वैज्ञानिकहरूले पश्चिमी एमेजोनको मौसमी बाढी आउने जङ्गलमा भ्यागुताको नयाँ प्रजाति फेला पारेका छन् । उनीहरूले यो प्रजातिको नाम ‘एडेनोमेरा वार्सेना’ राखेका छन् ।
यो खोजले एमेजोनमा जैविक विविधता अझ व्यापक रहेको देखाएको छ । अनुसन्धानकर्ताहरूले डीएनए र यसको फरक आवाजको आधारमा यो भ्यागुता पहिचान गरेका हुन् ।
यो अध्ययन ‘इक्थियोलोजी एन्ड हर्पेटोलोजी’ जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धान टोलीमा साओ पाउलो स्टेट युनिभर्सिटीका प्रोफेसर सेलियो एफ बी हदाद र फेडरल युनिभर्सिटी अफ मिनास गेराइसकेका प्रोफेसर थियागो आर कार्भाल्हो रहेका छन् ।
टोलीले पश्चिमी एक्रेको माथिल्लो जु रुआ नदी क्षेत्रमा अध्ययन गर्दा यो प्रजाति भेटेको हो । उनीहरूले डीएनए, आवाज, शारीरिक बनावट र हबिट्याटको विश्लेषण गरेर नयाँ प्रजाति पुष्टि गरेका हुन् ।
एडेनोमेरा प्रजातिका भ्यागुताहरू प्राय: सुख्खा जङ्गलमा पाइन्छन् । यो नयाँ भ्यागुता बाढी आउने क्षेत्रमा भेटिनु नौलो कुरा हो ।
यसको हातको तल्लो भागमा कालो दाग छैन । यसको भालेको आवाज पनि अन्य भ्यागुताको तुलनामा ढिलो र छोटो छ ।
वातावरणीय परिवर्तनले यो प्रजातिलाई कसरी असर गर्छ भन्ने स्पष्ट छैन । ‘हामीलाई यस प्रजातिको पारिस्थितिक आवश्यकता र यसको प्राकृतिक इतिहास विस्तृत रूपमा थाहा छैन । त्यसैले जलवायु परिवर्तनको प्रभाव भविष्यवाणी गर्न गाह्रो छ,’ कार्भाल्होले भने, ‘प्रजातिहरूलाई औपचारिक रूपमा चिनिनु अघि नै ती स्थानीय रूपमा लोप हुन सक्छन् ।’
प्राकृतिक बासस्थान नासिँदै गएकाले ब्राजिलको जैवविविधता रेकर्ड गर्न वैज्ञानिकहरूलाई दबाब छ । हदादले भने, ‘हाल, इकोसिस्टम विनाशको गति ट्याक्सोनोमिक अध्ययनको क्षमताभन्दा छिटो छ । अझै वर्णन नगरिएका प्रजातिहरू सङ्कटमा परेका जीवजन्तुको सूचीबाट छुट्छन् र जोखिममा रहन्छन् ।’
प्रजातिको औपचारिक पहिचानले यसको संरक्षणमा प्रत्यक्ष मद्दत पुर्याउँछ ।
प्रतिक्रिया 4