+
+
Shares

प्राकृतिक विपद् जित्दै पर्यटक आगमन सुधार, चिनियाँ दोब्बर, घटे युरोपेली र अमेरिकी

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२६ मा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १४:०६

१५ असोज, काठमाडौं । पछिल्लो दुई महिनायता नेपालले निरन्तर प्राकृतिक विपद् सामना गर्नुपरेको छ । यसो हुँदाहुँदै पर्यटक आगमनमा भने सुधार देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२६ मा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्ष सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशत धेरै हो ।

यो महिना क्षेत्रगत हेर्दा दक्षिण एसियाली देशबाट आगमनमा २३.९ प्रतिशतको सुधार देखिएको छ । अघिल्लो वर्ष यस भेगबाट २४ हजार २ सय ८५ पर्यटक आएकोमा यस वर्ष ३० हजार ८५ आएका छन् ।

तथ्यांक अनुसार सार्कसहित एसियाली देशबाट आगमनमा सुधार भएको छ भने अमेरिकी र युरोपेली पर्यटक आगमन भने घटेको छ ।

एसियाका अन्य देशबाट आगमन ५८ प्रतिशतले सुधार भएको छ । गत वर्ष १२ हजार ५ सय ९० पर्यटक आएकोमा यस वर्ष १९ हजार ८ सय ८८ आएको तथ्यांक छ । आसियान क्षेत्रबाट भने आगमन २५.९ प्रतिशत खस्किएको छ । यस भेगबाट ५ हजार ४ सय २२ पर्यटक मात्र यो महिना नेपाल आएका छन् ।

युरोपबाट समेत आगमन ८.७ प्रतिशत घटेको छ । युरोपबाट गत वर्ष १६ हजार ५ सय ९७ पर्यटक आएकोमा अहिले १५ हजार १ सय ४८ नेपाल आएका छन् ।

अमेरिकी पर्यटक आगमनमा समेत असर परेको देखिन्छ । यो महिना अमेरिकी देशबाट १० हजार १ सय ७ पर्यटक आए । गत वर्ष यसै महिना ११ हजार ५ सय २३ आएका थिए ।

सार्क मुलुकमध्ये बंगलादेशको आगमन ३१.५ प्रतिशत सुधार भएर ३ हजार ९ सय ६४ पुगेको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा ३ हजार १५ आएका थिए । भुटानबाट १ हजार १ सय ११ जना नेपाल आएका छन् । अघिल्लो वर्ष ८ सय ३३ आएका थिए ।

त्यस्तै भारतबाट १७ हजार ४ सय २५ पर्यटक आएका छन् । अघिल्लो वर्ष १५ हजार ५ सय ५६ आएका थिए । श्रीलंकाबाट समेत आगमन उल्लेख्य बढेको छ । यस वर्ष ७ हजार १ सय ८ पर्यटक श्रीलंकाबाट भित्रिए । गत वर्ष सोही महिना श्रीलंकन पर्यटक आगमन ४ हजार ६ सय १६ थियो ।

चीनबाट दोब्बर आगमन

बाढीले नेपाल र चीन दुवै देशलाई असर गर्‍यो । तर, चिनियाँ पर्यटकले यो घाउमा मलम लगाउने प्रयास गरेका छन् । तथ्यांक अनुसार यस महिना चीनबाट गत वर्ष यसै अवधिको तुलनामा दोब्बरले पर्यटक बढेका छन् ।

२०२५ सेप्टेम्बरमा ५ हजार २ सय ३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष ११ हजार २ सय १२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशत बढी हो ।

त्यस्तै जापानबाट गत वर्षभन्दा ४५.४ प्रतिशत आगमन वृद्धि भएको छ । २०२५ मा १ हजार ४ सय २१ पर्यटक आएकोमा जापानबाट यस वर्ष २ हजार ६६ पर्यटक आएका छन् ।

युरोपेली देशमध्ये बेलायती पर्यटक संख्या २५.२ प्रतिशतले ओरालो लागेको छ । अघिल्लो वर्ष ४ हजार ९ सय ८१ बेलायती आएकोमा अहिले ३ हजार ७ सय २५ मात्र आएका छन् ।

अमेरिकी पर्यटक गत वर्ष ९ हजार ६ सय ७९ आएकोमा यस वर्ष ८ हजार २ सय ९९ आएका छन् । यस वर्ष मध्यपूर्वी देशबाट ११.९ प्रतिशतले आगमनमा सुधार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?