट गरी चक्का बनाएर गाडी कुदाउनुभयो ? सुरुवालको इजार नै फुत्कनेगरी खल्तीभरी गुच्चाहरू बोकेर मख्ख पर्दै हिँड्नुभयो ? नाकभरी सिगान बोकेर घुर्रा मिठ्ठाई घुमाउँदै चाट्नुभयो ?
यी प्रश्नहरूको उत्तरमा तपाईंले ‘हो’ वा ‘त्यस्तै गरें’ भन्नुभयो भने ठोकुवा गर्न सकिन्छ, तपाईं ८० को दशकमा हुर्कनुभयो । तपाईंले त्यसबेला के के देख्नुभयो ? के के खेल्नुभयो ? श्यामश्वेत जमानामा तपाईंले रंगीन बाल्यकाल बिताउनुभयो ।
१४ इन्चको टिभी हेर्न अधैर्यसाथ एन्टिना घुमाउनुभयो, अघिल्तिर शिक्षकले पढाइरहँदा खासखुस गर्दै साथीसँग गुच्चा किनबेच गर्नुभयो, पाइपको रिङ बनाएर बेतोडले कुदाउँनुभयो । अरू के-के गर्नुभयो ?
हिजोआज सामाजिक सञ्जाल ८० को दशकलाई फर्काउने फेसनले रंगीचंगी छ । यही मेसोमा धेरैले आफ्ना बाल्यकाल सम्झिए होलान् । किनभने श्यामश्वेत जमानामा हुर्किएका मिलिनियल पुस्ताको बाल्यकाल भने साँच्चै रंगीन थियो ।
उनीहरू आरादायी सोफामा लमतन्न परेर मोबाइलमा एकोहोरिन पाएनन् । भिडियो गेममा झुण्डिएनन्, टिकटकमा लुटुपुटिएनन् । भर्चुअल संसारमा प्रवेश नै गरेनन् ।
बरू धुलाम्मे आँगन, खेतबारीमा दौडिँदै, उफ्रिँदै, लड्दैपड्दै, खेल्दै हुर्किए । यसरी हुर्किए, जुन कुरा सम्झिएर उनीहरू अझै रोमाञ्चित हुन्छन् । यी पुस्तालाई बाल्यकालमा फर्काउने खास–खास कुरा छन् । ती के के हुन् त ?
गुच्चा
कहीँ कतै काँचका गोलाकार रंगीन गुच्चा देख्नुभयो भने तपाईं सुखद् आश्चर्यले आँखा तन्काउनुहुनेछ । किनभने त्यो तपाईंको बाल्यकालको प्रिय खेल्नु कुरा थियो । खल्तीभरी गुच्चा बोकेर धुलाम्मे माटोमा खेलेका यादहरूले तपाईंलाई रोमाञ्चित बनाउन सक्छ ।
डन्डिबियो
आफ्नै हातले डन्डी बियो बनाएर खेल्नुभयो । न डन्डिबियो किन्नुपर्ने, न खेल्नका लागि ठूलो मैदान चाहिने । दुईतर्फ चुच्चो भएको बियोलाई डन्डिले भुँइमा झार्न नदिई ठ्याक लगाउँदा तपाईंलाई अहिले क्रिकेट खेलेजस्तै हुँदो हो ।
टुकीबत्ती
यो कुनै खेल्नेकुरा होइन, खानेकुरा पनि होइन । तर, तपाईंलाई ८० को दशकमा फर्काउने एउट चिज हो । त्यसबेला सीमित शहरमा मात्रै बिजुली थियो । टुकी बत्ती बाल्नुपर्थ्यो । त्यही बत्ती बालेर किताब पढेको याद गर्नुभयो ?
ब्ल्याक एन्ड ह्वाइट टिभी र एन्टिना
आज १४ इन्चको श्यामश्वेत टिभी देख्नुभयो भने, कतै एन्टिना भेट्नुभयो भने के तपाईं चुप लागेर बस्नुहुन्छ ? वा बाल्यकालमा त्यस्तै टिभी हेर्दाको सास्ती र मस्तीबारे चर्चा गर्न सुरु गर्नुहुन्छ ? ८० को दशकमा हुर्किएकाहरूलाई सबैभन्दा सम्मोहित बनाउने संसाधन नै टिभी थियो, जो जताततै देखिँदैनथ्यो । अनि त्यससँगै जोडिएको एन्टिना, जो हुनेखानेको छानोमाथि देखिन्थ्यो ।
घुर्रा मिठ्ठाई
माझमा धागोले बाँधिएको घुर्रा चकलेटले एकसाथ दुई काम गर्थ्यो । स्वाद दिने, खेल्न मिल्ने । ८० को दशकमा हुर्किएकाहरूलाई सानो पैसामा आउने यही मिठाईले ठूलो खुसी दिन्थ्यो । बेलाबेला जिब्रोमा चाट्दै, बेलाबेला घुमाउँदै खाएको याद गर्नुभयो नि ?
सुन्तले चकलेट
संयोगले यो पुस्तालाई जंकफुडको लत लागेन । किनभने बजारका खानेकुरा सीमित थिए । भएका थोरै खानेकुरा धेरै स्वाद लिएर खाए । त्यहीमध्येको थियो, सुन्तले चकलेट । स्वाद र आकार सुन्तला जस्तै भएको त्यो चकलेट देख्दा अहिले पनि तपाईंको मुख रसाउन सक्छ ।
यी मात्र होइन, तपाईंसँग अरुपनि यस्ता थुप्रै यादगार कुराहरू होलान् । ती के के होलान् ? सम्झनुहोस् त ।
प्रतिक्रिया 4