News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा भोटेकोशी बाढीपछि १३ जलविद्युत् आयोजनामध्ये चिलिमे, माथिल्लो त्रिशूली-१ र माथिल्लो त्रिशूली-३ ‘बी’ मा मात्रै खोज तथा उद्धार जारी छ ।
- इप्पानका अनुसार ११ आयोजनामा कार्यरत ८ सय ६८ जना अझै सम्पर्कविहीन छन्, र प्राधिकरणले अधिकांश स्थानमा जीवित भेटिने सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।
- ऊर्जा मन्त्रालयले बाढीबाट जलविद्युत्, सौर्य, वितरण र प्रसारण संरचनामा प्रारम्भिक रूपमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ क्षति भएको जनाएको छ ।
३० भदौ, काठमाडौं । १० भदौमा रसुवा भोटेकोशी बाढीले नुवाकोट र रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि हराइरहेका श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार कार्य अधिकांश आयोजनामा रोकिएको छ ।
बाढीबाट क्षति पुगेका १३ वटा जलविद्युत् आयोजनामध्ये अहिले चिलिमे, माथिल्लो त्रिशूली-१ र माथिल्लो त्रिशूली-३ ‘बी’ मा मात्रै खोज तथा उद्धारको काम जारी छ । अन्य आयोजनामा भने थप खोजी रोकिएको हो ।
१ सय ११ मेगावाट रसुवागढी, १ सय २० मेगावाट रसुवा भोटेकोशी, ५ मेगावाट मैलुङ खोला, ६० मेगावाट माथिल्लो त्रिशूली-३ ‘ए’, १४.१ मेगावाट देवीघाट र १४.३ मेगावाट माथिल्लो मैलुङ लगायत आयोजनामा हराइरहेका कर्मचारी तथा श्रमिकको खोजी रोकिएको हो ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संकलन गरेको विवरण अनुसार अझै ११ आयोजनामा कार्यरत ८ सय ६८ जना सम्पर्कविहीन छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चिलिमेमा भने सुरुङभित्र बाढीले थुपारेको माटो तथा ठूला ढुंगा हटाउने काम निरन्तर भइरहेको छ । त्यहाँ जति खन्दै गयो, त्यति नै कंक्रिट र बोल्डर भेटिने भएकाले काम चुनौतीपूर्ण बनेको छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार चिलिमेमा आज वा भोलिसम्म ‘ब्रेकथ्रु’ हुने अपेक्षा गरिएको छ । चिलिमे सुरुङभित्र ६ जना फसेको अनुमान गरिएको छ । सोही अनुसार खोज तथा उद्धार जारी छ ।
माथिल्लो त्रिशूली-३ ‘बी’ मा भने हालसम्म हराइरहेका व्यक्तिको कुनै अत्तोपत्तो लागेको छैन । आयोजनाका भवन रहेका ठाउँमा समेत उद्धार टोलीले खन्ने काम गरिरहेको छ । तर, भवनको संरचना नै नभेटिएर प्लिन्थ लेभल मात्रै फेला परेको प्राधिकरणका अधिकारीले बताए ।
‘भवनहरू नै बगाएको जस्तो अवस्था छ,’ ती अधिकारीले भने, ‘जहाँ भवन थियो, त्यहाँ खन्दा पनि प्लिन्थ लेभल मात्रै भेटिएको छ ।’
आयोजनाको पावर हाउस निर्माण हुने क्षेत्रसमेत खन्ने तयारी भइरहेको छ । तर, त्यहाँको पछिल्लो प्रगति विवरण भने प्राधिकरणमा आइसकेको छैन ।
माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट)
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ मा सुरुङ तथा हेडवर्क्समा हराइरहेकाको खोजी कार्य जारी छ । नेपाली सेनासहित टोलीले अडिट नम्बर ३ बाट माथितर्फ सुरुङ कार्यको सर्च थालेको थियो । तर, डेब्रिजको बहाव धेरै भएकाले अघि बढ्न भने कठिन भएको कम्पनीले जनाएको छ ।
बाँधतर्फको सुरुङसम्म पुग्न ४ किलोमिटर लाग्ने हुनाले केही दिनभित्र सुरुङभित्रको अवस्था पत्ता लागिसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ हजार ४ सय ३३ कामदार रहेकोमा कम्पनीका १५, डोसानका ४७, पावर चाइनाका ३ सय ३५, परार्मशदाता कम्पनीका ७ र एन्डिजका ९३ गरी ४ सय ९७ जना अझै हराइरहेका छन् भने आफैं सम्पर्क र उद्धार भएकाको संख्या ९ सय ३६ छ ।
हालसम्म कम्पनीमा कार्यरत १० जनाका शव भेटिएको छ । कतिपय लामो समयपछि पनि सम्पर्कमा आइरहेकाले हराइरहेको संख्यामा थपघट भइरहेको कम्पनीले जनाएको छ ।
चिलिमेमा जति खन्दै गयो, त्यति नै कंक्रिट र बोल्डर भेटिँदै
चिलिमे जलविद्युत आयोजनामा खोज तथा उद्धारको काम जारी छ । तर, त्यहाँ जति खन्दै गयो, त्यति नै कंक्रिट र बोल्डर भेटिने भएकाले काम चुनौतीपूर्ण बन्दै गएको छ ।
पहिले नै खनेर सफा गरिएको तर्फ पानी आउन सुरु गरेपछि अहिले मोटर चलाएर भित्र भएको पानी बाहिर फाल्ने काम भइरहेको छ । पानीमा पनि हिलो माटो र लेदो मिसिएका कारण डिवाटरिङ गर्न समय लागिरहेको छ ।
सोमबार नेपाली सेनाको उद्धार टोली सुरुङको १ सय २५ मिटरसम्म पुग्न सफल भएको थियो । अब उत्खनन क्रममा सुरुङभित्र पानी भेटिएपछि अहिलेलाई खन्ने काम रोकेर पानी सुकाउने काम मात्रै भइरहेको चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराम महर्जनले जानकारी दिए ।
खोज तथा उद्धार कार्यमा अनेक कठिनाइ र बाधा आउँदा विद्युत् गृहभित्र फसिरहेकाहरूको अवस्था अझै पनि थाहा हुन सकेको छैन ।
त्रिशूली-३ ‘ए’ मा फेरि पुरियो उद्धारको बाटो
६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ मा यसअघि खनेर उद्धारका लागि बनाइएको स्थानमा समेत फेरि पहिरो खसेर बाटो पुरिएको छ । पानी परेपछि सुरुङको प्रवेशमार्ग नै पुन: माटोले पुरिएको प्राधिकरणका अधिकारीले बताए ।
त्यसकारण अहिले त्यहाँ थप उद्धार कार्य अघि बढाउन सक्ने अवस्था छैन । मुख्य निकास सुरुङको मर्मत तथा अन्य काम कसरी अघि बढाउने भन्ने विषयमा प्राधिकरणले छुट्टै समिति मार्फत सिफारिस गराउने तयारी गरेको छ ।
रसुवागढीमा पनि थप खोजीबाट कुनै प्रगति नभएपछि उद्धार टोली हटाइएको छ । आयोजनामा अहिले उद्धारका लागि टोली नरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अधिकारीका अनुसार चिलिमे र माथिल्लो त्रिशूली–३ ‘बी’ बाहेक अन्य क्षतिग्रस्त आयोजनामा अहिले खोज तथा उद्धारका लागि टोली छैन । ‘अहिले ३ बी र चिलिमेमा हुनुपर्छ, अरूतिर छैन,’ ती अधिकारीले भने ।

‘जीवित भेटिने सम्भावना नरहेको निष्कर्षमा पुगियो’
लामो समयसम्म खोजी गर्दा पनि कुनै जीवित व्यक्ति फेला नपरेपछि अधिकांश आयोजनामा माटोमा पुरिएका व्यक्तिहरू जीवित अवस्थामा भेटिने सम्भावना नरहेको निष्कर्षमा प्राधिकरण पुगेको छ ।
विशेषगरी लामो समयदेखि खोजी गर्दा पनि कुनै संकेत नपाइएपछि अब हराइरहेकाहरूको अवस्थालाई मृतककै रूपमा बुझ्न थालिएको अधिकारीले बताए । यद्यपि, चिलिमे र माथिल्लो त्रिशूली-३ ‘बी’ मा भने खोजी जारी रहेकाले त्यहाँ थप सम्भावना सहित खोज्ने काम भइरहेको छ ।
बाढीका कारण क्षतिग्रस्त आयोजनाको उद्धार तथा राहतमा विद्युत् प्राधिकरणले सहजीकरण गरिरहेको छ । माथिल्लो त्रिशूली-३ ‘ए’ मा प्राधिकरणले नै उद्धार व्यवस्थापन गरेको थियो ।
चिलिमे र माथिल्लो त्रिशूली-३ ‘बी’ भने प्राधिकरणका सहायक कम्पनी भएकाले ती कम्पनीका बोर्डले उद्धार सम्बन्धी निर्णय गर्ने भए पनि प्राधिकरणले आवश्यक जनशक्ति तथा अन्य सहयोगमा सहजीकरण गरिरहेको छ ।
बाढीबाट १ खर्ब ३४ अर्बभन्दा बढीको क्षति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भोटेकोशी बाढीबाट जलविद्युत् आयोजना सहित सौर्य आयोजना, वितरण लाइन तथा पोल, सबस्टेसन र प्रसारण लाइनमा गरी प्रारम्भिक रूपमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबर क्षति भएको छ ।
बाढीबाट कुल ७८३.३९ मेगावाट क्षमताका विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक आकलन छ । त्यसमध्ये सञ्चालनमा रहेका ७ वटा जलविद्युत् आयोजनाका २४९.४ मेगावाट र एउटा सौर्य आयोजनाको २४.३४ मेगावाट गरी २७४.७६ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको छ ।

त्यस्तै निर्माणाधीन ६ वटा आयोजनाका ५०८.६२ मेगावाटमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । बाढीका कारण सञ्चालनमा रहेका तर क्षति भएका ८ वटा आयोजनाको २७४.७६ मेगावाट तथा सञ्चालनमा रहे पनि क्षति नभएका ३ आयोजनाको १३५.३ मेगावाट गरी कुल ४१०.०६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेका श्रमिकको खोजी कार्य यसअघि नै बन्द भइसकेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले २१ भदौदेखि नै खोजी कार्य बन्द गरेको हो ।
इप्पानका अनुसार आयोजनाबाट अझै ३९ जना सम्पर्कविहीन छन् । बाढीका बेला आयोजनास्थलमा रहेका १९ जनाको भने उद्धार गरिएको थियो । निर्माण सम्पन्न भएर परीक्षण सञ्चालनमा रहेको आयोजनाको प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि हो । आयोजनाका प्रबन्धक विजयमोहन भट्टराईका अनुसार सुरुङभित्र दुई जनाको शव भेटिएपछि थप खोजी स्थगित गरिएको हो ।
पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गर्दा दुई जनाको शव भेटिएको थियो । दुवै शव विक्षिप्त अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन ।
डीएनए परीक्षण मार्फत पहिचान गरी परिवारलाई हस्तान्तरण गर्ने तयारी छ । बाढीमा सम्पर्कविहीन ३९ जना सुरुङभित्रै रहेको सम्भावना नरहेको र उनीहरू बाढीले बगाएको हुन सक्ने अनुमान गरिएको भट्टराईले बताए ।
प्रतिक्रिया 4