३१ भदौ, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावक नभएका, बेबारिसे अवस्थामा फेलापरेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याउने उद्देश्यले बालबालिकासम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक ल्याइएको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘बालबालिकासम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री वादीले बालबालिकको गैरकानुनी ओसारपसार, शोषण तथा अन्य सम्भावित जोखिम न्यूनीकरणमा प्रस्तुत विधेयकले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
‘बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनका क्रममा देखिएका कानुन प्रक्रियागत तथा व्यवहारिक समस्यालाई समाधान गर्दै बाल न्याय प्रणालीलाई अझ सरल, सहज र बालमैत्री बनाउन, बाल संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्न विधेयक आवश्यक भएको हो’, मन्त्री वादीले भनिन् ।
बैठकले महिलामन्त्री वादीले राखेको ‘बालबालिकासम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिक्रिया 4