+
+
Shares
नाटक :

लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज

करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।

सापेक्ष सापेक्ष
२०८३ असोज ११ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको ‘श्री बिज्जो भूत’ ले सुदूरपश्चिम डडेल्धुराको निङलाड र गौरीको जीवनयात्रामार्फत लोकविश्वास र सामाजिक यथार्थ देखाएको छ।

अहिले थापागाउँस्थित मण्डला थिएटरको मञ्चले दर्शकलाई सीधै सुदूरपश्चिम डडेल्धुराको निङलाड पुर्‍याउँछ । कारण हो – श्री बिज्जो भूत । हाल मञ्चन भइरहेको यो नाटकले सुदूरपश्चिमको कथा भन्छ । 

यो नाटक गौरीको नजर, अनुभूति र जीवनयात्राको दृष्टिकोणबाट देखाइएको छ । गाउँको अभाव र २० वर्षदेखि हराइरहेका बुबाको पर्खाइका बीच हुर्किएकी सोझी र अबोध युवती हुन्छे गौरी । उसको घरमा बुढ्यौली लाग्दै गरेकी आमा छिन् । आमा मुलत: घरको काम गर्छिन् भने गौरी गोठाले जाने यस्तै यस्तै…

एक दिन भारतको बम्बईमा बुबा भेटिएको खबर बोकेर गाउँमा हरि आइपुग्छ । हरि बम्बईमा ड्राइभरको काम गर्ने केटो हो । उसको कुरासँगै गौरीलाई बुबा भेटिने आशा पलाउँछ । अर्कोतिर, सोही समयमा गौरी आफ्नो प्रेमी लाहुरेलाई कुरिरहेकी हुन्छे । 

तर, गौरीलाई बुबालाई भेट्ने इच्छा तीव्र हुन्छ । त्यसपछि ऊ हरिसँगै बम्बई जाने सोच्छे ।

त्यसपछि के गौरीले बुबालाई भेट्छे ? हरिले गौरीलाई कतै झुक्काएको पो हुन्छ कि ? लाहुरेलाई के हुन्छ ? यता आमालाई के हुन्छ ? गौरी स्वयंलाई के हुन्छ ?

यी यावत् प्रश्नहरूको उत्तर नै नाटकको बाँकी कथा हो ।

विषयवस्तु

सबैभन्दा पहिले नाटकमा लिइएको मिथकलाई बुझौं । 

श्री बिज्जो भूत अथवा श्री बिजु दा सुदूरपश्चिमतिर वर्षौंदेखि चलिआएको लोकविश्वास र सांस्कृतिक मिथक हो । विशेषत डडेल्धुराको निङलाड क्षेत्रमा यो अलि प्रख्यात छ । तर यसलाई डराउने वा हानि पुर्‍याउने भूतका रूपमा भने लिइँदैन । उल्टै बिज्जो भूतलाई सत्य, न्याय र रक्षाका संरक्षक देवता मानिन्छ । 

जङ्गल वा यात्राका क्रममा उनलाई सम्मान गर्ने, बिडी वा नयाँ बाली (अन्न/फलफूल) चढाउनेहरूको उनले रक्षा र भलो गर्ने जनविश्वास छ । यसका साथै बिज्जो भूतको क्षेत्रमा पुगेपछि कपट, असत्य वा नराम्रो कर्म गर्नेहरू उम्किन सक्दैनन् भन्ने समेत विश्वास छ ।

यही लोकविश्वासलाई मुख्य बिम्ब र आधार बनाएर यो नाटक तयार भएको हो ।

यसो हुनाले सुदूरपश्चिमको सांस्कृतिक पृष्ठभूमि, वैदेशिक रोजगारीले भत्काएको त्यहाँको सामाजिक पारिवारिक यथार्थ र लोकविश्वासको आडमा उभिएको स्त्री अस्तित्वको खोज नाटकको मुख्य विषयवस्तुको रुपमा आएको छ ।

नाटकको अर्को महत्त्वपूर्ण विषयवस्तु पुरुष प्रधान समाजको दोहोरो मापदण्ड र स्त्री अस्तित्वको स्वाधीनता हो । ५ वर्षपछि पल्टनबाट फर्केको लाहुरे प्रेमी धिरुले गौरीको आत्मसम्मान र निष्ठामाथि शंका गर्दा यो कुरा मञ्चमा देखिन्छ ।

वर्षौंसम्म बेपत्ता हुने पुरुषहरू सधैं निर्दोष ठहरिने, तर घरमा उनीहरूकै बाटो हेरेर बस्ने महिलाहरूले सधैं निष्ठाको परीक्षा दिइरहनुपर्ने सामाजिक सोचलाई गौरीको पात्रमाफर्त देखाइएको छ । यसरी एउटी अबोध केटीबाट आफ्नै आत्मसम्मान र पहिचानका लागि उभिने आत्मनिर्भर स्त्री बन्ने गौरीको यात्रा नै यस नाटकको मूल वैचारिक विषयवस्तु हो ।

पात्रहरूको आन्तरिक यात्रा 

नाटकको सबैभन्दा सबल र विचारोत्तेजक पाटो भनेको मुख्य पात्र गौरीको मनोवैज्ञानिक रूपान्तरण हो ।

सुरुवाती दृश्यहरूमा गौरी एउटी अत्यन्तै भावुक, अबोध र बुबाको खोजीमा हरिको भ्रमपूर्ण आश्वासनमा सजिलै विश्वास गर्ने सोझी गाउँले केटीका रूपमा देखा परेकी छिन् । तर, जब हरिको कर्तुत बाहिर आउँछ, जब प्रेमी धिरुले गौरीको उद्धार गर्नुको साटो उसको पवित्रता र निष्ठामाथि औंला उठाउँछ, त्यसपछि गौरीको पात्र पूर्णत परिवर्तन भएको छ । 

यसैपछि गौरीले समाजको दोहोरो मापदण्डमाथि भीषण साक्ष्य तेर्स्याउँछे – पुरुष मान्छेहरू कहिल्यै गलत हुँदैनन् ? वर्षौंसम्म कसैलाई कुरेर बस्दा उसमाथि के बित्छ, त्यो कसैले देख्दैन ।

त्यति मात्र होइन, पछि गौरीले धिरु र हरि दुवै पुरुषवादी संरचनाका प्रतिनिधिहरूलाई पूर्णतः अस्वीकार गर्छे । यसरी एउटा भावुक दुखान्तबाट उठाएर स्त्री स्वाधीनता र आत्म साक्षात्कारको उचाइमा नाटकले पात्रलाई पुर्‍याएको छ ।

तर, अर्कोतिर गौरी र उसको लाहुरे प्रेमीको सम्बन्ध, आमासँगको सम्बन्ध भने त्यति खुलेको छैन । यसले गर्दा नाटक केही नाटकीय नै बन्न गएको छ ।

रङ्गशिल्प र प्रस्तुति

करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् । नाटकमा प्रयुक्त स्थानीय भाषा, लवज र संवादले दर्शकलाई कथासँग जोडिरहन्छ ।

मञ्चमा सौरभ चालिसे, जीवन राई र हरिना नाथको प्रत्यक्ष संगीत, देउडा भाका र गौरा फागका धुनहरूले दृश्यको भाव सघनतालाई अझ गहिरो र मार्मिक बनाएका छन् । सुदूरपश्चिमकै माटोबाट आएका नयाँ तथा अनुभवी कलाकारहरूको स्वाभाविक र जीवन्त अभिनयले नाटकमा प्रामाणिकता भरेको छ ।

विधागत रुपमा यो नाटक मेलोड्रामा र आञ्चलिक सामाजिक यथार्थवादको सन्तुलित सम्मिश्रण हो । पर्खाइको गम्भीर विषयवस्तु बोकेको भए तापनि नाटकमा सुदूरपश्चिमको ठेट स्थानीय लवज र आञ्चलिक ठट्टा मार्फत प्रसस्त हास्यरस भरिएको छ । 

विशेष गरी सरकारी जागिरको अहंकार देखाउने टेके र काकी बीचको नोकझोक, जडीबुटी तथा सिलाजीत बेच्ने भगतसिंह धानीको रमाइलो बोलीचाली अनि जङ्गलको यात्रामा भेटिने यात्रुहरू बीचका हाँस्य संवादहरूले नाटकलाई निकै मनोरञ्जक बनाएका छन् । 

यसरी मेलोड्रामाका भावुक क्षण र चुलबुले हाँस्यप्रद प्रसङ्गहरूको सुन्दर सन्तुलन मिलाउँदै नाटकले दर्शकलाई एकातिर मज्जाले हँसाउँछ भने अर्कातिर अन्धविश्वास र पितृसत्तात्मक सोचमाथि गम्भीर प्रश्न तेर्स्याउँछ ।

प्राविधिक रुपमा कुरा गर्दा नाटकको प्रकाश, सेट औसत मात्र छ । कताकता कलाकारमाथि सोझै स्पट लाइट नपरेको अथवा स्थिति अनुसारको प्रकाश नमिलेको ठाउँ-ठाउँमा पाइन्छ । नाटकमा फरक-फरक स्थान देखाइएको छ । तर, सेटमा उत्पातै फरक आउँदैन ।

समग्रमा, श्री बिज्जो भूत सुदूरपश्चिमको एउटा लोककथा वा आञ्चलिक नाटक देखिन्छ । तर, नाटकले समकालीन नेपाली समाजको ऐना देखाउन सकेको छ । 

लोकमिथक भित्र यथार्थको यति गम्भीर सामाजिक र मनोवैज्ञानिक कथा बुन्न सक्नु नाटकको सबैभन्दा ठूलो सफलता हो । 

नाटक : श्री बिज्जो भूत (कथा सुदूरको..)
नाटकघर : मण्डला थिएटर, थापागाउँ
लेखन : दिवस नाथ
निर्देशन : बुद्धि तामाङ र आकाश नेपाली
मञ्चमा : आदित्य मिश्र, सुस्मिता कुँवर, भूपि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा, समृद्धि नेपाल, स्नेहा जोशी, सुसीला लुहार, दिवस नाथ, चिराग पनेरु, वर्षा भण्डारी, आकाश नेपाली
मञ्चन अवधि : २५ असोजसम्म (सोमबार बाहेक) 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?