News Summary
Generated by OK AI. Editorially reviewed.- डा. शशांक कोइरालाले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संस्थापन पक्षले पार्टीका निर्णयहरू एकलौटी रूपमा अघि बढाउन नहुने बताएका छन्।
- उनले १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर वार्ता र संवादमार्फत सहमति खोज्न संस्थापन पक्ष असफल भएको आरोप लगाए।
- कोइरालाले विशेष महाधिवेशनका नाममा विवाद बढाउने कदमले नेपाली कांग्रेसको वैधानिकता, एकता र भविष्यमा गम्भीर असर पार्ने बताए।
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टी संस्थापन पक्षले अदालतको निर्णय प्रतीक्षा नगरी एकलौटी रुपमा अघि बढाइएका निर्णयहरूलाई कुनै हालतमा उचित मान्न नसकिने बताएका छन् ।
सोमबार आयोजित इतर पक्षको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
घोषणा भएको १५ औं महाधिवेशनको कार्यतालिका स्थगित गरेर वर्ता र संवादमार्फत सहमतिमा पुग्ने काम संस्थापन पक्षबाट नभएको पनि उनले बताए ।
‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनैपनि हालतमा उचित मान्न सकिन्नँ,’ उनले भने ।
पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गरे ।
‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन,’ उनले भने ।
डा कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने तर्क गरे ।
विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेको बताए ।
डा कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्धत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित भएको भन्दै विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुन: सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ छ ।
‘पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो,’ उनले भने ।
प्रतिक्रिया 4