+
+
Shares

सामसङको विज्ञापन भिडियोमा ‘कुक टिम’, कसरी ?

केही दिनयता तपाईंको सामाजिक सञ्जालमा सामसुङको नयाँ विज्ञापन आएको हुनसक्छ, जसमा कुक टिमले त्यसको प्रचार गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ न्युजिल्यान्डले कुक टिम नामका रियल इस्टेट एजेन्टलाई प्रयोग गरी ग्यालेक्सी जेड फोल्ड ८ को विज्ञापन सार्वजनिक गरेको छ।
  • विज्ञापनमा कुकले ‘यो मैले प्रयोग गरेको अहिलेसम्मकै उत्कृष्ट फोन हो,’ भनेका छन् र सामसङले यसलाई एप्पलमाथि व्यंग्यका रूपमा प्रस्तुत गरेको छ।
  • अगस्ट २४ मा फोन आएपछि कुकले तीन वटा ३० सेकेन्डका भिडियो र केही स्थिर तस्बिरमा अभिनय गरेका थिए, र विज्ञापन सामाजिक सञ्जालमा भाइरल भएको छ।

३१ भदौ, काठमाडौं । केही दिनयता तपाईंको सामाजिक सञ्जालमा सामसुङको नयाँ विज्ञापन आएको हुनसक्छ, जसमा कुक टिमले त्यसको प्रचार गरेका छन्।

कुक टिम भन्दै परिचय दिएर सामसुङ फोनको विज्ञापन आएपछि अहिले त्यो मिम कन्टेन्ट बनिरहेको छ। सामाजिक सञ्जालमा भाइरल छ।

स्मरण रहोस्, एप्पलका पूर्वप्रमुख कार्यकारी अधिकृत (जसले केही समयअघि मात्र सिईओबाट राजीनामा दिए) को नाम पनि कुक टिम नै हो।

त्यसैले कतिपयले एप्पलबाट सीईओको रुपमा हटेपछि सामसङको विज्ञापनमा गएको भन्दै रमाइला कन्टेन्ट बनाइरहेका छन्।

तर, सामसङले एप्पलका पूर्व प्रमुख कार्यकारी अधिकृत कुक टिमकै नाम भएका एक न्युजिल्यान्डका रियल इस्टेट एजेन्टलाई आफ्नो विज्ञापनमा प्रस्तुत गरेको हो।

सामसङ न्युजिल्यान्डले सार्वजनिक गरेको विज्ञापनमा पाल्मर्स्टन नर्थका रियल इस्टेट एजेन्ट कुक टिमले कम्पनीको नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ को प्रशंसा गरेका छन्।

उनी एप्पलका पूर्व प्रमुख कार्यकारी कुक टिमसँग नाम मात्र होइन, अनुहार र पहिरनका कारण पनि केही हदसम्म मिल्दोजुल्दो देखिन्छन्।

विज्ञापनमा उनी सेतो पृष्ठभूमिमा बसेर ग्यालेक्सी जेड फोल्ड ८ चलाउँछन्। फोन बन्द गर्दा सजिलै बोक्न मिल्ने र खोलेपछि ठूलो स्क्रिन प्रयोग गर्न सकिने भन्दै उनले यसलाई आफूले प्रयोग गरेको उत्कृष्ट फोनका रूपमा प्रस्तुत गरेका छन्।

‘यो मैले प्रयोग गरेको अहिलेसम्मकै उत्कृष्ट फोन हो,’ विज्ञापनमा उनले भनेका छन्।

विज्ञापनको नारा छ – कुक टिमसँग एउटा घोषणा छ। तर यसपटक त्यो ग्यालेक्सीका बारेमा छ।

एप्पलको फोल्डेबल आईफोनलाई व्यंग्य

सामसङको यो विज्ञापन एप्पलले आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गरेपछि आएको हो। एप्पलले सेप्टेम्बर ९ मा आईफोन डुओ सार्वजनिक गरेको थियो। एप्पल फोल्डेबल फोनको बजारमा प्रवेश गरिरहँदा सामसङले भने यसअघि नै ग्यालेक्सी फोल्ड सिरिजमार्फत यस्तो फोन बजारमा ल्याउँदै आएको छ।

त्यही प्रतिस्पर्धालाई आधार बनाएर सामसङले एप्पललाई व्यंग्य गर्दै विज्ञापन तयार गरेको हो।

विज्ञापनमा देखाइएका कुक टिम एप्पलका पूर्व प्रमुख कार्यकारी नभएको र उनी न्युजिल्यान्डका रियल इस्टेट एजेन्ट भएको कुरा सामसङले स्पष्ट पारेको छ।

कसरी बने विज्ञापनमा ‘कुक टिम ’ ?

न्युजिल्यान्डका ती कुक टिमका अनुसार अगस्ट २४ मा उनलाई सामसङका प्रतिनिधिले अचानक फोन गरेका थिए। सुरुमा उनले फोनलाई ठगीको प्रयास ठानेका थिए। पछि सामसङले न्युजिल्यान्डमा रहेका कुक टिम नाम भएका व्यक्तिमध्ये विज्ञापनमा अभिनय गर्न इच्छुक व्यक्ति खोजिरहेको बताएपछि उनी तयार भएका थिए।

उनले सामसङका लागि ३० सेकेन्डका तीनवटा भिडियो र केही स्थिर तस्बिरमा अभिनय गरेका छन्। विज्ञापनका लागि उनलाई एप्पलका उत्पादन सार्वजनिक गर्ने शैलीसँग मिल्दोजुल्दो सेतो पृष्ठभूमिमा प्रस्तुत गरिएको छ।

कुकले आफू आईफोन प्रयोगकर्ता भए पनि ग्यालेक्सी जेड फोल्ड ८ परीक्षण गर्दा फोनको गुणस्तरबाट प्रभावित भएको बताएका छन्। विज्ञापन सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको र लाखौँ पटक हेरिएको उनले बताएका छन्।

सामसङले एप्पलका उत्पादन र रणनीतिमाथि व्यंग्य गर्दै विज्ञापन बनाएको यो पहिलो पटक भने होइन। कम्पनीले यसअघि पनि आईफोनको नच, हेडफोन ज्याक हटाउने निर्णय र एआई फिचरसम्बन्धी ढिलाइलाई लक्षित गर्दै विज्ञापन अभियान सञ्चालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?