News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको सौराहा हात्ती प्रजनन केन्द्रको प्रभावशाली भाले हात्ती रोनाल्डो ४५ वर्षको उमेरमा विद्युत् तारमा करेन्ट लागेर मरेको छ।
- निकुञ्जका अनुसार रोनाल्डोले पछिल्लो १० वर्षमा मानवीय क्षति गरेको थिएन र केन्द्रमा धेरै छावा जन्माउन योगदान दिएको थियो।
- संरक्षणकर्मीले जंगली भाले हात्ती मारिँदै जाँदा हात्ती प्रजनन केन्द्र र भविष्यको प्रजननमा संकट आउन सक्ने चेतावनी दिएका छन्।
७ असोज, चितवन । चितवनको सौराहा आउने पर्यटकमध्ये हात्ती प्रजनन केन्द्र नपुग्ने कमै होलान् । स्वदेशीदेखि विदेशी, बालकदेखि वृद्धसम्म प्रजनन केन्द्र पुग्दा हात्ती हेरेर रमाउने गर्छन् । यही केन्द्र वरपर धेरैजसो पोथी हात्तीको नजिकै ढुकेर बस्ने जंगली भाले हात्ती ‘रोनाल्डो’ पनि सबैका लागि आकर्षणको केन्द्र बनेको थियो ।
निकुञ्जका कर्मचारीहरुका अनुसार अन्य जंगली भाले हात्तीभन्दा भलादमी र शान्त स्वभावको थियो रोनाल्डो । पर्यटकहरू नजिकै गएर फोटो खिच्दा पनि ऊ ढुक्क हुन्थ्यो । पर्यटकहरू पनि उसका लागि अभ्यस्त भइसकेका थिए ।
रोनाल्डो आफ्नै धुनमा हुन्थ्यो । पोथी हात्तीबाहेक अरूमा उसको खासै ध्यान जाँदैनथ्यो । बलियो, पोटिलो र अजंगको शरीर भएको रोनाल्डोले हात्ती प्रजनन केन्द्रको आसपासमा अरू जंगली भाले हात्तीलाई सहजै आउन दिँदैनथ्यो ।
एक हिसाबले प्रजनन केन्द्र रोनाल्डोको कब्जामा थियो । गोविन्दे र ध्रुवेजस्ता अन्य जंगली भाले हात्ती पनि रोनाल्डोको वरपर पर्ने आँट गर्दैनथे । २०८१ सालतिर दाह्रा नभएको ‘मकुना’ हात्ती खोरसोर पुगे पनि रोनाल्डोका अगाडि उसको जोर चलेन । त्यसपछि मकुना निजी रूपमा पालिएका घरपालुवा हात्तीतिर लाग्न थाल्यो ।
२०८१ माघमा सौराहामा असुरक्षा भएको भन्दै सैनिक तथा निकुञ्जका कर्मचारीहरूले मकुनालाई धपाएर निकुञ्जको कोर क्षेत्रमा लैजाने क्रममा सेनामाथि नै आक्रमण गर्न खोजेको भन्दै गोली हानेर मारियो ।
मकुनाको इतिहास निकै छोटो रह्यो । उसले चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि कुनै मानवीय वा भौतिक क्षति गरेको थिएन । तर अल्पायुमै सेनाको गोलीबाट उसको ज्यान गयो ।

१२ वर्ष सौराहामा रोनाल्डोको ‘राज’
रोनाल्डोले पछिल्लो १२ वर्षयता सौराहास्थित हात्ती प्रजनन केन्द्रमा एकछत्र प्रभाव जमाएको थियो । पछिल्ला दुई महिनायता भने ऊ प्रजनन केन्द्र छाडेर जंगलतिर घुमिरहेको थियो ।
त्यही क्रममा २०८३ असोज २ गते राति बरण्डाभार क्षेत्रमा रहेको नेपाली सेनाको नयाँ गोरखनाथ गणको सुरक्षा पोस्टमा लगिएको विद्युतको तार मुखमा परेको अवस्थामा उसको मृत्यु भयो ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार करिब १६ फिट अग्लो ठाउँबाट लगिएको तार हात्तीले सुँडले तानेर चपाउँदा करेन्ट लागेर ४५ वर्षको उमेरमा रोनाल्डोको मृत्यु भएको बताइएको छ ।
रोनाल्डो मरेको खबर फैलिएपछि धेरैले दु:ख व्यक्त गरे । ध्रुवे वा अन्य त्यस्तै बदनाम जंगली हात्ती मरेको भए मानिसहरूले यसरी दु:ख व्यक्त नगर्न पनि सक्थे । तर रोनाल्डोको अस्वाभाविक र अप्राकृतिक मृत्युले चितवन मात्रै होइन, देशभरका संरक्षणकर्मीलाई दु:खी बनाएको छ । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको परिचित हात्ती थियो ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार रोनाल्डोसँग आम समुदायको भावनात्मक सम्बन्ध जोडिएको थियो । उनले रोनाल्डोले हात्ती प्रजनन क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए ।
‘रोनाल्डो हाम्रो गौरव र चिनारी थियो, समुदायले नै यसलाई स्वीकार गरेको थियो । कहिलेकाहीँ गल्ती गरे पनि उसले माफी पाउँथ्यो,’ डा. लामिछाने भन्छन्, ‘रोनाल्डोले जति सम्मान सौराहामा अरू हात्तीले पाउँदैनन् । ध्रुवे कति बदनाम छ, गोविन्दे पनि उस्तै छ । तर रोनाल्डोको परिचय नै समाजमा फरक ढंगले विकास भएको थियो ।’

प्रजनन केन्द्रका लागि रोनाल्डोको योगदान
डा. लामिछानेका अनुसार हात्ती प्रजनन केन्द्रमा रोनाल्डो सबैभन्दा बलियो र राम्रो ‘ब्रिड’ भएको भाले हात्ती थियो ।
हात्ती प्रजनन केन्द्र स्थापना भएको सुरुआती १० वर्षमा खासै छावा नजन्मिएको स्मरण गर्दै डा. लामिछानेले रोनाल्डो आएपछि प्रजनन केन्द्रमा धेरै छावा जन्मिएको बताए । उनका अनुसार रोनाल्डोको मृत्युले प्रजनन केन्द्रमा असर पर्न सक्ने सम्भावना छ ।
निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवर पनि रोनाल्डोको ‘ब्रिड’ राम्रो भएको बताउँछन् । उनका अनुसार बलियो भाले हात्तीबाट प्रजनन गराउँदा बलिया छावा जन्मिने सम्भावना हुन्छ ।
‘सबैलाई जित्ने भनेको शारीरिक रूपमा बलियो भएर नै हो । बलियो हात्तीको ब्रिड पनि राम्रो हुने भयो,’ कुँवर भन्छन्, ‘हात्तीले बच्चा पाएपछि २०–३० मिनेटभित्र उभिएर हिँड्न सक्ने छावा जन्मिनुपर्छ भनिन्छ । पोथी हात्तीले पनि बलियो भालेसँग मात्रै संसर्ग गर्न रुचाउँछन् ।’
१० वर्षमा मानवीय क्षति गरेन रोनाल्डोले
जंगली भाले हात्ती ध्रुवेले गत असार २० गते पश्चिम चितवनको जगतपुरमा घरमै पुगेर दुई जना आमा–छोराको ज्यान लिएको थियो । ध्रुवे र गोविन्दे जति बदनाम छन्, तुलनात्मक रूपमा रोनाल्डो भने पछिल्लो एक दशकदेखि शान्त थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार रोनाल्डोले पछिल्लो १० वर्षमा कुनै मानवीय क्षति गरेको रेकर्ड छैन ।
‘पहिला मस्त युवा हुँदा रोनाल्डोले पनि मान्छे मारेको थियो । तर पछिल्लो १० वर्षमा कसैलाई पनि आक्रमण गरेको थिएन,’ थापामगर भन्छन्, ‘रोनाल्डो भलादमी थियो । उसको छुट्टै छाप र पहिचान बन्दै गएको थियो ।’
डा. लामिछानेका अनुसार रोनाल्डो सबैभन्दा बलियो भाले भएकाले ध्रुवे र गोविन्देले गर्न सक्ने सम्भावित क्षतिलाई पनि उसले रोक्दै आएको थियो । रोनाल्डोको मृत्युपछि यीमध्ये कुनै एक हात्तीले उसको स्थान लिन सक्ने र त्यसले प्रजनन केन्द्रमा घटना निम्त्याउन सक्ने भएकाले सचेत हुनुपर्ने उनको धारणा छ ।
‘हाम्रो परिवारको सदस्यजस्तै थियो’
हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख मनपुरन चौधरी रोनाल्डोको मृत्युबाट आफू विक्षिप्त बनेको बताउँछन् ।
‘ऊ जंगली भाले हात्ती हो तर हाम्रो परिवारको सदस्य, ज्वाइँजस्तै बनेको थियो । घरपालुवाजस्तै भएर उसले आफ्नो काम गरेको थियो,’ मनपुरन भन्छन्, ‘मैले बोलाएको बुझेर रेस्पोन्स गर्दथ्यो । हामीले बनाएको कुचीसमेत उसलाई दिन्थ्यौँ, खान्थ्यो । तर ध्रुवे र गोविन्देसँग त्यो आत्मीयता छैन । तिनले हामीलाई पाए सिध्याउँछन् ।’
रोनाल्डो प्रजनन केन्द्रमा रहँदासम्म अरू जंगली हात्ती आउने सम्भावना कम भएकाले आफूहरू ढुक्क हुने गरेको मनपुरन बताउँछन् ।

‘दुई महिनाअघिसम्म यतै थियो । किन गएको होला त्यता ? बरु यतै बसेको भए यस्तो दिन देख्नुपर्ने थिएन । कस्तो ठूलो क्षति भयो,’ उनी भन्छन् ।
मनपुरनका अनुसार रोनाल्डोले हात्ती प्रजनन केन्द्र र देशलाई ठूलो योगदान दिएको छ । केन्द्रमा हुर्किएका ७१ वटा हात्तीका सन्तानमध्ये आधाजति रोनाल्डोका मात्रै बच्चा रहेको र थप तीन वटा हात्तीको पेटमा रोनाल्डोका बच्चा रहेको उनले बताए । रोनाल्डोले मात्रै देशका लागि झन्डै २ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दिएको उनको दाबी छ ।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले छावासहित ५८ वटा हात्ती छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषमा पाँच वटा र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती छन् ।
सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा नौ वटा माउ हात्ती र सात वटा छावा छन् । अहिले खोरसोरमा रहेका सात छावामध्ये छ वटा रोनाल्डोका सन्तान हुन् । खोरसोरमा बर्सेनि चार–पाँच वटा छावा रोनाल्डोकै हुने गरेका थिए । मनपुरनका अनुसार गोविन्देका एक र ध्रुवेका सात वटा छावा छन् ।
२०४४ सालमा स्थापना भएको खोरसोरमा २०५० सालपछि मात्रै छावा जन्मिन थालेका हुन् ।
करेन्ट लागेरै मरेका थिए रोमियो र रोनाल्डो
पचासको दशकमा चितवन राष्ट्रिय निकुञ्जमा ‘रोमियो’ नामको जंगली भाले हात्तीको रजगज थियो । पछि रोनाल्डो खोरसोरका लागि भरपर्दो भालेका रूपमा उदायो ।
केही वर्षपछि ‘नाना पाटेकर’ नामको जंगली हात्ती देखापर्यो । त्यतिबेला बलिउडमा नाना पाटेकर लोकप्रिय थिए । उनैको नामबाट उक्त हात्तीको नाम राखिएको थियो । नाना पाटेकरले प्रजनन केन्द्रमा रहेको पोथी हात्तीलाई हानेर मारेपछि भागेको थियो । निकुञ्जको खगेन्द्रमल्ली पोस्टतिर बस्ने नाना पाटेकर त्यसपछि बेपत्ता भयो र फेरि आएन ।
रोमियो र रोनाल्डो साथी जस्तै थिए । रोमियो ठूलो र उमेरले जेठो भएकाले रोनाल्डो उसलाई डराउँथ्यो । कहिलेकाहीँ दुवै सँगै पनि हुन्थे । त्यतिबेला रोनाल्डोका दाह्रा छोटा थिए ।
वि.सं. २०६४ असोज २८ गते प्रजनन केन्द्रको पछाडिको गेट नजिकै करेन्ट लागेर रोमियोको मृत्यु भयो ।
रोमियो र नाना पाटेकरपछि २०७० सालबाट चितवन निकुञ्जमा रोनाल्डोको प्रभाव बढ्न थाल्यो । अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलका खेलाडी रोनाल्डोको चर्चा चुलीमा पुगेका बेला यो जंगली हात्तीको नाम पनि रोनाल्डो राखिएको थियो । छिटो दौडिने र फूर्तिलो स्वभाव भएकाले तत्कालीन ब्राजिलियन फुटबल खेलाडी रोनाल्डोसँग तुलना गर्दै गाइडहरूले हात्तीको नाम ‘रोनाल्डो’ राखेका थिए ।

२०६४ सालमा रोमियो करेन्ट लागेर मरेजस्तै रोनाल्डोको पनि करेन्ट लागेर मृत्यु भयो ।
रोनाल्डोसँग प्रतिस्पर्धा गर्न एकपटक दाह्रा नभएको भाले जंगली हात्ती ‘मकुना’ पनि खोरसोर पुगेको थियो । मकुनाको पनि रोनाल्डोकै जस्तै दु:खान्त भयो । सेनाको गोली लागेर २०८१ माघमा मकुनाको मृत्यु भयो ।
रोनाल्डो र मकुना दुवैको मृत्यु नेपाली सेनासँग जोडिएको छ । मकुनाले सेनाको गोली खाएको थियो भने रोनाल्डोले सेनाको पोस्टमा लगिएको बिजुलीको तार ।

माडीमा वर्षौं विद्युत् रोकेको निकुञ्जले सैनिक पोस्टमा तार किन राख्यो ?
सेनाको पोस्टमा लगाइएको बिजुलीको तार तानेर चपाउँदा रोनाल्डोको मृत्यु भएपछि माडीका स्थानीय बासिन्दाले निकुञ्जमाथि प्रश्न उठाएका छन् ।
भरतपुरबाट माडीमा विद्युत् लैजाँदा जंगली जनावरलाई असुरक्षा हुने भन्दै वर्षौंसम्म माडीलाई अन्धकारमा राखेको निकुञ्जले सैनिक पोस्टमा भने किन विद्युतको तार लगायो भन्ने प्रश्न माडीवासीको छ ।
माडीका सन्तोष पनेरुले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका छन्, ‘माडीमा किसानले खेतबाली जोगाउन तारमा करेन्ट लगाउँदा गैँडा मरेमा जेल हाल्नेहरूले निकुञ्जको सैनिक पोस्टमा लगेको तारबाट करेन्ट लागेर हात्ती मर्दा सम्बन्धित व्यक्ति वा निकायलाई मुद्दा चलाउन पर्छ कि पर्दैन ?’ माडीमा जंगली जनावरलाई असर गर्छ भन्ने कारण देखाउँदै विद्युत् तार भूमिगत माध्यमबाट लगिएको छ ।
हात्ती आफैंमा जिज्ञासु स्वभावको हुने भएकाले हात्तीले नभेट्ने गरी बिजुलीका तार राख्नुपर्ने हात्ती विज्ञ डा. अशोककुमार राम बताउँछन् ।
‘जंगलमा कुनै नयाँ चिज देखेपछि यो के हो, कसो होला भनेर हात्तीले हेर्ने, बुझ्ने र सुँघ्ने गर्छ । हात्ती बुद्धिमान प्राणी पनि हो,’ डा. राम भन्छन्, ‘विद्युतको कालो तार देख्दा उसलाई यो के हो, कसरी आयो भन्ने जिज्ञासाले तानेको पनि हुन सक्छ । यो एउटा शिक्षाका रूपमा हामीले लिनुपर्छ र तत्कालै हात्तीले नभेट्ने गरी विद्युतका संरचना राखिनुपर्छ ।’
धरापमा हात्ती
नेपालमा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मानवीय गतिविधि तथा मानव–हात्ती द्वन्द्वका कारण हात्तीहरू मारिने क्रम हरेक वर्ष जारी छ ।
२०८३ भदौ ३१ गते झापाको मेचीनगर नगरपालिका–३, तेलपानीस्थित धानबारीमा एक जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको थियो ।
विद्युतीय धराप वा विषादी प्रयोग गरेर मारिने हात्तीमध्ये अधिकांश जंगली भाले हात्ती हुने संरक्षणकर्मीहरूको भनाइ छ । तराईका क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा हात्तीका जैविक मार्गसमेत प्रभावित हुँदै गएका छन् ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार झन्डै दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११–१२ वटा मारिँदै गएका छन् । यदि यस्तै अवस्था जारी रहे भविष्यमा हात्ती लोप हुने अवस्था आउने उनको चिन्ता छ ।
‘इलिफेन्ट इकोलोजी’मा पीएचडी गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार राम पनि भाले हात्तीहरू मारिँदै जाँदा भविष्यमा प्रजननमा संकट आउन सक्ने बताउँछन् ।
पछिल्लो १५ वर्षमा ५८ वटा हात्ती मानवीय कारणबाट मारिएको बताउँदै उनले भने, ‘हामीले सौराहामा प्रजनन केन्द्र त खोलेका छौँ, निजी हात्तीलाई पनि भाले हात्तीले प्रजनन गराउँछन् । मानौँ, एक दिन यी जंगली भाले हात्ती नै भएनन् भने प्रजनन केन्द्रको के अर्थ रहन्छ ?’
‘हात्तीलाई निहित स्वार्थका लागि मार्नु सरासर गलत छ । यसले हाम्रो पर्यावरण र जैविक प्रणालीमा नै असर गर्छ,’ उनले भने ।

भाले हात्ती किन लामो दूरी हिँड्छन् ?
डा. रामका अनुसार जंगली हात्ती समाजमा बस्छन् र समूहको नेतृत्व प्राय: हजुरआमा स्तरको पोथी हात्तीले गर्छ । समूहका भाले हात्तीलाई इनब्रिडिङबाट जोगाउन पोथी हात्तीले आफ्नै समूहका भालेसँग प्रजनन गर्न दिँदैनन् । अन्य समूहबाट आएका ठूला र बलिया भाले हात्तीले मात्रै समूहका पोथी हात्तीसँग प्रजनन गर्ने गर्छन् ।
‘इनब्रिडिङ हुँदा हात्तीको बच्चा लुलो–लंगडो हुने सम्भावना हुन्छ । जन्मिएको ३० मिनेटभित्रै हात्तीको बच्चा हिँड्न सक्ने हुनुपर्छ । बच्चा बलियो हुनुपर्ने भएकाले इनब्रिडिङ रोक्न हजुरआमा हात्तीले समूहका अन्य हात्तीलाई प्रजनन गर्न दिँदैन,’ उनी भन्छन् ।
प्रजनन गर्न नपाउने भएपछि कतिपय युवा भाले हात्तीलाई समूहबाट निकालिदिने गरेको पाइएको डा. राम बताउँछन् । हात्तीको समूह ठूलो हुँदै गएमा खानेकुराको अभावका कारण पनि समूह विभाजित हुने गर्छ ।
एउटा हात्तीलाई दैनिक १५० देखि २०० केजीसम्म घाँसपात, बोक्रालगायतका आहार आवश्यक पर्ने उनी बताउँछन् ।
‘ठूलो समूहमा पर्याप्त खानेकुरा नहुँदा हात्तीहरू छुट्टाछुट्टै समूहमा हिँड्ने गर्छन् । तर उनीहरूको सञ्चार सम्पर्क १५–२० किलोमिटरसम्म हुन्छ । सम्झन सक्ने क्षमता पनि अधिक हुन्छ,’ डा. राम भन्छन्, ‘समूहबाट अलग भएका वा निकालिएका भाले हात्तीहरू लामो दूरी पार गरेर पोथी हात्ती खोज्दै हिँड्छन् । अहिले सौराहामा यसरी नै आएका जंगली भाले हात्तीले प्रजनन गरेका छन् ।’
लामो दूरीमा ‘जिन ट्रान्सफर’ गर्न हिँड्ने यस्ता भाले हात्ती नै सबैभन्दा बढी जोखिममा हुने उनको भनाइ छ ।
उनका अनुसार २०६७ देखि २०७४ सम्म झापा, पर्सा र चितवन करिडोरमा १७ वटा जंगली हात्ती आएका थिए । तीमध्ये १६ वटा मारिएका छन् । २०७७ देखि २०८० सम्म यही रुटबाट पाँच वटा भाले हात्ती सौराहातिर आएका थिए । तीमध्ये यमगज नामको हात्ती रौतहटसम्म तथा मकुना र दारे नामका जंगली भाले हात्ती चितवनसम्म आएका थिए ।
‘हात्तीको बाटोमा अतिक्रमण गरेर खेती लगाएका तथा संरचना बनाएका मानिसले विभिन्न तरिकाले जंगली भाले हात्तीलाई जिस्काउने गरेका छन् । राँको बाल्ने, ढुंगा र भालाले हान्ने, गोली र छर्रा हान्ने, डोजर लगाएर आक्रमण गर्ने, करेन्ट लगाउने तथा दाह्राका लागि मार्ने जस्ता गतिविधिले बर्सेनि हात्तीहरू मर्दै गएका छन्,’ डा. रामले भने ।
प्रजनन केन्द्रको भविष्यमा प्रश्न
निकुञ्जभित्र पनि भाले हात्ती छन् । तर निकुञ्जमै पालिएका भाले हात्तीबाट प्रजनन गराइँदैन । प्रजनन गराउँदा भाले हात्ती पल्किएर काममा लगाउन नसकिने, माहुतेसँग रिसिइबी साँधेर आक्रमण गर्न सक्ने तथा इनब्रिडिङको खतरा हुने निकुञ्जका अधिकारीहरू बताउँछन् ।
जंगली हात्तीको संख्या घट्दै जाने हो भने कुनै दिन हात्ती प्रजनन केन्द्रकै अस्तित्वमाथि प्रश्न उठ्न सक्ने हात्तीविज्ञ डा. अशोककुमार राम बताउँछन् । ‘बेलैमा नसोचे भविष्यमा हात्ती लोप हुने खतरा नहोला भन्न सकिन्न,’ उनले भने ।
संरक्षणकर्मी डा. लामिछाने पनि बर्सेनि हात्ती मारिँदै जाने हो भने नेपालमा हात्ती हजारको नोटमा मात्रै सीमित हुने चेतावनी दिन्छन् ।
प्रतिक्रिया 4