News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गरी निजी क्षेत्रसँग पर्याप्त छलफल गर्न सरकारसँग आग्रह गरे ।
- अध्यक्ष श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणको नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिँदै व्यावसायिक वातावरण सुधारका लागि निजी क्षेत्रको सुझाव गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
- पर्यटन क्षेत्रको वास्तविक योगदानको यथार्थ मूल्यांकन गर्दै पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटीमा सुधार गरी भैरहवा र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताए ।
‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ, हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई केवल साक्षीका रूपमा उपस्थित गराउने नभई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्ने धारणा राखे ।
अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यावसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जना सम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणको नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण सहज र लगानीमैत्री बने निजी क्षेत्र बलियो हुने र त्यसबाट समग्र अर्थतन्त्र तथा सरकारको राजस्व समेत स्वत: बढ्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
पर्यटन नेपालको रोजगारी, विदेशी मुद्रा आर्जन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आधार बन्न सक्ने भन्दै पर्यटनलाई केवल आगन्तुक संख्या बढाउने क्षेत्रका रूपमा नभई उच्च मूल्य सिर्जना गर्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान कति छ भन्ने विषयमा समेत स्पष्ट र विश्वसनीय तथ्यांक आवश्यक रहेको बताए ।
पर्यटनले कुल गार्हस्थ उत्पादन (जीडीपी), रोजगारी, विदेशी मुद्रा आर्जन तथा अन्य आर्थिक गतिविधिमा पुर्याएको प्रत्यक्ष र अप्रत्यक्ष योगदानको यथार्थ मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालको अर्थतन्त्र लामो समयसम्म रेमिट्यान्समा निर्भर रहँदा जोखिम बढ्न सक्ने भन्दै अध्यक्ष श्रेष्ठले उत्पादनमूलक क्षेत्रको विस्तार र विदेशी मुद्रा आर्जनका अन्य दिगो स्रोत विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको बताए ।
श्रेष्ठले विमानस्थल निर्माणमात्र पर्याप्त नहुने भन्दै काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित, पर्याप्त र प्रतिस्पर्धी हवाई उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4