+
+
Shares

इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ? 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्कमा धकेल्ने र इस्लामिक गणतन्त्र ध्वस्त पार्ने चेतावनी दोहोर्याए।
  • ट्रम्पले इरानलाई आणविक हतियार नदिन, आतंकवाद समर्थन रोक्न र विश्व समुदायबाट आर्थिक रूपमा एक्ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे।
  • ट्रम्पले क्युबाको कम्युनिस्ट सरकारलाई असफल राज्य भनेपछि इरानी र क्युबाली प्रतिनिधिमण्डलले महासभा हल छाडेका थिए।

७ असोज, काठमाडौं ।  गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सिङ्गो सभ्यतालाई नामेट पार्ने उनको चेतावनी थियो।  ‘आज राति एउटा पूरै सभ्यताको अन्त्य हुनेछ, जुन कहिल्यै फर्किएर आउने छैन। म त्यस्तो नहोस् भन्ने चाहन्छु, तर सम्भवतः त्यो हुनेछ,’ ट्रम्पले लेखेका थिए ।

ट्रम्पको उक्त चेतावनीलाई उनका आलोचकहरूले त यसै मन पराएनन् । उनका समर्थकहरू पनि राम्रो दृष्टिबाट हेर्न सकेनन् । उनको पक्षमा अनवरत बोलिरहेका सञ्चारकर्मीहरू पनि उनको विरोधमा बोल्न बाध्य भएका थिए । तर प्रशासनका अधिकारीहरूले भने उनको कथनलाई तेहरानलाई सम्झौता गर्न बाध्य पार्ने एउटा वार्ताको रणनीति मात्र भएको बताएका थिए।

ट्रम्पको उक्त प्रसंग समयक्रममा सामसुम भएको थियो । तर हिजो संयुक्त राष्ट्र संघमा बोल्ने क्रममा उनले फेरि त्यही आशयको भनाइ दोहोर्याए । संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा उनी इरानमाथि निकै बर्बरताका साथ प्रस्तुत भए । रूखोसुखो भाषण गरे । उनले इरानलाई लक्षित गर्दै भने, ‘के म उनीहरूलाई बाँच्ने कुनै सम्भावना नै नरहने गरी नर्कमा धकेलिदिऊँ?’

ट्रम्पले इरानसँग सम्झौता गरेर उसलाई पुनर्निर्माण गर्दै पहिलेभन्दा समृद्ध र बलियो राष्ट्र बन्ने अवसर दिने वा ‘इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने’ भन्ने विषयमा प्रश्न उठाएका छन्।

यद्यपि, ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको परिणाम कुरेर इरान बसेको छ। ‘उनीहरूले एउटा कुरा बुझेका छैनन्– म चुनाव लडिरहेको छैन,’ ट्रम्पले भने। उनले आफूले राष्ट्रपतिको निर्वाचन ‘ठूलो अन्तरले’ जितिसकेको दाबी गर्दै नोभेम्बरको मध्यावधि निर्वाचनको परिणामले इरानप्रतिको आफ्नो नीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पारे।

यसबाहेक उनले इरानी शासनविरुद्ध अन्य आक्रामक टिप्पणी गरेका छन्। इरानलाई लामो समयसम्म शक्ति सञ्चय गर्न दिइएकाले नै समस्या जटिल बनेको उल्लेख गर्दै तेहरानबाट हुने सम्भावित आतंक रोक्न अमेरिकाले सैन्य कदम चालेको दाबी गरे।

उनका अनुसार, ब्यालिस्टिक मिसाइलको ढाल बनाएर आणविक बम निर्माण गर्ने इरानको प्रयासलाई अमेरिकाले असफल पारिदिएको छ। यदि इरान आफ्नो उक्त योजनामा सफल भएको भए त्यस शासनले मध्यपूर्वका साथै विश्वभर सधैं आतंक, हिंसा र अराजकता फैलाउन छुट पाउने उनको तर्क थियो।

इरानी सत्ताले विगत ५१ वर्षदेखि रक्तपात र सामूहिक हत्याको माध्यमबाट शासन सञ्चालन गरिरहेको आरोप लगाउँदै ट्रम्पले अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने प्रतिबद्धता जनाए। राष्ट्रपति पद सम्हालेलगत्तै आफूले इरानसँग वार्ताको पहल गरेको र आणविक कार्यक्रम अन्त्य गर्नुका साथै आतंककारी गतिविधिलाई सहयोग नगर्ने सर्तमा पूर्ण आर्थिक सहकार्यको प्रस्ताव राखेको भए पनि इरानले त्यसलाई अस्वीकार गरेको उनले बताए।

सम्बोधनका क्रममा ट्रम्पले इरानलाई आर्थिक रूपमा पूर्ण रूपमा एक्ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। इरानले व्यावसायिक पानीजहाजमाथि गर्ने आक्रमण रोक्न, आणविक महत्त्वाकांक्षा त्याग्न र आतंकवादलाई दिँदै आएको समर्थन बन्द नगरेसम्म उसलाई विश्व समुदायबाट अलग राख्नुपर्ने सर्त उनले अघि सारे। इरानी सत्ताको वर्तमान आक्रामक व्यवहार उसको आत्मविश्वासी स्थितिको उपज नभई कमजोर र निराश मानसिकताको परिणाम भएको दाबीसमेत उनले गरे ।

***

ट्रम्पले आफ्नो प्रशासनको नीति सार्वजनिक गरिरहँदा इरान र क्युबाका प्रतिनिधिमण्डलले महासभा बहिष्कार गर्दै सभाहलबाट बाहिरिएका थिए ।

ट्रम्पले पछिल्लो छ महिनामा इरानविरुद्ध भएका अमेरिकी सैन्य कारबाहीबारे बोल्न थालेपछि इरानी प्रतिनिधिमण्डलका सदस्यहरू महासभा हलबाट बाहिरिए। राष्ट्रपतिले आफ्नो भनाइ जारी राख्दासम्म केवल एक जना इरानी प्रतिनिधि मात्र हलमा बसिरहेका थिए।

इरानी राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अरागची वार्षिक संयुक्त राष्ट्रसंघको बैठकका लागि न्युयोर्कमा भए पनि ट्रम्पको सम्बोधनका क्रममा महासभा हलमा उपस्थित थिएनन्। ट्रम्पले सम्बोधन सुरु गरेको करिब १० मिनेटपछि तल्ला स्तरका अधिकारी र प्रतिनिधिहरू हलबाट बाहिरिएका थिए।

इरानी विदेशमन्त्री अरागचीले पनि महासभा वरपरका कूटनीतिक संलग्नताहरू अघि विश्वासको मुद्दालाई उजागर गरेका थिए । ‘यी देशहरूको प्रभावमा रहेको संस्थामा कुनै पनि विश्वास बाँकी नरहनु स्वाभाविक हो। त्यसैले, एउटा महत्त्वपूर्ण विषय विश्वासको पुनर्बहाली हो, र संयुक्त राष्ट्रसंघप्रतिको विश्वास कसरी गुम्यो र यसलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्नेबारे विश्वसँग कुरा गर्ने यो एउटा राम्रो अवसर हो,’ अरागचीले भने ।

सम्बोधनका क्रममा ट्रम्पले क्युबाको कम्युनिस्ट सरकारतिर ध्यान केन्द्रित गर्दै त्यो ठूलो दबाबको सामना गरिरहेको बताएपछि क्युबाली प्रतिनिधिमण्डलले पनि सभाहल छाडेको थियो।

‘मेरो प्रशासन क्युबाको स्थितिमा पनि मौलिक परिवर्तन चाहन्छ, जहाँ कम्युनिस्ट शासन इतिहासकै सबैभन्दा ठूलो दबाबमा छ। यो पूर्ण रूपमा असफल भइसकेको राज्य हो,’ ट्रम्पले भने। ‘यो पहिले कहिल्यै नभएको जसरी असफल भइरहेको छ, र यो ढल्नेछ,’ उनले थपे।

ट्रम्पले ‘क्युबामा स्वतन्त्रता आउनेछ’ भन्दै क्युबाली सरकारले अमेरिकामा विपक्षी गतिविधिलाई प्रोत्साहन गरेको आरोप पनि लगाए।

ट्रम्प प्रशासनले हवानाविरुद्धको दबाबलाई उल्लेखनीय रूपमा बढाएको छ। गत जनवरीमा अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि उसले क्युबामाथि प्रभावकारी तेल नाकाबन्दी लगाउँदै भेनेजुएली कच्चा तेलमा क्युबाको पहुँच सीमित गरिदिएको थियो।

बर्नी स्यान्डर्सका पूर्व वैदेशिक नीति सल्लाहकार तथा सेन्टर फर इन्टरनेसनल पोलिसीमा आबद्ध म्याट डसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पका धम्कीहरू ‘भयानक र असन्तुलित’ भएको र त्यसलाई अस्वीकार गरिनुपर्ने बताएका छन्।
‘यस्तो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण मात्र नभई एउटा सम्पूर्ण राष्ट्रविरुद्धको नरसंहारको आपराधिक धम्की हो,’ डसले लेखेका छन्। ‘अमेरिकी सांसदहरू र विश्वभरका अमेरिकी साझेदारहरूले ट्रम्पका भनाइको भर्त्सना गर्नुपर्छ।’

फेब्रुअरीमा पहिलो अमेरिकी-इजरायली हमला भएयता मारिएका हजारौँ मानिसहरू र खाना, पानी तथा ऊर्जाजस्ता अत्यावश्यक सुविधा निरन्तर ध्वस्त भइरहेका समुदायहरूले नै सबैभन्दा भयानक परिणाम भोगेका छन्। तर ट्रम्पको सम्बोधनमा उनीहरूको उल्लेख पूर्ण विनाशको धम्कीबाहेक अरू केहीमा भएन ।

न्यूजर्सीका डेमोक्रेट सिनेटर एन्डी किमले ट्रम्पलाई एकातिर आफूलाई शान्तिको राष्ट्रपति भनेर प्रस्तुत गर्ने र अर्कोतिर कुनै राष्ट्रलाई नै पूर्ण रूपमा विनाश गर्न सक्ने दाबी गर्ने भन्दै आलोचना गरेका छन् । उनको व्यक्तित्वको मूल्य अमेरिकी जनताहरूले चुकाइरहेको कुरालाई पनि उल्लेख गरेका छन् ।

‘ट्रम्प विश्वसामु आफूलाई अपमानित गर्ने कुनै पनि मौका गुमाउँदैनन्,’ किमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानमा उनको युद्ध पूर्ण रूपमा असफल भएको छ, र यसको मूल्य अमेरिकी जनताले चुकाइरहेका छन्।’
फ्रान्सको राष्ट्रपतिका रूपमा अन्तिम पटक संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इमानुएल म्याक्रोनले ‘जङ्गलको नियम’ अनुसार चल्ने विश्व निर्माण गर्न खोज्नेहरूविरुद्ध राष्ट्रसंघलाई एउटा बलियो पर्खालका रूपमा उभिन आग्रह गरेका थिए ।

‘हामीसामु रहेको प्रश्न – के हामी प्रकृति/प्रवृत्तिको यही अवस्थामा जङ्गलको नियमतर्फ फर्किएर बाँच्न चाहन्छौँ वा एउटा सभ्य अन्तर्राष्ट्रिय समाजमा?’ म्याक्रोनले भने, ‘हाम्रो साझा हितमा ठ्याक्कै के छ भन्ने कुरा संयुक्त रूपमा तय गर्नका लागि राष्ट्रसंघको पक्षमा दृढतापूर्वक उभिनु अहिलेको समयमा हाम्रो कर्तव्य हो।’

राष्ट्रसंघको बिदाइ सम्बोधनमा म्याक्रोनले ट्रम्पको गाजा कूटनीतिको आलोचना गरेका थिए । जसलाई उनले सबैलाई लज्जित तुल्याउने दृश्यको संज्ञा दिएका थिए। म्याक्रोनले ट्रम्पको नाम प्रत्यक्ष नलिए तापनि धेरै विश्लेषकहरूले यसलाई ट्रम्पको नीतिप्रति अप्रत्यक्ष आलोचना मानेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?