News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ गायिका मीरा राणाले ६१ वर्षदेखि गीत गाएको र गीत गाएर एक पटक मात्र पैसा लिएको बताइन् ।
- टीकाथलीको सरु संगीत घरले राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ प्रदान गर्यो ।
- राणाले क्यान्सर पीडित भएको र क्यान्सर न्यूनीकरण तथा पीडित सहयोगमा काम गर्नुपर्ने बताइन् ।
काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफूले गीत गाएर ६१ बर्ष पूरा गरेको र गीत गाएर पैसा नलिएको बताएकी छन् ।
टीकाथलीस्थित सरु संगीत घरले हरेक बर्ष प्रदान गर्दै आइरहेको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ ग्रहणपछि बोल्दै उनले आफूले ७५ बर्ष उमेर टेकेको र ६१ बर्ष संगीतमा विताएको स्मरण गरिन् । उनले गीत गाएर एक पटक मात्र पैसा लिएको जानकारी दिइन ।
‘मैले गीत गाएर पैसा लिएको छैन । एक पटक शम्भुजीत बासकोटाले एकेडेमीमा गीत गाउँदा तीन हजार मोल दिनुभएको थियो । तर म आफूपनि क्यान्सर पीडित पनि भएकाले मीरा राणा क्यान्सर समाज स्थापना गरेको छु । र प्राप्त गरेको पैसा त्यही समाजमा राख्ने गरेको छु’, उनले भनिन् ।
समारोहमा उनले आमाको महत्वबारे प्रष्ट पार्दै क्यान्सर रोग न्यूनीकरणमा काम गर्नुपर्ने र क्यान्सर पीडितहरुलाई सहयोग गर्नुपर्ने धारणा राखिन ।
‘म पनि क्यान्सर पीडित हुँ, बेलायत गएर उपचार गरें । २०२१ मा शल्यक्रिया भयो । त्यसपछि स्वस्थ छु । क्यान्सर भन्ने बित्तिकै आत्मा नै मरेजस्तो हुन्छ, तर त्यस्तो होइन रहेछ, आत्मबल बलियो बनाउनुपर्ने रहेछ’ उनले भनिन् ।
नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पुर्याएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा वरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे ।
संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको हो ।
राणा यो पुरस्कार प्राप्त गर्ने दोस्रो स्रष्टा हुन् । पहिलोपटक २०८२ सालमा लोकगायिका कविता आलेलाई पुरस्कार प्रदान गरिएको थियो । सरु संगीत घरका संस्थापक डेनी निरौलाले आफ्नी आमाको स्मृति र सम्मानमा पुरस्कार कोष स्थापना गरेको बताए ।
नेपाल न्युज बैंकबाट ।
प्रतिक्रिया 4