+
+
Shares

आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकको मस्यौदा विधायन समितिबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १५:०३

१५ असोज, काठमाडौं । राष्टिय सभा अर्न्तगतको विधायन व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति सभापति कृष्णबहादुर रोकायले जानकारी दिए ।

बैठकमा सभापति रोकायले विधेयक छोटो समयमा टुंग्याउनुपरेपनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएको दाबी गरे । समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा अधिवेशन अन्त्य हुन लागेकाले विधेयकलाई छोटो समयमा नै टुंगोमा पुर्‍याउनुपरेको उनको भनाइ छ ।

‘यो विधेयक हामीले अलि हतारमा अगाडि बढाएका हौँ । तर हतारमा गर्दा पनि मलाई लाग्छ, यो राम्रो भएको छ भन्ने मेरो निष्कर्ष हो । किनभने यो क्षतिपूर्तिसम्बन्धी विधेयक थियो र यो सानो विधेयक पनि थियो,’ उनले भने, ‘छलफलका लागि हामीले बढी समय लियौँ, तर पर्याप्त छलफल भयो भन्ने मलाई लाग्छ । त्यसकारण, हामीले यसलाई अलि हतार गरेर टुङ्ग्याएका छौं । तर टुङ्ग्याउँदा पनि हामीले राम्रोसँग अगाडि बढाएका छौं ।’

राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्यअनुसार समितिले द्रत गतिका काम गरेको उनले बताए । उनका अनुसार अब बाँकी रहेका विधेयकहरु भने पेश नगर्ने सहमति भएको छ ।

‘राष्ट्रिय सभामा आएका जति पनि विधेयकहरू थिए, हामीले कम्तीमा पनि बाँकी नराखौँ भन्ने कुरा सम्माननीयज्यूबाट एक खालको निर्देशन पनि प्राप्त भएको थियो । त्यस्तै, सचिवालयको टिमले पनि यसमा असाध्यै सहयोग गरेको छ । अब आउने हिउँदे अधिवेशनमा आउने जति पनि विधेयकहरू छन्, त्यसतर्फ पनि हामीले ध्यान दिनुपर्नेछ,’ उनले भने ।

समितिले विधेयकका विभिन्न प्रावधानमा संशोधन गरेको छ । विधेयकमा मृतकका नजिकका हकवालाले क्षतिपूर्ति दाबी गर्न पाउने अवधि ९० दिनबाट बढाएर १८० दिन पुर्‍याइएको छ । संशोधित व्यवस्थामा ‘प्रचलित कानून बमोजिमको नजिकको हकवालाले मृतकको मृत्यु भएको मितिले १८० दिनभित्र’ भन्ने शब्दावली राखिएको छ ।

मृतकका परिवारलाई एक लाख अमेरिकी डलर बराबरको रकम क्षतिपूर्ति दिने विधेयकमा उल्लेख छ । समितिले ऐन कार्यान्वयनका लागि सरकारले मन्त्रिपरिषद्बाट नियम बनाउन सक्ने विषयहरूलाई पनि स्पष्ट गरिदिएको छ । यसमा हवाई टिकटमा खुलाउनुपर्ने विवरण, उडान ढिलाइ वा रद्द हुँदा यात्रुलाई उपलब्ध गराउनुपर्ने सुविधा तथा क्षतिपूर्ति, ह्यान्ड क्यारीमा भएको क्षति, कार्गो ढुवानीमा भएको ढिलाइ, ढुवानी पत्रका विवरण तथा बीमाको दर र सीमा लगायतका विषय समेटिएका छन् ।

त्यस्तै, यात्रु तथा कार्गोसम्बन्धी विभिन्न क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया र आवश्यक कागजात तथा विवरणसम्बन्धी व्यवस्था पनि नियमावलीमार्फत गर्न सकिने बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?