News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट फरार ठगी तथा बैंकिङ कसुरका अभियुक्त ३८ वर्षीय रामेश्वर पराजुलीलाई प्रहरीले काठमाडौंको धोबीखोला पुलबाट पक्राउ गरेको छ।
- महोत्तरी प्रहरीका अनुसार पराजुलीविरुद्ध ठगी, विश्वासघात र बैंकिङ कसुरसम्बन्धी झण्डै दर्जन मुद्दा दर्ता छन्।
- पराजुलीलाई अर्को मुद्दामा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध र गौशालामा पठाउनुपर्ने थियो, तर उनी फरार भएपछि खोजी सुरु गरिएको थियो।
१ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् ।
ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलीलाई प्रहरीले काठमाडौंको विजुली बजार स्थित धोवीखोला पुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका र अपराध महाशाखाको टोलिले पक्राउ गरेको महोत्तरी प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भर नाथ साहले जानकारी दिए ।
पराजुली महोत्तरीमा दर्ता रहेको दुईवटा मुद्दामा महोत्तरी जिल्ला अदालतबाट गत भदौ २२ गते १५–१५ रुपैयाँ धरौटीमा रिहा भएका थिए । तर महोत्तरी प्रहरीले उनलाई अर्को मुद्दामा कारबाहीको लागि काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध र वृत्त गौशालामा पठाउनु पर्ने थियो । तर पराजुली फरार भएका थिए । फरार भएपछि महोत्तरी प्रहरीले मिलेमतोमा भगाएको आरोप लागेको छ । घटना अनलाइनखबरले सार्वजनिक भएपछि महोत्तरी प्रहरी र अपराध महाशाखा तिव्ररुपमा खोजिकार्य जारी राखेको थियो ।
पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवको जाहेरीमा तीन/तीन लाख रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसुर र ठगी तथा विश्वासघातसम्बन्धी दुई वटा उजुरी दिएका थिए ।
मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना दिलाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा पराजुलीविरुद्ध जाहेरी परेपछि उनलाई सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो ।
सिरहाका योगेन्द्रकुमार यादवले ७ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएका थिए । पक्राउ परेपछि साउन २९ गते पराजुलीले पीडितसँग लेनदेन मिलाई मिलापत्र गरेका थिए ।
त्यसपछि सिरहा प्रहरीले उनलाई रिहा नगरी महोत्तरी प्रहरीमा दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी दुईवटा मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको थियो ।
पराजुलीविरुद्ध काठमाडौंलगायत विभिन्न स्थानमा पनि यस्तै प्रकृतिका मुद्दा दर्ता रहेको पाइएको छ ।
प्रतिक्रिया 4