+
+
Shares

वर्षाका कारण ७० मेगावाटको मध्य-मर्स्याङ्दीमा विद्युत् उत्पादन रोकियो

रासस रासस
२०८३ असोज १० गते १७:१२

१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ ।

लमजुङको ७० मेगावाट क्षमताको यो आयोजनामा शनिबार विद्युत् उत्पादन बन्द गरी टर्बाइनको सफाइ थालिएको हो ।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो ।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मर्स्याङ्दी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढी आउन थालेपछि विद्युत् उत्पादनमा असर पर्नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिएर आयोजना ‘सटडाउन’ गरिएको हो ।

‘नदीमा पानीसँगै बालुवा धेरै आइरहेको छ । यसले टर्वाइनमा असर पार्नसक्ने भएकाले आज दिउँसोदेखि आयोजना ‘सटडाउन’ गरेर दुईवटै टर्वाइनमा बालुवा सफाइको काम सुरु गरेका छौँ’, उनले भने ।

उनका अनुसार टर्वाइनको बालुवा सफाइको काम सम्पन्न गर्न कम्तीमा चारदेखि पाँच घण्टा लाग्नेछ । सफाइको काम सकिएपछि अवस्था हेरेर विद्युत् उत्पादन पुन:सञ्चालन गरिनेछ ।

मध्य–मर्स्याङ्दी लमजुङमा निर्माण भएको पहिलो ठूला जलविद्युत् आयोजना हो । आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइनबाट कुल ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले पनि आज बिहान करिब तीन घण्टा विद्युत् उत्पादन बन्द गरी दुवै टर्बाइनको सफाइ गरेको छ ।

आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार २५/२५ मेगावाट क्षमताका दुवै टर्बाइन खोलेर पानी निकाली बालुवा सफाइ गरिएको हो ।

‘मर्स्याङ्दीमा बालुवा धेरै आएको र त्यसले गर्दा टर्वाइनमा जोखिम बढ्नसक्ने भएकाले करिब तीन घण्टा विद्युत् बन्द गरेर दुवै टर्वाइन खोली पानी निकालेर बालुवा सफाइ गरेका हौँ’, उनले भने ।

सफाइको काम सम्पन्न भएपछि अहिले विद्युत् उत्पादन पुन:सञ्चालनमा आइसकेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?