News Summary
Generated by OK AI. Editorially reviewed.- अनुसन्धानकर्ताले करिब ८०० वर्षअघि अन्नपूर्ण हिमालको विशाल हिस्सा भत्किँदा पोखरा उपत्यका बनेको र त्यो हिमालयको सबैभन्दा ठूलो पहिरो भएको बताए।
- करुवा क्षेत्रमा भेटिएका चट्टानका अवशेषको कार्बन-१४ परीक्षणले यो महापहिरो सन् ११५० देखि १२५५ बीच गएको ९९ प्रतिशतभन्दा बढी निश्चिततासाथ पुष्टि गरेको छ।
- लेखले भोटेकोशी बाढीजस्ता घटनालाई हिमालयको प्राकृतिक चक्रसँग जोड्दै जलवायु नियन्त्रण, जोखिम मूल्याङ्कन र चेतावनी प्रणाली आवश्यक भएको औंल्याएको छ।
यो घटना आजभन्दा करिब ८०० वर्षअघि अन्नपूर्ण हिमाल शृङ्खलामा भएको हो, जसले हामीलाई भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीलाई बुझ्न मद्दत गर्छ। यो लेख नेचर जर्नलमा सन् २०२३ मा प्रकाशित ‘मिडिएभल डिमाइज अफ अ हिमालयन जायन्ट समिट इन्ड्युस्ड बाइ मेगा-ल्यान्डस्लाइड’ नामक अनुसन्धानात्मक लेखमा आधारित छ।
यो लेखका अनुसन्धानकर्ताका अनुसार झन्डै आठ शताब्दीअघि अन्नपूर्ण हिमालको एक विशाल हिस्सा एकैपटक भत्किएको थियो। ढुङ्गा, माटो र लेदोको ठूलो मात्रा तल झरेर आजको पोखरा उपत्यका बनेको हो। वैज्ञानिकहरूको अनुमानअनुसार हिउँ पग्लने प्रक्रिया, जमिनको बनोटमा आएको परिवर्तन र कमजोर चट्टानी संरचनाले यो विनाशकारी पहिरो निम्त्याएको थियो।
अनुसन्धानकर्ताहरूले करुवा क्षेत्रमा भेटिएका पुराना चट्टानका अवशेषलाई ‘कार्बन-१४ डेटिङ’ विधिबाट परीक्षण गर्दा यो महापहिरो सन् ११५० देखि १२५५ को बीचमा गएको कुरा ९९ प्रतिशतभन्दा बढी निश्चितताका साथ पुष्टि भएको छ।
हिमालय अन्य पहाडी शृङ्खलाजस्तै होइन- यो भूगर्भीय रूपमा अझै युवा, सक्रिय र निरन्तर परिवर्तन भइरहने क्षेत्र हो। आल्प्सजस्ता पुराना पहाडी शृङ्खलाको तुलनामा हिमालयमा धेरै भूआकृतिक परिवर्तन भइरहन्छन्; जसले समय–समयमा ठूला पहिरोहरू सिर्जना गर्न सक्छ।
यसले देखाउँछ कि हिमाली क्षेत्रमा यस्ता ठूला पहिरोहरू जानु कुनै अनौठो घटना होइन, यो त हिमालयको प्राकृतिक चक्र हो। भोटेकोशीमा आएको हालको बाढी पनि यही प्रक्रियाको निरन्तरता मात्र हो।
वैज्ञानिकहरूले हिमाल कसरी बन्छ, कसरी खिइँदै जान्छ र किन अस्थिर हुन्छ भन्ने विषयमा दशकौंदेखि अध्ययन गरिरहेका छन्। सक्रिय पहाडी शृङ्खलामा नदीहरूले निरन्तर खोँच काट्छन्; जसले भिरहरू झन् भिराला र कमजोर बनाउँछ।
अन्ततः चट्टानहरूले आफ्नो भार थाम्न नसक्ने अवस्थामा पुग्छन् र पहिरो खस्छ। सन् २०२१ मा भारतको रोन्टी चुचुरोमा गएको ठूलो पहिरोले पनि उच्च हिमाली क्षेत्र समय–समयमा ठूलो रूपान्तरण भोगिरहने पुष्टि गर्यो।
उच्च हिमाली क्षेत्रमा साना पहिरोहरू कमै जान्छन्, तर विशाल र विनाशकारी पहिरोहरू भने निरन्तर गइरहन्छन्। अन्नपूर्ण क्षेत्रको दक्षिणी भाग उच्च हिमचुचुरोबाट तलका पहाडसम्म करिब ६ किलोमिटर सिधा ओर्लिन्छ। यो क्षेत्र अत्यन्त भिरालो जमिन, बारम्बार आउने भूकम्पका धक्का र मनसुनको भारी वर्षाको चपेटामा परिरहन्छ। यही कारणले हिमालय संसारका अन्य पहाडी शृङ्खलाभन्दा छिटो खिइँदै जान्छ- हरेक वर्ष करिब ३–५ मिलिमिटर।
पुराना तथ्य र भूगोलको अध्ययनले देखाउँछ कि अन्नपूर्णको त्यो पहिरोले करिब २३ घन किलोमिटर चट्टान तल खसालेको थियो। यो हिमालयमा अहिलेसम्म अभिलेख गरिएको सबैभन्दा ठूलो पहिरो हो। पहिरो हुनुअघि ‘प्यालेओ–अन्नपूर्ण ४’ को उचाइ करिब ८ हजार १०० मिटर थियो, जुन अहिलेको उचाइभन्दा करिब ६०० मिटर बढी हो।
जब चुचुरो भत्कियो, विशाल ऊर्जा उत्पन्न भयो र कमजोर चट्टानी संरचनाले हिमाललाई टुक्रा–टुक्रा बनायो। त्यसपछि एक शताब्दीभित्रै वर्षा, नदी र हिमनदीहरूले ती भग्नावशेषको ९० प्रतिशत भाग तल बगाएर पोखरा उपत्यका भरिदिए।
सायद त्यतिबेला पनि त्यो पहिरोले व्यापक धनजनको क्षति गर्यो होला; तर हामीसँग कुनै लिखित इतिहास नभएकाले यस्तै भयो भन्ने अवस्था छैन। तर एउटा कुरा चाहिँ प्रस्ट छ- यसले ठूलो भौगोलिक परिवर्तन ल्यायो।
यसमा हिमालयमा तापमान परिवर्तनको पनि ठूलो भूमिका हुन सक्छ। सन् ९००–१२०० बीचको ‘मध्यकालीन जलवायु विसङ्गति’ मा तापमान सामान्यभन्दा करिब १ डिग्री सेल्सियस बढेको अनुमान गरिएको छ। यसले गर्दा ‘पर्माफ्रोस्ट’ (सधैं जमेर रहने हिउँ/माटो) पग्लियो, जसले पहिरोको जोखिम बढायो। आजको तापमान वृद्धिले यही प्रक्रिया फेरि दोहोर्याइरहेको छ। उच्च हिमाली क्षेत्रमा स्थायी बरफ पग्लँदा चट्टानहरू कमजोर हुन्छन् र पहिरोको सम्भावना तीव्र हुन्छ।
रोचक कुरा के छ भने अत्यधिक चिसो तापक्रमले सामान्यतया उच्च चुचुरोहरूलाई जोगाउने काम गर्छ। हिउँरेखाभन्दा माथि चट्टानहरू स्थायी बरफले ‘गम’ जस्तै जोडेर राख्छन्; जसले पानीलाई गहिराइसम्म पस्न दिँदैन र साना पहिरोहरू रोक्छ। यही कारणले चुचुरोहरू अझ अग्ला र भिराला हुँदै जान सक्छन्।
तर यसको पनि सीमा हुन्छ- हिमाल जति अग्लो हुन्छ, तौल त्यति नै बढ्छ। अन्ततः तौलले जमिनमुनिको चट्टानले थाम्न सक्ने क्षमताभन्दा बढी हुन्छ। जब त्यो सीमा पार हुन्छ, हिमाल आफैं भत्किन्छ।
यसैले, हिमालयको उचाइ निर्धारण गर्ने मुख्य कारण बिस्तारै हुने क्षयीकरण मात्र होइन; समय–समयमा जाने यस्ता दुर्लभ तर विशाल पहिरोहरू पनि हुन्। सायद यसपालिको भोटेकोशीको बाढी पनि यही प्राकृतिक चक्रको निरन्तरता हो, जसमा धेरै धनजनको क्षति भयो।
हामीले उच्च हिमालयमा भइरहने भूआकृतिक परिवर्तनलाई रोक्न सक्दैनौं। हिमाल उठ्ने, खस्ने, भत्किने र रूपान्तरण हुने प्रक्रिया लाखौं वर्षदेखि चलिरहेकै छ। तर हामीले जलवायु परिवर्तनलाई तीव्र बनाउने मानव गतिविधिबाट निस्कने ग्रिनहाउस ग्यासलाई भने नियन्त्रण गर्न सक्छौं।
तापक्रम बढ्दै जाँदा पर्माफ्रोस्ट पग्लिन्छ, चट्टान कमजोर हुन्छ र पहिरो तथा बाढीको जोखिम बढ्छ। यसैले जलवायु नियन्त्रण मानवको हातमा रहेको सबैभन्दा महत्त्वपूर्ण उपाय हो।
यस्तै, हामीले भविष्यमा सहर र बस्ती कसरी विस्तार गर्ने भन्ने विषयमा गम्भीर रूपमा सोच्नैपर्छ। जोखिम मूल्याङ्कन गरेर, कुन ठाउँ सुरक्षित छ र कुन ठाउँ उच्च जोखिमयुक्त छ भन्ने पहिचान गरेर मात्र विकास योजना बनाउनु आवश्यक छ। जोखिम कम गर्ने संरचनात्मक उपाय- जस्तै: सुरक्षित बसोबास क्षेत्र, बलियो भवन कोड र पहिरो–बाढी सम्भावित क्षेत्रको स्पष्ट नक्साङ्कन- अत्यन्त जरुरी छ।
त्यससँगै, साइरनसहितको चेतावनी प्रणाली र मोबाइल फोनमा आधारित अलर्ट प्रणाली अनिवार्य रूपमा विकास गर्नुपर्छ। समयमै सूचना पाएमा मानिस सुरक्षित स्थानमा जान सक्छन्, जसले ठूलो मानवीय क्षति रोक्न मद्दत गर्छ। प्राकृतिक प्रक्रियालाई रोक्न नसकिए पनि सही योजना, चेतावनी प्रणाली र जिम्मेवार विकासले भविष्यका धेरै विपद्लाई न्यून पार्न सक्छ।
(अमेरिकास्थित युनिभर्सिटी अफ नोट्र डेममा कार्यरत एक नेपाली अनुसन्धाता रहेका लेखक समाज, नीति र विकासमा गहिरो रुचि राख्छन्।)
प्रतिक्रिया 4