News Summary
Generated by OK AI. Editorially reviewed.- मेटाले ‘लुना’ नामको क्यामेरारहित स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी गरेको छ।
- कम्पनीले सेप्टेम्बर २३ र २४ मा हुने ‘कनेक्ट’ सम्मेलनमा चस्मा देखाएर अक्टोबरदेखि बिक्री सुरु गर्ने योजना बनाएको बताइएको छ।
- नयाँ चस्मामा छवटा माइक्रोफोन, स्पिकर र एआई सक्रिय गर्ने साइड बटन रहनेछ, र प्रयोगकर्ताले मेटाको एआई च्याटबटसँग कुरा गर्न सक्नेछन्।
- क्यामेरायुक्त स्मार्ट चस्माबाट गोपनीयता उल्लङ्घन र दुरुपयोगका घटना सार्वजनिक भएपछि विद्यालय, सिनेमा हल र सार्वजनिक स्थानमा कडाइ बढाइएको छ।
३२ भदाै, काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले क्यामेरा नभएको नयाँ स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ ।
स्मार्ट चस्मामार्फत मानिसको अनुमति नलिई भिडियो तथा तस्बिर खिच्न सकिने भन्दै गोपनीयतासम्बन्धी चिन्ता बढिरहेका बेला मेटाले क्यामेरारहित मोडल सार्वजनिक गर्न लागेको हो ।
द इन्फर्मेसनका अनुसार मेटाले नयाँ स्मार्ट चस्मालाई ‘लुना’ नाम दिएको छ। कम्पनीले सेप्टेम्बर २३ र २४ मा आयोजना हुने वार्षिक डेभलपर सम्मेलन ‘कनेक्ट’ मा चस्मा सार्वजनिक गर्न सक्नेछ। यसको बिक्री अक्टोबरदेखि सुरु गर्ने मेटाको योजना रहेको बताइएको छ।
नयाँ चस्मामा क्यामेरा नहुने भए पनि मेटाको कृत्रिम बुद्धिमत्ता (एआई) सेवा प्रयोग गर्न सकिनेछ। चस्मामा छवटा माइक्रोफोन, आवाज सुन्नका लागि स्पिकर र एआई सक्रिय गर्न साइड बटन राखिने बताइएको छ।
प्रयोगकर्ताले चस्मामार्फत मेटाको एआई च्याटबटसँग कुराकानी गर्न सक्नेछन्। कम्पनीको नयाँ एआई एजेन्ट ‘म्युज’ पनि चस्मामा उपलब्ध हुने सम्भावना छ। चस्माको डिजाइन हालको रे-ब्यान मेटा मोडलभन्दा पातलो हुने र सामान्य चस्माजस्तै देखिने बताइएको छ। यो दुई डिजाइन ‘क्लबमास्टर’ र ‘बर्ब्याङ्क’मा उपलब्ध हुने स्रोतको दाबी विभिन्न प्रविधि सञ्चार माध्यमकाे छ।
मेटाको हालको स्मार्ट चस्मामा भने क्यामेरा, माइक्रोफोन र स्पिकर राखिएका छन्। क्यामेरा चलिरहेको जानकारी दिन चस्मामा एलईडी बत्ती बल्ने व्यवस्था भए पनि केही प्रयोगकर्ताले उक्त बत्ती छोपेर वा हटाएर गोप्य रूपमा भिडियो खिच्ने प्रयास गरेका घटना सार्वजनिक भएका छन्।
यस्ता चस्माबाट सर्वसाधारणको अनुमति नलिई भिडियो खिचिएको र सामाजिक सञ्जालमा भ्युज बढाउन दुरुपयोग गरिएको आरोप लाग्दै आएको छ। यही कारण विद्यालय, सिनेमा हल तथा अन्य सार्वजनिक स्थानमा क्यामेरायुक्त स्मार्ट चस्मामाथि प्रतिबन्ध वा कडाइ गर्न थालिएको छ।
त्यसैले मेटाले नयाँ क्यामेरारहित चस्मामार्फत गोपनीयतासम्बन्धी विवाद कम गर्दै एआईमा आधारित चस्माकाे बजार विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ।
यद्यपि कम्पनीले हालसम्म ‘लुना’ चस्माको नाम, मूल्य, सार्वजनिक गर्ने मिति र प्राविधिक विवरण औपचारिक रूपमा पुष्टि गरेको छैन।
प्रतिक्रिया 4