News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त कप्तान सन्दीप लामिछानेले नेपाली क्रिकेट टोलीको अबको मुख्य लक्ष्य एसीसी प्रिमियर कपको उपाधि जित्ने रहेको बताउनुभयो ।
- नेपाली टोली प्रिमियर कपको तयारीका लागि भारतको बेंग्लोरमा १० दिन अभ्यास गरेर मलेसियाको कन्डिसनमा आफूलाई तयार गर्नेछ ।
- सन्दीपले कप्तानी परिवर्तन टोली र देशको हितका लागि भएको उल्लेख गर्दै अघिल्ला भ्रमणका गल्ती सुधार्दै अघि बढ्ने बताउनुभयो ।
२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको अबको मुख्य लक्ष्य एसीसी प्रिमियर कप जित्नु रहेको बताएका छन् ।
प्रिमियर कप खेल्न जानुअघि भारतमा पनि अभ्यास गर्ने तय भएपछि शुक्रबार गरिएको बिदाइ कार्यक्रममा बोल्दै सन्दीपले यस्तो बताएका हुन् । ‘हाम्रो लक्ष्य भनेकै जित हो । ट्रफी घर लिएर आउन हामी भरपूर प्रयास गर्नेछौँ,’ उनले भने ।
नेपालले एसीसी प्रिमियर कपअघि भारतको बेंग्लोरमा करिब १० दिनको तयारी गर्नेछ । सन्दीपले मलेसियाको अवस्थासँग मिल्दोजुल्दो वातावरणमा हुने तयारीले टोलीलाई प्रतियोगिताका लागि तयार हुन सहयोग पुग्ने बताए ।
‘बेंग्लोरमा हुने क्याम्प हाम्रा लागि राम्रो पहल हो । त्यहाँ मलेसियासँग मिल्दोजुल्दो कन्डिसनमा अभ्यास गर्नेछौं । आफ्ना गल्ती सुधार गर्दै त्यसपछि एसीसी प्रिमियर कपमा जानेछौं’ सन्दीपले भने ।
यस्तै रोहितकुमार पौडेलले छाडेको विरासतलाई अगाडि बढाउँदै कप्तानीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा स्वीकारेर अघि बढ्ने सन्दीपको भनाइ छ ।
सन्दीपले कप्तानी परिवर्तनलाई व्यक्तिगत विषयका रूपमा नभई नेपाली क्रिकेट र टोलीको हितमा आएको परिवर्तनका रूपमा लिनुपर्ने बताए ।
‘रोहितले हामीलाई एउटा लेगसी छोडेका छन् । अब त्यसलाई आगामी दिनमा कसरी लिएर जाने भन्नेमा हामी फोकस गर्नेछौं । कप्तानी परिवर्तनपछि फरक धारणाका साथ अगाडि बढ्नेछौं’ सन्दीपले भने, ‘यो परिवर्तनलाई राम्रो तरिकाले स्वीकारेर उहाँहरूको हित, टिमको हित, मेरो हित र देशको हितका लागि मैले आफ्नो तर्फबाट दिन सक्ने सबै कुरा दिनेछु ।’
रोहितले सन् २०२२ देखि चार वर्ष नेपाली टोलीको नेतृत्व गरेका थिए । उनको कप्तानीमा नेपालले ओडीआई र टी–२०आईमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । रोहितको स्थानमा सन्दीपलाई पुनः एकदिवसीय टोलीको कप्तानी जिम्मेवारी दिइएको हो ।
सन्दीपले पछिल्ला दुई भ्रमणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार्दै त्यसबाट भएका गल्ती पहिचान गरेर सुधार गर्ने समय पाएको बताए ।
‘हामीले पछिल्ला दुई भ्रमणमा जसरी खेल्नुपर्ने थियो, त्यसरी खेल्न सकेनौँ । हामीले आफ्नोतर्फबाट उत्कृष्ट प्रयास गरेका थियौँ, तर केही कारणले चुक्यौँ,’ उनले भने, ‘अब भएका गल्तीहरूलाई सुधार गर्दै आगामी भ्रमणमा राम्रो योजनाका साथ अगाडि बढ्नेछौं ।’
उनले नेपाललाई एसोसिएट क्रिकेटको बलियो टोलीका रूपमा स्थापित गर्ने लक्ष्यसमेत दोहोर्याए । त्यसका लागि तत्काल ठूलो परिवर्तनभन्दा दीर्घकालीन र व्यवस्थित योजनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘ओभरनाइट परिवर्तन देखिँदैन । तर उचित योजना बनाएर अघि बढ्यौं भने पक्कै पनि राम्रो परिणाम आउँछ’ सन्दीपले भने, ‘आउने हरेक प्रतियोगितालाई आफ्नो घरमै खेलिरहेको जस्तो मानसिकताका साथ लिनुपर्छ । फरक कन्डिसनमा खेल्न जाँदा त्यसअनुसारको तयारी र योजनाका साथ आफूलाई तयार गर्नुपर्छ ।’
सन्दीपले पछिल्लो समयको प्रदर्शनबाट खेलाडीहरूले पनि आत्ममूल्यांकन गर्ने अवसर पाएको बताए । राम्रो प्रदर्शन गर्ने खेलाडीलाई त्यसलाई निरन्तरता दिने र अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेकालाई कमजोरी पहिचान गरेर सुधार गर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो ।
अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने एसीसी प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने ओडीआई फर्म्याटको एसिया कपमा स्थान बनाउनेछ ।
प्रतिक्रिया 4