News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टमसहित ‘जेड फोल्ड ८ सिरिज’ का नयाँ स्मार्टफोन र वाचहरू नेपाली बजारमा सार्वजनिक गरेका छन् ।
- कम्पनीले फोन खरिद प्रक्रियालाई सहज बनाउन फाइनान्सिङ, ट्रेड–इन र डिजिटल केवाईसी सेवालाई एकीकृत गर्दै नयाँ ‘अनरसिप इकोसिस्टम’ सार्वजनिक गरेको छ ।
- नयाँ सिरिजको प्रि–अर्डर साउन २९ गतेदेखि सुरु गरिएको र भीआईपी प्याकेजमा ६८ हजार रुपैयाँसम्मको लाभ दिने व्यवस्था सामसङले मिलाएको छ ।
२९ साउन, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम सहित ‘जेड फोल्ड ८ सिरिज’ का नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ सिरिजमा ग्यालेक्सी एआई अनुभव थप विस्तार गरिएको छ । फोल्डेबल फोनको ठूलो डिस्प्लेलाई एआईमा आधारित विभिन्न कामका लागि प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।
जसले गर्दा प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
सामसङले नयाँ फोनसँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि सार्वजनिक गरेको छ । नयाँ वाच सिरिजले कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभव विस्तार गर्ने कम्पनीले जनाएको छ ।
यसपटक सामसङले उत्पादन सार्वजनिक गर्नेमात्र नभई त्यसको स्वामित्वलाई सहज बनाउने योजनालाई समेत प्राथमिकता दिएको छ । कम्पनीले फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी र अनलाइन–अफलाइन बिक्री प्रणालीलाई एउटै ‘अनरसिप इकोसिस्टम’ मा जोड्ने योजना अघि सारेको छ ।

सामसङका अनुसार एचएफएल मार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनाको ईएमआई सुविधा उपलब्ध हुनेछ । योग्य ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म पुर्याउँदै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको छ । पुरानो फोन साट्दा ट्रेड–इन बोनस समेत पाइने छ ।
कम्पनीले डिजिटल योग्यता जाँचदेखि प्रि–अर्डर, डेलिभरी र ब्रान्ड स्टोरबाट फोन प्राप्त गर्ने प्रक्रिया समेत एउटै प्रणालीमा जोड्ने जनाएको छ । आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ग्राहकले डिजिटल केवाईसी वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज पूरा गर्न सक्ने व्यवस्था गर्न लागिएको कम्पनीको भनाइ छ ।
पुराना उपकरण पुन: प्रयोग र ई–वेस्ट घटाउने उद्देश्यले ट्रेड–इनमा आउने उपकरणलाई परीक्षण, मूल्यांकन तथा प्रशोधन गर्ने व्यवस्था पनि गरिएको छ । उपयुक्त उपकरण पुन: मर्मत गरी प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।
सामसङले एचएफएल, ई–सेवा, एनसेल, एपकुडो, रेमिट्यान्स पार्टनर, आईएमएस र हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोडेर फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन र अन्य सुविधा एकीकृत गर्ने योजना बनाएको छ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिजको उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्यउनु मात्र नभई ग्राहकको सम्पूर्ण स्वामित्व यात्रा सहज बनाउनु रहेको बताए ।
नयाँ ग्यालेक्सी जेड सिरिजको प्रि–अर्डर अगस्ट १३ देखि खुला गरिएको छ । कम्पनीले भीआईपी र सामान्य गरी दुई प्रकारका प्रि–अर्डर प्याकेज ल्याएको छ ।
भीआईपी प्याकेजमा ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा दुई वर्षसम्म एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस, ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ खरिदमा १० हजार रुपैयाँ छुट, ६ महिनाको गुगल एआई प्रो, नि:शुल्क फोन कभर र थप वारेन्टीको सुविधा समावेश छ ।
सामान्य प्रि–अर्डर प्याकेजमा ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन् । यसमा दुई वर्षको एनसेल डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस, ६ महिनाको गुगल एआई प्रो, नि:शुल्क फोन कभर र थप वारेन्टी लगायत सुविधा छन् ।
प्रतिक्रिया 4