News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापाले गणेशमान सिंहको २९औँ स्मृति दिवसमा उनको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्श संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताए।
- थापाले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै गणेशमान सिंहजस्ता अग्रजले देखाएको लोकतान्त्रिक आदर्श व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताए।
- उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने उल्लेख गरे।
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले सो कुरा उल्लेख गरेका हुन् ।
कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नहेरी गणेशमान सिंहजस्ता अग्रज नेताले देखाएको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौं । यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्ने अवसर पनि हो,’ थापाले लेखेका छन् ।
समयसँगै चुनौतीहरू परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको थापाको भनाइ छ ।
‘समय बदलिएको छ, चुनौती बदलिएका छन् । तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,’ उनले लेखेका छन् ।
गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने उनले बताएका छन् ।
थापाले लोकतन्त्रका लागि जीवन समर्पण गरेका तथा कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नभएका साहसी, त्यागी र निष्ठावान् नेता सिंहप्रति २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण पनि गरेका छन् ।
प्रतिक्रिया 4