+
+
Shares

निजामती विधेयकमा लोकसेवा आयोगले दियो राय

२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर गत बिहीबार राय दिएको छ, र मन्त्रालयले त्यसको अध्ययनपछि अघि बढाउनेछ ।
  • सरकारले विधेयकलाई संसद्मा दर्ता गर्नुअघि मन्त्रिपरिषद्को अनुमति र लोकसेवा आयोगको परामर्श चाहिने प्रक्रिया अघि बढाएको छ ।
  • विधेयकमा कर्मचारी अवकाश उमेर ५५ वर्ष वा ३० वर्ष सेवा राख्ने प्रस्ताव छ, तर आयोगको परामर्श सार्वजनिक भएको छैन ।

११ असोज, काठमाडौं । लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएको छ । ‘लोकसेवा आयोगबाट गत बिहीबार राय प्राप्त भएको छ,’  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कानुन महाशाखा सहसचिव लोकहरि बस्यालले भने ।

आयोगले के कस्ता राय दिएको छ भनेर उनले खुलाएनन् । ‘प्राप्त राय हेरिसकेको छैन । साथै, मन्त्रालयमा पनि छलफल हुन बाँकी छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसबीचमा बिदा आदि कारणले आयोगको रायउपर छलफल हुन बाँकी छ ।’

२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।

त्यसबेला भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले लोकसेवा आयोगले परामर्श दिएपछि सरकारले विधेयक अगाडि बढाउने बताएकी थिइन् ।

निजामती सेवा ऐनमा कर्मचारीको सेवा सर्तसँग सम्बन्धित विधेयक तयार गर्दा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।

यसअघि नै यो विधेयकलाई अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेका छन् ।

लोकसेवा आयोगबाट परामर्श प्राप्त भएपछि अब त्यसलाई अध्ययन गरेर सरकारले विधेयक अगाडि बढाउन सक्छ । मन्त्रिपरिषद्ले संघीय संसद्मा दर्ता गर्न भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति दिएपछि संसद्मा दर्ता हुनेछ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा सरकार गठन भएको ४५ दिनभित्र यो विधेयक तर्जुमा गर्ने उल्लेख थियो । तर ढिलो गरी विधेयक अगाडि बढेको छ ।

विगतका प्रतिनिधिसभामा पनि यो विधेयक आएका थिए । तर ऐनमा रुपान्तरण हुन सकेनन् ।

यो विधेयक संघीयता कार्यान्वयनसँग सम्बन्धित छ । मुलुक संघीयतामा गएसँगै कर्मचारी समायोजनको मुख्य काम भयो ।

तर, संघ, प्रदेश र स्थानीय तहको कर्मचारी भर्ना, अधिकार क्षेत्र र कुन तह मातहत रहने जस्ता विषयमा परिणाम आएको छैन । संविधानत: प्रादेशिक लोकसेवा आयोगहरू बनेका छन् । तर अहिले पनि स्थानीय तह र प्रदेशमा संघ मातहतकै कर्मचारी छन् ।

प्रदेशको प्रमुख सचिव, प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहको प्रमुुख प्रशासकीय अधिकृत र लेखा अधिकृत संघ मातहत हुनुपर्ने अडानका बीच प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा विधेयक आएको थियो । तर प्रदेश र स्थानीय तहमा संघका कर्मचारी रहने विषय संघीयताको मर्मविपरीत हुने तर्कका कारण अपेक्षित गतिमा अगाडि बढेन ।

यी विषयमा अहिले सरकारले कस्तो प्रस्ताव गरेको छ सार्वजनिक गरेको छैन ।

साथै, यस पटक कर्मचारीको अवकाश उमेरलाई लिएर पनि बहस भइराखेको छ ।

सरकारले ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेकालाई अनिवार्य अवकाश दिने गरी विधेयकको मयौदा तयार गरेर अगाडि बढाएको छ । यो विषयमा लोकसेवा आयोगले दिएको परामर्श पनि सार्वजनिक भएको छैन ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्तावित छ । यसले अवकाशमा जाने कर्मचारीको सुविधा कम हुँदैन । तर यस्तो किन गर्नुपर्‍यो भन्ने विषयमा मन्त्रालयका कर्मचारीहरू नाजवाफ छन् ।

साथै, यो विधेयक अध्यादेशका रूपमा आउन सक्ने कतिपयको भनाइ छ ।

सरकारले संघीय संसद्को चालु अधिवेशन यही असोज १६ वा १७ गतेबाट अन्त्य गर्दैछ । यही तयारीअन्तर्गत असोज १६ गतेसम्मको प्रतिनिधिसभाको संसदीय क्यालेन्डर बनाइएको छ ।

यदि सरकारले अध्यादेशमार्फत निजामती ऐन ल्याउन चाह्यो भने संघीय संसद्को अधिवेशन अन्त्य भए लगत्तै जारी हुनसक्छ । विधेयककै रूपमा अगाडि बढाउन चाहे थप केही महिना लाग्नेछ ।

असोजको तेस्रो साता संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि एकै पटक पुसमा मात्रै अर्को अधिवेशन बोलाउने तयारी छ । अधिवेशन सुरु भएपछि पनि विधेयक संद्मा दर्ता भएर दुवै सदनबाट पास भएर लागु हुन समय लाग्नेछ ।

विधेयक दर्ता भएपछि परिपक्क हुन समय लाग्छ । त्यसमाथि सभामा सैद्धान्तिक छलफल हुन्छ । सैद्धान्तिक छलफलपछि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइन्छ । प्राप्त संशोधन र विधेयक एकै ठाउँमा राखेर दफावार छलफल हुन्छ ।

यो प्रक्रिया दुवै हाउसमा हुन्छ र दुवै हाउसले पारित गरेपछि उत्पति भएको सभाको नेतृत्व हुँदै विधेयक राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?