+
+
Shares

शिवसेनाका नेताले नगर पञ्चायत प्रमुखको टेबलमै राखिदिए छाडा कुकुर

रान्धवेले चार–पाँचवटा छाडा कुकुरलाई झोलामा राखेर निफाड नगर पञ्चायतका प्रमुख अधिकृत धीरज भामरेको कार्यालयमा पुर्‍याएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाराष्ट्रको निफाड नगर पञ्चायतमा शिवसेना (यूबीटी)का युवा सेना जिल्ला प्रमुख विक्रम रान्धवेले छाडा कुकुरको समस्या देखाउन प्रमुख अधिकृतको टेबलमै कुकुर राखिदिए।
  • रान्धवेले नगर प्रशासनले छाडा कुकुर नियन्त्रण, समात्ने र बन्ध्याकरणमा प्रभावकारी व्यवस्था गर्न नसकेको आरोप लगाएका छन्।
  • उनका अनुसार निफाड क्षेत्रमा चार सयभन्दा बढी छाडा कुकुर छन् र तिनको टोकाइबाट हरेक महिना एक सयभन्दा बढी मानिस घाइते हुने गरेका छन्।

१ असोज, काठमाडौं । छाडा कुकुरको समस्या कति गम्भीर छ भनेर देखाउन भारतमा एक नेताले अनौठो विरोधको बाटो रोजेका छन् । उनले नगर पञ्चायत प्रमुख अधिकृतको कार्यकक्षको टेबुलमै छाडा कुकुर राखिदिएका छन् । घटना भारतको महाराष्ट्रस्थित निफाड नगर पञ्चायतको हो ।

मंगलबार (सेप्टेम्बर १५) शिवसेना (यूबीटी)का युवा सेना जिल्ला प्रमुख विक्रम रान्धवेले छाडा कुकुरको समस्या समाधान गर्न नगर प्रशासन असफल भएको आरोप लगाउँदै यस्तो विरोध गरेका हुन् ।

रान्धवेले चार–पाँचवटा छाडा कुकुरलाई झोलामा राखेर निफाड नगर पञ्चायतका प्रमुख अधिकृत धीरज भामरेको कार्यालयमा पुर्‍याएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले कार्यालयभित्रै झोला खोलेर कुकुर निकाल्दै प्रमुख अधिकृतको टेबलमा राखिदिएको देखिन्छ ।

अचानक कार्यालयभित्र कुकुर छाडिएपछि कुर्सीमा बसेका भामरे केही पछाडि सरेका थिए । झोलाभित्र थुनिएका कारण त्रसित जस्तो देखिएको एउटा कुकुर अर्को टेबलको कुनामा गएर बसेको थियो भने अर्को कार्यालयभित्रै यताउता हिँडिरहेको थियो ।

त्यसपछि रान्धवे र प्रमुख अधिकृत भामरेबीच केहीबेर भनाभनसमेत भएको थियो । विरोधलाई थप प्रतीकात्मक बनाउन रान्धवेले प्रमुख अधिकृतको टेबलमा नोटको माला समेत राखिदिएका थिए ।

रान्धवेका अनुसार निफाड नगर पञ्चायत क्षेत्रभित्र चार सयभन्दा बढी छाडा कुकुर छन् । तिनको टोकाइबाट हरेक महिना एक सयभन्दा बढी मानिस घाइते हुने उनको दाबी छ ।

बारम्बार गुनासो गर्दा पनि छाडा कुकुर नियन्त्रण, समात्ने तथा बन्ध्याकरणका लागि नगर प्रशासनले प्रभावकारी व्यवस्था गर्न नसकेको उनको आरोप छ । छाडा कुकुरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र मोटरसाइकल चालक प्रभावित भइरहेको उनले बताए ।

निफाड उपजिल्ला अस्पतालमा दैनिक पाँचदेखि छ जनासम्म कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक डा. राजीव ताम्बलेले बताएका छन् ।

‘यस हिसाबले महिनामा एक सयभन्दा बढी कुकुर टोकाइका घटना हुने देखिन्छ । अहिले अस्पतालमा एन्टि–रेबिज खोप उपलब्ध छ,’ डा. ताम्बलेले भने ।

नगर पञ्चायतले छाडा कुकुर नियन्त्रणका लागि ठोस कदम नचाले नागरिकहरूको उपस्थितिमै पुन: प्रमुख अधिकृतको कार्यालयमा कुकुर ल्याएर छाड्ने रान्धवेले चेतावनी दिएका छन् ।

उनले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको छाडा कुकुरको समस्या प्रशासनलाई प्रत्यक्ष अनुभूति गराउन कार्यालयभित्र कुकुर छाडिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?