News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडालाई युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई स्वागत गर्दै लोकतन्त्र र साझा मूल्यका लागि गठबन्धन भएको बताए।
- कार्नीले क्यानडा र युरोपले महत्त्वपूर्ण खनिज, रक्षा, एआई, ऊर्जा, अन्तरिक्ष र भुक्तानी प्रणालीमा गहिरो सहकार्य बढाउनुपर्ने बताए।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रस्ताव अघि बढेमा युरोपविरुद्ध कडा ट्यारिफ लगाउने वा व्यापार रोक्ने धम्की दिए।
१ असोज, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देश युरोपेली संघ (ईयू) को पहिलो एसोसिएट सदस्य बन्ने सम्भावनाको स्वागत गरेका छन्। उनले यस्तो गठबन्धन लोकतन्त्रका लागि आधारस्तम्भ बन्ने उद्देश्यले प्रेरित रहेको र अरूमाथि प्रभुत्व जमाउन नभएको बताएका छन्।
फ्रान्सको स्ट्रासबर्गस्थित युरोपेली संसद्मा बोल्दै प्रधानमन्त्री कार्नीले क्यानडालाई एसोसिएट सदस्य बनाउने युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनको महत्त्वाकांक्षालाई क्यानडाले स्वागत गर्ने बताए।
युरोपेली सांसदहरूको तालीको गडगडाहटबीच कार्नीले भने, ‘हामी सुखका मात्रै साथी होइनौँ। हामी ‘जिरो-सम’ सम्झौताहरूको पछि लाग्दैनौँ। हामी ती साझा मूल्यमान्यताहरू बोक्छौँ जसका लागि हामीले सधैँ लडेका छौँ र जसको रक्षाका लागि हामी सधैँ चनाखो रहनुपर्छ।’
उनले थपे, ‘क्यानडा र युरोप दुवै आ-आफ्नो ठाउँमा बलिया छन्। तर युरोप र क्यानडा सँगै हुँदा अझ बढी बलिया हुन्छन् ।’
‘म महाशक्ति राष्ट्रहरूको प्रतिद्वन्द्वी बन्नका लागि कुनै तेस्रो गुटको प्रस्ताव गरिरहेको छैन,’ उनले अगाडि भने, ‘हामी अरूमाथि प्रभुत्व जमाउन शक्ति खोजिरहेका छैनौँ। यसको विपरीत, हामी यस्तो उत्थानशीलता खोजिरहेका छौँ, जसले गर्दा कसैले पनि हाम्रो खुला बजारलाई नियन्त्रण गर्न, हाम्रो सार्वभौमसत्तालाई कमजोर पार्न, हाम्रो क्षेत्रीय अखण्डतालाई धम्की दिन वा हाम्रो स्वतन्त्रता, लोकतन्त्र र कानुनी शासनलाई नजरअन्दाज गर्न नसकोस्।’
सहकार्य बढाउने क्यानडाको प्रस्ताव
कार्नीले सहकार्य बढाउन चाहेका विभिन्न क्षेत्रहरूको सूचीसमेत प्रस्तुत गरे। उनले भने, ‘क्यानडा र युरोपले महत्त्वपूर्ण खनिज पदार्थ, रक्षा औद्योगिक क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटिङ, ऊर्जा सुरक्षा, अन्तरिक्ष र भुक्तानी प्रणालीलगायत रणनीतिक क्षमताहरूको पूर्ण दायरामा गहिरो सहकार्यमार्फत आफ्नो रणनीतिक स्वायत्तता सुरक्षित गर्नुपर्छ।’
उनले ईयू र क्यानडा बाधारहित डिजिटल व्यापारतर्फ अघि बढ्नुपर्ने र दुवै पक्षका युवाहरूलाई आन्ध्र महासागरको दुवैतर्फ काम गर्न र अध्ययन गर्न अनुमति दिनुपर्ने पनि बताए।
ट्रम्पको असन्तुष्टि र चेतावनी
व्यापारलगायतका अन्य विषयमा ईयू र क्यानडाले ट्रम्प प्रशासनबाट कडा प्रतिद्वन्द्विता र दबाबका साथै बढ्दो आक्रामक चीनको सामना गरिरहेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अबेर क्यानडालाई एसोसिएट सदस्य बनाउने भोन डेर लायनको प्रस्तावलाई अघि बढाएमा ईयूविरुद्ध कडा कदम चाल्ने धम्की दिएका छन्।
यस प्रस्तावलाई हास्यास्पद भन्दै ट्रम्पले पत्रकारहरूसँग भने, ‘यदि उनीहरूले यसो गरे र मलाई यो कुनै शत्रुतापूर्ण कार्य हो जस्तो लाग्यो भने, म धेरै गम्भीर ट्यारिफ लगाउनेछु वा युरोपसँग धेरै कुराको व्यापार रोकिदिनेछु।’
उनले थपे, ‘यदि यो राम्रो नियतले गरिएको हो भने ठीक छ। तर यदि खराब नियत हो भने, हामी युरोपमाथि धेरै भारी ट्यारिफ लगाउनेछौँ ।’
युरोपेली आयोगको प्रस्टीकरण
यता, युरोपेली आयोग (ईसी) ले भोन डेर लायनको प्रस्ताव कुनै शत्रुतापूर्ण कार्य नभएको स्पष्ट पारेको छ। यो प्रस्तावलाई अझै पूर्ण रूप दिन बाँकी छ र अघि बढाउनका लागि ईयू सदस्य राष्ट्रहरूले अनुमोदन गर्नुपर्ने हुन्छ।
युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले भने, ‘हाम्रा अध्यक्षले हिजै प्रस्ट पारेझैँ, क्यानडासँग हाम्रो साझेदारीलाई सुदृढ गर्ने प्रस्ताव अरू कसैको विरुद्धमा नभई हाम्रो साझा शक्तिका लागि हो।’ (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4