News Summary
Generated by OK AI. Editorially reviewed.- दशैं बिदामा थाइल्यान्ड बैंकक, पटाया, क्राबी र फुकेटजस्ता गन्तव्यसँग समुद्र, शहर, खाना र सपिङको अनुभव दिने विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
- चारदेखि पाँच दिन भए बैंकक–पटाया र सात रात आठ दिन भए बैंककसँगै क्राबी र फुकेट घुम्न सकिने यात्रा योजना सुझाइएको छ।
- थाइल्यान्ड जान यात्राको मिति तय भएपछि कम्तीमा १० कार्यदिनअघि भिसा प्रक्रिया सुरु गर्न र मौसमअनुसार कपडा तथा सुरक्षा सामग्री साथमा राख्न सुझाव दिइएको छ।
दशैंको बिदामा विदेशतिर घुम्न मन छ ? तर, कहाँ जाने भनेर दोधारमा हुनहुन्छ भने थाइल्यान्ड एउटा विकल्प हुन सक्छ ।
जहाँ एउटै यात्रामा समुद्रदेखि शहर, खानादेखि सपिङ र दिनको घुमघामदेखि रातको रौनकसम्म पाउन सक्नुहुन्छ ।
बिहान समुद्रका निलो छालसँग रमाउँदै दिनको सुरुवात, दिउँसो सुन्दर टापुहरूको घुमफिर, साँझ समुद्र किनारमै सूर्यास्तको मनमोहक दृश्यसँग डिनर र राति झिलिमिली बजारमा घुम्दै रोजीछाडी सपिङको मजा उठाउन सकिन्छ ।
त्यसपछि थाकेको शरीरलाई स्फुर्त बनाउने टम यमको तातो सुप, ताजा समुद्री खाना र म्याङ्गो स्टिकी राइसको स्वाद लिन पाइने थाइल्यान्डको यात्रा हरेक पललाई सम्झनलायक बनाउने अनुभवहरूको सुन्दर संगम बन्न सक्छ।
परिवार, साथीभाइ वा जोडी– जसरी गए पनि थाइल्यान्डले यात्रालाई आफ्नै ढंगले रंग्याइदिन्छ ।
बैंककबाट यात्रा सुरु
थाइल्यान्डको यात्रा बैंककबाट सुरु गर्दा पहिलो पाइला टेक्नासाथ शहरले आफ्नो छुट्टै रङ देखाउन थाल्छ । समुद्रको निलो–हरियो पानी र सेतो बालुवाभन्दा बिल्कुल फरक यहाँको व्यस्त सडक, शताब्दी पुराना मन्दिर, भव्य राजदरबार, रंगीन बजार र रातको झिलिमिलीले मन लोभ्याउँछ ।
शहरको पुरानो इतिहास बुझ्न सबैभन्दा पहिले वाट अरुण पुग्न सकिन्छ । चाओ फ्राया नदीको किनारमा उभिएको यो मन्दिरको कलात्मक संरचना र नदीपारिबाट देखिने दृश्य बैंककको चिनारीमध्ये एक हो ।
त्यसपछि वाट फो पुग्दा विशाल बुद्धको प्रतिमा देख्न सकिन्छ । नजिकै रहेको ग्रान्ड प्यालेस र त्यसै परिसरको वाट फ्रा काउले थाइल्यान्डको राजकीय र धार्मिक इतिहासलाई अझ नजिकबाट बुझ्ने अवसर दिन्छ ।
गोल्डेन माउन्टेन पुग्दा भने शहरलाई केही माथिबाट नियाल्दै बैंककको अर्को दृश्य हेर्न सकिन्छ ।
बैंककको विशेषता यतिमै सकिँदैन । इतिहास र सम्पदा हेरेर निस्किएपछि केही समयमै आधुनिक सपिङ मलको चमकमा पुग्न सकिन्छ । चातुचक विकेन्ड मार्केटदेखि स्थानीय बजार र ठूला सपिङ मलसम्ममा सानादेखि ब्रान्डेड सामग्रीसम्म, आफ्नो बजेट र रुचिअनुसार किनमेल गर्न सकिन्छ ।
थाई कपडा, हस्तकलाका सामग्रीदेखि विभिन्न स्थानीय उत्पादनसम्म बजारमा घुम्दै रोज्न सकिन्छ । तर बैंककलाई साँच्चिकै महसुस गर्न सडकमा निस्कनुपर्छ । साँझ पर्दै जाँदा याओवारातका सडक झिलिमिली बत्तीले उज्यालिन्छन् ।
सडकछेउमा सेकिँदै गरेका रसिला झिँगे माछा, स्क्विड र अक्टोपसको सुगन्ध, तातो टम यमको बास्ना, पद थाईको स्वाद र अन्त्यमा मिठासिलो म्याङ्गो स्टिकी राइस – खानाका पारखीका लागि याओवारातको रातलाई अझ जीवन्त बनाइदिन्छ । परिवारसँग यात्रा गर्दै हुनुहुन्छ भने बैंककमा घुमघामको सूची अझ लामो हुन्छ । सफारी वर्ल्ड, मरीन पार्कजस्ता मनोरञ्जनका स्थलले बालबालिकालाई व्यस्त राख्छन् भने ठूला मानिसका लागि शहरको साँस्कृतिक र खानाको अनुभव थपिन्छ ।

छोटो समय छ भने बैंकक-पटाया
४-५ दिनजति मात्रै समय छ भने बैंककसँगै पटायालाई जोडेर यात्रा गर्न सकिन्छ । बैंककको शहर, मन्दिर र सपिङको चहलपहलबाट निस्किएपछि पटाया पुग्दा भने यात्राको माहोल नै फेरिन्छ । पटायाको आकर्षण समुद्रमा मात्र सीमित नभई समुद्र किनारको रमाइलोसँगै मनोरञ्जन, रेस्टुरेन्ट र रातको चहलपहलले यात्रालाई अझ जीवन्त बनाउँछ ।
विशेषगरी कोरल आइल्यान्डको भ्रमण छोटो थाइल्यान्ड यात्रामा छुटाउन नहुने अनुभवमध्ये एक बन्न सक्छ । बिहान डुंगामा चढेर निलो समुद्र काट्दै कोरल टापुतिर लाग्दा नै बैंककमा बिताएको समयभन्दा बिल्कुल फरक अनुभव सुरु हुन्छ ।

टापु पुगेपछि समुद्रको किनारमा बसेर आराम गर्न सकिन्छ, वा अलि ‘एडभेन्चरस’ खोज्नेले प्यारासेलिङ, सी–वाकलगायतका पानीमा आधारित गतिविधि रोज्न सक्छन् । यसले माथिबाट समुद्र नियाल्न मात्र होइन, पानीमुनिको अर्को संसार पनि अनुभव गर्ने मौका दिन्छ ।
दिनभर समुद्रमा रमाएपछि साँझ पटायाको अर्को रूप देखिन्छ । समुद्र किनारका रेस्टुरेन्टमा बसेर ताजा समुद्री खाना खाँदै सूर्यास्त हेर्न सकिन्छ । रात परेपछि भने सडक, बजार र मनोरञ्जनका क्षेत्रहरू उज्यालिन्छन् । त्यसैले, छोटो बिदामा पनि बैंककको सांस्कृतिक अनुभव र पटायाको समुद्री रात्रिजीवनलाई एउटै यात्रामा समेट्न सकिन्छ ।
यद्यपि, समुद्री गतिविधि रोज्दा रमाइलोसँगै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ । मौसम र समुद्री अवस्थाअनुसार गतिविधि सञ्चालन हुन सक्ने हुँदा स्थानीय गाइड वा सम्बन्धित सञ्चालकको निर्देशन पालना गरेर मात्र प्यारासेलिङ, सी–वाकलगायतका गतिविधिमा सहभागी हुनु सुरक्षित हुन्छ ।

७ दिनको समय छ भने क्राबी र फुकेट
७ रात ८ दिनजति समय छ भने बैंककसँगै क्राबी र फुकेट जोड्दा थाइल्यान्डका फरक–फरक रङ एकै यात्रामा भेटिन्छ । बैंककको शहर र पटायाको चहलपहलपछि क्राबी पुग्दा भने यात्रा समुद्र, टापु र चट्टानी पहाडको बीचमा पुग्छ ।
क्राबीको आओ नाङ क्षेत्र समुद्र किनारका होटल, रेस्टुरेन्ट, बार र पसलले भरिएको पर्यटकीय क्षेत्र हो । तर क्राबीको असली आकर्षण भने समुद्रमा निस्किएपछि देखिन्छ ।

‘फोर आइल्यान्ड टुर’ मा बिहानै डुंगा चढेर निलो पानी पार गर्दै विभिन्न टापु र समुद्री किनार पुग्न सकिन्छ । कतै चट्टानले घेरिएको समुद्रको दृश्य हेर्न मन लाग्छ, कतै पानीमा ओर्लिएर पौडिन । दिनभर समुद्रसँगै बिताउने यो यात्रा परिवारका लागि पनि रमाइलो अनुभव बन्न सक्छ ।
फुकेट पुगेपछि समुद्रको दृश्य अझ फराकिलो हुन्छ । फिफी आइल्यान्ड र जेम्स बोन्ड आइल्यान्डतर्फ डे–ट्रिप गर्न सकिन्छ । फुकेटको पटोङ, काटा र कारोङजस्ता समुद्री तटमा आराम गर्न सकिन्छ भने साँझ पटोङको चहलपहल र नाइटलाइफले यात्राको अर्को स्वाद दिन्छ ।
फिफी आइल्यान्ड वरपर स्नोर्कलिङ, विन्डसर्फिङ र डाइभिङ गर्दै सफा समुद्रभित्रको संसार नियाल्न सकिन्छ । यी गतिविधि गन्तव्य र मौसमअनुसार गर्न सकिन्छ ।

त्यसैले, बच्चासहित परिवार जाँदा पनि सबैका लागि एउटै गतिविधि गर्नुपर्ने बाध्यता हुँदैन । कसैलाई समुद्रमा पौडिन मन लाग्न सक्छ, कसैलाई डुंगाबाट दृश्य हेर्न र कसैलाई किनारमा बसेर सूर्यास्त कुर्न । यी सबैको मिश्रण यहाँ पाइन्छ ।
थाइल्यान्डको अर्को आकर्षण, खाना
थाइल्यान्ड घुमेर फर्किंदा ‘कहाँ–कहाँ गयौँ ?’ भन्ने प्रश्नसँगै ‘के–के खायौँ ?’ भन्ने प्रश्नको उत्तर पनि लामो हुन्छ । याओवारातको सडकमा साँझ पर्दै जाँदा थाई स्ट्रीट फुडको संसार खुल्छ । तातो टम यम, तावामा फुरफुराउँदै पकिरहेको पद थाई, ग्रिलमा सेकिएका झिँगे माछा, स्क्विड र अक्टोपसदेखि विभिन्न स्थानीय स्न्याक्ससम्म यहाँ सडककै छेउमा स्वाद लिन सकिन्छ । चातुचकजस्ता बजार र अन्य स्थानीय फुड मार्केटमा पनि थाई परिकारको विविधता भेटिन्छ ।
पटाया पुग्दा समुद्री खानाको स्वाद अझ बाक्लिन्छ । समुद्र किनारका रेस्टुरेन्टमा ताजा ग्रिल्ड फिस, प्राउन, स्क्विड, अक्टोपस र क्र्याब रोज्न सकिन्छ । समुद्र हेर्दै ताजा समुद्री खाना खानु पटायाको यात्राको छुट्टै अनुभव बन्न सक्छ ।

क्राबीमा भने समुद्रसँगै स्थानीय थाई स्वादको आनन्द लिन सकिन्छ । आओ नाङ वरपरका रेस्टुरेन्ट र सडकछेउका फुड स्टलमा टम यम, पद थाई, ग्रिल्ड सीफुडलगायतका परिकार पाइन्छन् । दिनभर टापु घुमेर फर्किएपछि समुद्र किनारमा बसेर ताजा खाना खानुको मजा नै अर्को हुन्छ ।
पुरानो फुकेट टाउनमा स्थानीय थाई स्वाददेखि स्ट्रीट फुडसम्म चाख्न सकिन्छ भने समुद्र किनारका क्षेत्रमा ताजा सीफुडका परिकार रोज्न सकिन्छ । सोम ताम, अर्थात् हरियो मेवाको पिरो–अमिलो सलाद, पिरो मन पराउनेका लागि चाख्नैपर्ने परिकार हो । फुकेटलाई थाई पर्यटन प्राधिकरणले पनि खानाको विविधताका लागि विशेष रूपमा प्रवर्धन गर्दै आएको छ ।
त्यसपछि आउँछ मासामान करी–मसला र नरिवलको दूधको स्वाद मिसिएको बाक्लो करी । भागसँग खाँदा यसको स्वाद अझ पृथक लाग्न सक्छ ।
म्याङ्गो स्टिकी राइस छुटाउन नहुने परिकार हो, पाकेको गुलियो आँप, नरम स्टिकी राइस र नरिवलको दूधको स्वाद एकैपटक मुखमा पुग्दा दिनभरको थकान पनि बिर्सिएजस्तो लाग्छ ।
मसाज र स्पा : थाइल्यान्डको अर्को चिनारी

दिनभर घुमेपछि थकान हटाउन थाई मसाज वा स्पा रोज्ने पर्यटक पनि धेरै हुन्छन् । थाई मसाज यहाँको पर्यटन अनुभवकै एउटा हिस्सा बनेको छ । बैंककदेखि फुकेट र क्राबीका पर्यटकीय क्षेत्रमा विभिन्न प्रकारका मसाज तथा स्पा सेवा भेटिन्छन् । तर सेवा लिनुअघि मूल्य, सेवा र स्थानबारे स्पष्ट बुझ्नु राम्रो हुन्छ ।
अक्टोबर–नोभेम्बरमा मौसम कस्तो हुन्छ ?
थाइल्यान्ड जाने योजना बनाइराखेकाहरूको दिमागमा आउने प्रश्न हो, यो । अक्टोबर वर्षायाम सकिँदै चिसो मौसम सुरु हुने संक्रमणकाल हो । नोभेम्बरमा देशका धेरै भागमा चिसो मौसम सुरु हुन्छ ।
तर थाइल्यान्ड ठूलो देश भएकाले सबै क्षेत्रमा मौसम एउटै हुँदैन । समुद्री यात्रा गर्दा स्थानीय मौसम र समुद्री अवस्थाको जानकारी लिएर गतिविधि तय गर्नु राम्रो हुन्छ । त्यसले, त्यहाँ हल्का तथा आरामदायी कपडा, आरामदायी जुत्ता, सनग्लास, सनस्क्रिन, टोपी र समुद्री गतिविधिका लागि आवश्यक कपडा साथमा राख्नु उपयोगी हुन्छ ।
भिसा र बजेटमा के ध्यान दिने ?
थाइल्यान्ड घुम्ने योजना बनाउँदा भिसाको तयारी भने अन्तिम समयमा राख्नु हुँदैन । आवश्यक कागजात पूरा नभए प्रक्रिया थप लम्बिन सक्ने भएकाले यात्राको मिति तय भएपछि कम्तीमा १० कार्यदिनअघि भिसा आवेदन प्रक्रिया सुरु गर्नु उपयुक्त हुन्छ ।
थाइल्यान्डको काठमाडौंस्थित दूतावासमा पर्यटक भिसाका लागि पासपोर्ट, आर्थिक क्षमताको प्रमाण, आवासको प्रमाण, यात्रा विवरण र कन्फर्म हवाई टिकटलगायतका कागजात पेश गर्नुपर्छ ।
कति लाग्छ, शुल्क ?
अहिले ४ रात ५ दिनको बैंकक–पटाया प्याकेज प्रतिव्यक्ति करिब ९०–९५ हजार रुपैयाँबाट सुरु हुन्छ । क्राबी–फुकेट–बैंकक समेटिएको ७ रात ८ दिनको प्याकेज करिब १ लाख ३५ हजारदेखि १ लाख ४० हजार रुपैयाँको रेन्जमा पर्न सक्छन् । यद्यपी, टिकट, होटल, भिसा, गतिविधि र यात्राको मितिअनुसार मूल्यमा फरक पर्न सक्छ ।
पहिलोपटक जानेका लागि
यदि ४–५ दिन मात्रै छ भने बैंकक–पटाया जान सकिन्छ । समुद्र, आइल्यान्ड, परिवार र प्रकृतिलाई प्राथमिकता दिने हो भने क्राबी–फुकेट जान उपयुक्त हुन्छ ।
अलि फरक र शान्त समुद्री अनुभव खोज्नेले को सामुई रोज्न सक्छन् । त्यस्तै, बौद्ध संस्कृति र उत्तरी थाइल्यान्डको अनुभव लिन चाहनेले चियाङमाई र चियाङराईतर्फ यात्रा बढाउन सक्छन् ।
(बालुवाटारस्थित ह्वाइट टाइगर होलिडेजका कार्यकारी निर्देशक तथा सह संस्थापक उपेन पौडेलसँग कुराकानीमा आधारित)
प्रतिक्रिया 4