१५ असोज, काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा ट्र्याक खुलेको छ ।
ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावत समेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।
मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ ।
सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।
ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ ।
रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन् । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो । ट्र्याक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा छ ।
प्रतिक्रिया 4