+
+
Shares

सल्यानका जंगलमा लुकाइएका भरुवा बन्दुकले बढायो सुरक्षा जोखिम

सल्यानका सामुदायिक वन र ओढारमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुकहरू लगातार भेटिन थालेपछि वन्यजन्तु संरक्षणसँगै मानवीय सुरक्षामा समेत चुनौती थपिएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १६ गते ९:१०

१६ असोज, सुर्खेत । सल्यानका सामुदायिक वन र ओढारमा लुकाइराखिएका भरुवा बन्दुक धमाधम फेला पर्न थालेका छन् । पछिल्लो पटक प्रहरीले बन्गाड कुपिण्डे नगरपालिकाका दुई सामुदायिक वनबाट ८ थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीले बिहीबार बिहान बन्गाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वन र वडा नम्बर १२ निगालचुलास्थित भदाले सामुदायिक वनका ओढारमा लुकाइराखिएका चार–चार थान गरी आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।

स्थानीयले दिएको सूचनाका आधारमा खोजतलास गर्दा ओढारमा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दिपक पालतीले जानकारी दिए ।

बरामद भएका बन्दुकहरु वन्यजन्तुको चोरीसिकार गर्ने प्रयोजनका लागि लुकाएर राखेको हुन सक्ने उनले बताए ।

पाँच महिनामै ठूलो संख्यामा बरामद

सल्यानमा ठूलो संख्यामा भरुवा बन्दुक बरामद भएको यो पहिलो घटना भने होइन । पछिल्ला महिनामा जिल्लाका विभिन्न सामुदायिक वन, जंगल र ओढारबाट लगातार यस्ता हतियार भेटिँदै आएका छन् ।

जेठमा मात्रै प्रहरीले बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी आठ थान भरुवा बन्दुक बरामद गरेको थियो ।

त्यसपछि साउनमा पनि बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट ४ र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट २ गरी ६ थान भरुवा बन्दुक बरामद भएका थिए । भदौमा भदाले सामुदायिक वन नजिकैको ओढारबाट थप ७ थान भरुवा बन्दुक बरामद भएका थिए ।

यसरी पछिल्ला केही महिनामा मात्रै सल्यानका विभिन्न वन क्षेत्रबाट ठूलो संख्यामा भरुवा बन्दुक बरामद भइसकेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७ थान भरुवा बन्दुक बरामद भएका थिए । पाँच वर्षको अवधिमा भने ९८ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरी तथ्यांक सार्वजनिक भएको छ ।

मानवीय जोखिम

वन्यजन्तु चोरीसिकारका लागि प्रयोग हुने भरुवा बन्दुकका कारण सल्यानमा मानवीय जोखिमसमेत देखिएको छ । प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सिकार तथा भरुवा बन्दुक प्रयोगसँग सम्बन्धित घटनामा तीन जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा बन्गाड कुपिण्डे नगरपालिका–२ मा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा कालिमाटी गाउँपालिकामा सिकार खेल्न प्रयोग हुने भरुवा बन्दुक चलाउने क्रममा एक बालिकाको मृत्यु भएको प्रहरी तथ्यांक छ ।

हालै पनि सिकार गर्ने क्रममा चलाइएको भरुवा बन्दुकको गोली लागेर एक वृद्धको मृत्यु भएको र घटनामा संलग्न आठ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसले वन्यजन्तुको सिकारका लागि प्रयोग हुने हतियार अन्य व्यक्तिका लागि समेत ज्यानै जाने जोखिम बन्ने गरेको देखाउँछ ।

अवैध चोरीसिकार नियन्त्रणमा चुनौती

सामुदायिक वन र जंगलका ओढारमा बन्दुक लुकाएर राख्ने क्रम बढ्नुले वन क्षेत्रमा हुने अवैध चोरीसिकार नियन्त्रणमा चुनौती देखिएको छ । ग्रामीण क्षेत्रमा परम्परागत रूपमा सिकारका लागि भरुवा बन्दुक प्रयोग गर्ने चलन रहे पनि अनुमति र कानुनी प्रक्रिया पूरा नगरी हतियार राख्नु गैरकानुनी हुने प्रहरीको भनाइ छ ।

प्रहरीले पछिल्ला घटनामा स्थानीयबाट प्राप्त सूचनालाई आधार बनाएर खोजतलास गर्दा अधिकांश हतियार बेवारिसे अवस्थामा फेला पार्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सामुदायिक वन तथा जंगल क्षेत्रमा लुकाइएका हतियारबारे सूचना प्राप्त हुने क्रम जारी छ । प्रहरीले यस्ता हतियार कसैले लुकाएर राखेको वा वनमा बेवारिसे अवस्थामा देखे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै आएको छ ।

सल्यानमा एउटै क्षेत्रमा पटक–पटक भरुवा बन्दुक बरामद हुनु र पछिल्लो समय ओढारबाट समेत ठूलो संख्यामा हतियार भेटिनुले जिल्लाका वन क्षेत्रमा अवैध हतियारको पहुँच अझै समाप्त नभएको संकेत गरेको छ । वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षाका दृष्टिले पनि यस्ता हतियारको खोजी र नियन्त्रणलाई निरन्तरता दिनुपर्ने देखिएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?