३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रस्ताव गरेअनुसार सर्वदलीय संयन्त्र नबनेकोबारे नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रश्न उठाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र नेकपाका सांसद प्रमेशकुमार हमालले प्रश्न उठाएका हुन् ।
‘हामीले भन्दैआएका छौं र फेरी पनि भन्छौं– राहत, खोज–उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम थप प्रभावकारी बनाउन सहयोग पुग्नेगरी सर्वदलीय विशेष संसदीय समिति गठन गरियोस्’, एमाले उपनेता अर्यालले भनिन् ।
नेकपा सांसद हमालले सत्ताधारी दलको सभापति लामिछानेले सर्वदलीय सहमतिको आधारमा संयन्त्र बनाउने भनेर गरेको प्रस्ताव अगाडि बढाउन आवश्यक रहेको बताए ।
रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै भदौ ११ गते रास्वपा सभापति लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।
बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।
बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउनेगरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गरेका थिए ।
‘उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ उनले भनेका थिए ।
लामिछानेको प्रस्तावमा अन्य दलले पनि सहमति जनाएका थिए । सोही बैठकले जारी गरेको १० बुँदे संकल्पमा दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय समेटिएको थियो ।
संकल्पको १० नम्बर बुँदामा भनिएको थियो, ‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्न हामी सहमत भएका छौं ।’
उक्त संयन्त्रले संकटको समयमा मात्र नभई विपद्पूर्व तयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा भूमिका खेल्ने उल्लेख थियो ।
तर, हालसम्म उक्त संयन्त्र गठन हुनसकेको छैन । यसप्रति संसद्मा विपक्षी दलहरूले प्रश्न उठाएका हुन् ।
प्रतिक्रिया 4