News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
- प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि आयोजनास्थलमा कुनै पनि सवारीसाधन र कर्मचारी प्रवेश गर्न नदिने घोषणा गरेको उनले प्रतिनिधि सभामा जानकारी गराए ।
- दुलालले मेलम्चीदेखि हेलम्बु र पाँचपोखरीसम्मको सडकका लागि बहुवर्षीय ठेक्का स्वीकृत गरी विगतका सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
१ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको समेत जानकारी गराए ।
आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ सरकारको उनले ध्यानाकर्षण गराए ।
‘मेलम्ची खानेपानी आयोजनाका प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आज एउटा आन्दोलनको घोषणा गरेको छ । र आजदेखि मेलम्ची खानेपानी आयोजनाको कुनैपनि गाडी तथा कर्मचारी कसैलाई पनि आयोजनास्थलमा प्रवेश गर्न नदिने भनेर घोषणा गरेको छ । यसले मेलम्ची खानेपानी आयोजना प्रभावित हुने तथा निरन्तरता दिन समस्या हुन्छ,’ उनले भने ।
यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेर सरकारसँग विभिन्न सम्झौता गरेको भएपनि ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
प्रमुख सचेतक दुलालले मेलम्ची बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको बताए ।
‘मेलम्ची बाढी र खानेपानी आयोजनाबाट प्रभावित पीडित तथा संघर्ष समिति र लोकल भेन्डर्स समितिले यसअघि पनि पानी पथान्तर बन्द गरेर सरकारले पटक पटक विभिन्न सम्झौताहरु गरेको छ । त्योअन्तर्गत बाढी पीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निमाण, त्यहाँको सडक र बाढीले क्षति पुर्याएको ठाउँलाई प्रमुख मुद्दा बनाएको छ भने लोकल भेन्डर्सले सरकारबाट आफूले प्राप्त गर्नुपर्ने मुद्दा बनाएको छ,’ उनले भने, ‘यो दु:खद् क्षण नआओस् । र फेरी पनि पानी पथान्तर बन्द गर्नुपर्ने र जनताले दु:ख पाउने स्थिति नआओस् । म सरकारसँग दुई वटा माग गर्न चाहान्छु । एउटा, मेलम्चीबाट हेलम्बुसम्मको बाटो बहुवर्षीय ठेक्का अबिलम्व स्वीकृत गरियोस् । मेलम्चीबाट पाँच पोखरीसम्मको बाटोको सन्दर्भमा समेत बहुबवर्षीय ठेक्का अविलम्ब गराइयोस् । र विगतमा सरकारले पीडितसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गरियोस् ।’
मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न तथा मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवषीृय ठेक्का प्रक्रिया अगाडि बढाउन समेत माग गरे ।
प्रतिक्रिया 4