News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड हुँदा नारिता लगायत गन्तव्यका उडान डिले, रिसेड्युल र रद्ध भएका छन् ।
- निगमका अनुसार एउटा वाइडबडी जापानमा मर्मत हुँदैछ भने अर्को नियमित सिचेकका लागि इटाली लगिएकाले अर्को सातामात्र उडानमा फर्कने अपेक्षा छ ।
- निगमले काठमाडौं-दोहा, काठमाडौं-क्वालालम्पुर, काठमाडौं-दुबई र काठमाडौं-ग्वाङझाओ उडान एक/एक दिन पछाडि सारेको छ ।
२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ ।
निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ ।
निगम प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनका अनुसार अहिले निगमको एउटा वाइडबडी जहाज जापानमा ग्राउन्डेड छ । जसको मर्मत जारी छ । अर्को, जहाज नियमित मर्मतका लागि इटाली लगिएको छ ।
जहाज अवतरण क्रममा इन्जिन ब्लेडमा कुनै वस्तु ‘हिट’ भएको र त्यसले ल्यान्डिङ गियरमा समेत असर परेको पाइएपछि उक्त जहाज नारितामै ग्राउन्डेड भएको हो ।
उनका अनुसार इन्जिन निर्माता कम्पनीसँगको परामर्शमा अहिले इन्जिन मर्मत भइरहेको छ । ‘अब ३/४ दिनमा जहाज मर्मत भइसक्ने र नारिताबाट सेड्युल उडान नै गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।
अर्को वाइडबडी भने अर्को सातामात्र उडानमा आउने अपेक्षा गरिएको छ । यसले वाइडबडी मात्र उड्ने नारिताको सबै उडान ठप्प भएको छ ।
त्यसबाहेक दुई न्यारोबडी जहाज भने उडिरहेका छन् । यद्यपि, सबैजसो गन्तव्यको उडान डिले हुने समस्या छ । ‘हामीसँग कुल चार जहाज हो, दुई जहाज ग्राउन्डेड हुँदा स्वाभाविक रूपमा निर्धारित उडान प्रभावित हुनै नै भयो,’ उनले भने, ‘तर, हामीले नारिता बाहेक अन्यमा उडान रद्ध नगरी व्यवस्थापन गरिरहेका छौं ।’
कम्पनीले यात्रुको उडान रिसेड्युलिङ सुविधा दिएको समेत उनले बताए । जहाज थोरै हुनु र एकसाथ ग्राउन्डेड हुँदा निगमको सेवा प्रभावित बनेको हो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले अगस्ट पहिलो साता एउटा वाइडबडी नियमित मर्मत (सिचेक) का लागि इटाली पठाइएको जानकारी दिए ।
उनका अनुसार त्यो जहाज सेप्टेम्बर पहिलो साता नेपाल आउनुपर्ने थियो । तर, थप मर्मतको काम गर्नुपर्ने भएकाले आउन ढिलाइ भएको छ ।
यहीबीच अर्को वाइडबडी जापानमा ग्राउन्डेड भएको उनले बताए । ‘त्यसमा ढुंगा वा चरा ठोक्किएको हुन सक्छ, त्यसको पनि मर्मत भइसकेको छ,’ उनले भने, ‘तर, इन्जिन निर्माता कम्पनी रोल्स रोयसले त्यसमा केही थप काम गर्नुपर्ने बताएकाले ढिलाइ भएको छ, सोमबारसम्म जहाज मर्मत गरी फर्केला ।’
नारितामा न्यारोबडी जहाजले उडान गर्न सक्दैन । सोहीकारण वाइडबडीको विकल्प छैन ।
निगमले १४ सेप्टेम्बरमा निर्धारित काठमाडौं-दोहा उडानलाई १५ तारिखमा सारेको थियो । १५ तारिखको काठमाडौं-क्वालालम्पुर उडान १७ तारिखमा सारिएको थियो ।
काठमाडौं-दोहा, काठमाडौं-दुबई र काठमाडौं-ग्वाङझाओ रुटका उडान समेत एक/एक दिन पछाडि सारिएको छ । काठमाडौं-नारिताका लागि १७, १८ र २० तारिखलाई निर्धारित उडान भने रद्ध गरिएको छ ।
प्रतिक्रिया 4