+
+
Shares

पृथ्वी राजमार्ग खुलेपछि कुलमानले भने- कृष्णभिर क्षेत्रमा दीर्घकालीन समाधान खोज्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुलमान घिसिङले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरको भौगोलिक र भूगर्भीय जोखिमको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।
  • उनले विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गरी सुरक्षित र दिगो सडक संरचना बनाउन तथा वैकल्पिक सडक पहिचान गर्न आग्रह गरेका छन्।
  • १४ भदौको त्रिशूली बाढीपछि अवरुद्ध कृष्णभिर खण्ड नयाँ ट्र्याक खोलेर १८ दिनपछि आज दुईतर्फी सञ्चालनमा आएको छ।

१ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हाल नयाँ ट्र्याकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपद्‍बाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्त्वपूर्ण उपलब्धि हो । तर, कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ ।’

घिसिङले विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्ने बताए ।

साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्रामिकताका साथ अगाडि बढाउनुपर्ने उनले जोड दिए ।

मुलुकले ठूलो विपद्को सामना गरिरहेको कठिन समयमा सडक सुचारु गर्न अहोरात्र खटिएका सबै पक्षलाई धन्यवाद दिँदै अध्यक्ष घिसिङले प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर निरन्तर काम गर्नेहरूप्रति प्रशंसा समेत गरेका छन् ।

विपद्का बेला समयमै जुट्ने यस्तै सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई ठूलो राहत र भरोसा प्रदान गर्ने भन्दै उनले सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधारहरू पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

१४ भदौमा त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर खण्डमा सडक कटान भएपछि यो राजमार्ग अवरुद्ध थियो । नयाँ ट्र्याक खोलेर १८ दिनपछि आज मात्रै यो राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

साथै बट्टारदेखि बेत्रावति हुँदै धुन्चे स्याप्रुबेसीसम्म मोटर बाटो छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको उनले ध्यानाकर्षण पनि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?