१६ असोज, कञ्चनपुर । दोधारा चाँदनीका विशाल जोशी असोज १४ गते बुधबार बिहानै तरकारी लिन महेन्द्रनगरतर्फ आउँदै थिए । दोधारा चाँदनीमा उनको तरकारी पसल छ । मोटरसाइकलमार्फत झोलुङ्गे पुल हुँदै उनी दैनिकजसो ओहोरदोहोर गर्ने गर्छन् ।
बुधबार बिहान पनि उनी मोटरसाइकलमा अर्का एक जनालाई लिएर झोलुङ्गे पुल हुँदै महेन्द्रनगरतर्फ आउँदै थिए । केही पर पुगेपछि उनले झोलुङ्गे पुलको एक भाग असामान्य रूपमा माथि उठेको देखे । केही गडबड भएको महसुस भएपछि उनी अगाडि बढेनन् ।
‘बिहान ४ बजेतिरको कुरा हो । झोलुङ्गे पुल हुँदै जाँदा सिलेटहरू उठेको देखेपछि फर्किएँ,’ विशाल भन्छन्, ‘पक्की पुल भएर बजार गएँ । यतैबाट गएको भए दुर्घटना हुने रहेछ ।’
त्यसको केही घण्टापछि दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्कियो । दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुलको पिल्लर भत्किएपछि करिब ३ सय मिटर पुल चुँडिएको छ ।
झोलुङ्गे पुल भत्किएपछि दोधारा चाँदनी र भीमदत्त नगरपालिका बीचको नियमित ओहोरदोहोर ठप्प भएको छ । ‘सुरुमै समस्या आएपछि आवागमन बन्द गरेर मानवीय क्षति हुनबाट जोगियो । पुलको पिल्लर भत्किएर स्पान लत्रिएको छ,’ प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भने ।
असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीका कारण पिल्लर वरपरको जमिन खिइँदै गएर पुल भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
मर्मत सम्भार अभावका कारण जीर्ण बन्दै गएको थियो पुल
वि.सं. २०६१ मा निर्माण सम्पन्न भएको यो पुल १ हजार ४५२ मिटर लामो छ । पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित यो झोलुङ्गे पुल नियमित मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको थियो ।
दोधारा चाँदनीलाई नेपालको अन्य भूभागसँग जोड्ने यो पुल भाँचिएपछि स्थानीयवासीमा फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ ।

यो पुल फलाम र तारको संरचना मात्र नभएर दोधारा चाँदनीको ‘मेरुदण्ड’ र ऐतिहासिक संरचना भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बु बताउँछन् ।
‘यो घटनाले सिंगो दोधारा चाँदनीलाई चिन्तित बनाएको छ । चार लेनको पक्की पुल छ भन्दैमा यो झोलुङ्गे पुलको महत्त्व घट्दैन । गरिब, किसान, विद्यार्थी र साना व्यापारीको जीवनरेखा नै यही हो,’ उनले भने, ‘प्रदेश र संघ सरकारसँग निरन्तर समन्वय भइरहेको छ । यो पुललाई जतिसक्दो चाँडो पुनर्निर्माण गर्नुपर्छ ।’
‘महाकाली पारीको नेपाल’
दुई दशकअघिसम्म दोधारा–चाँदनी नेपालको नक्साभित्रको एउटा यस्तो ‘टापु’ थियो, जसको आफ्नै देशसँग स्थलमार्गबाट कुनै सम्बन्ध थिएन । पूर्वमा महाकाली नदी तथा उत्तर, पश्चिम र दक्षिणतर्फ भारतीय सीमा थियो ।
झोलुङ्गे पुल नहुँदाको पीडा दोधारा चाँदनी–३ का दीपक बुढाको मानसपटलमा अझै ताजै छ । महाकालीमा बाढी आउँदा बस्ती नेपालबाट पूरै विच्छेद हुने र हिउँदमा काठे डुङ्गामा ज्यान जोखिममा राखेर महाकाली तर्नुपर्ने अवस्था रहेको उनी सम्झन्छन् ।
‘डुङ्गा पल्टिएर महाकालीमा कतिले ज्यानै गुमाए । वर्षायाममा डुङ्गा पनि बन्द हुन्थ्यो । महेन्द्रनगर जान एउटै बाटो शारदा ब्यारेज थियो,’ विगतका दिन स्मरण गर्दै उनी भन्छन्, ‘आफ्नै देशको सदरमुकाममा नागरिकता बनाउन वा जग्गाको तिरो तिर्न जाँदा एसएसबी र भारतीय भन्सारका सिपाहीको लाठी, गाली र अपमान सहनुपर्थ्यो ।’
उनका अनुसार झोलामा भएको चिउरा र तरकारीसमेत भुइँमा पोखाएर खानतलासी गरिन्थ्यो । साँझ ६ बजे वनबासा नहरको गेट बन्द भएपछि कुनै नेपाली बिरामीलाई अस्पताल लैजानुपरे पनि भारतीय सुरक्षाकर्मीले गेट खोल्दैनथे । छटपटिँदा–छटपटिँदै कैयौँ सुत्केरी महिला र नवजात शिशुले समयमै अस्पताल पुग्न नपाउँदा ज्यान गुमाएको दोधारा चाँदनीका भूपेन्द्र सुनार सुनाउँछन् ।
‘२०६१ सालभन्दा पहिलेको दु:ख सम्झिँदा अहिले पनि मुटु काम्छ । त्यतिबेला महेन्द्रनगर बजार जाँदा हामी महाकालीपारिको नेपाल जाँदैछौँ भन्थ्यौँ । किनकि हामीलाई आफू नेपालमै छु भन्ने आभास नै हुँदैनथ्यो,’ उनी भन्छन् ।
त्यतिबेला दोधारा चाँदनीका बस्तीमा समेत भारतीय रुपैयाँको कारोबार हुन्थ्यो । ‘हामीसँग नेपाली रुपैयाँ कमै हुन्थ्यो । नेपाली रुपैयाँ साट्दा पनि लुटिन्थ्यौँ,’ सुनार भन्छन्, ‘नुन, मट्टीतेल, सलाईदेखि सिटामोलसम्म किन्न भारतीय बजार खटिमा वा मेलाघाट धाउनुपर्थ्यो ।’
वि.सं. २०६१ मा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीवासीका लागि सुखका दिन आएको उनको भनाइ छ ।

त्यतिबेला दोधारा चाँदनीमा नेपाल प्रहरीसमेत भारतीय भूमि हुँदै जानुपर्ने अवस्था थियो । भारतीय बाटो भएर बर्दीमा हिँड्न नपाइने भएपछि प्रहरीहरू बर्दी झोलामा लुकाएर सर्वसाधारण बनेर त्यहाँ पुग्ने गरेको उनी सम्झन्छन् ।
विकल्प बनेको चार लेनको पक्की पुल
केही वर्षअघि महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि झोलुङ्गे पुलको विकल्प बनेको छ । तर झोलुङ्गे पुल भत्किएपछि दोधारा चाँदनीको तल्लो भेगका स्थानीयवासीलाई घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ ।
‘पक्की पुल दोधाराको बस्तीभन्दा धेरै माथि छ । त्यहाँसम्म पुग्न लामो घुमाउरो सडक तय गर्नुपर्छ,’ स्थानीय टीका भट्टले भने, ‘हाम्रो लागि त झोलुङ्गे पुल नै नजिक पर्छ । यहीँ ओहोरदोहोर गर्छौँ । चाँडो पुनर्निर्माण भए सहज हुन्थ्यो ।’
पूर्वगृहमन्त्री रमेश लेखकले पनि झोलुङ्गे पुल पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल कञ्चनपुरका लागि मात्र नभई नेपालको झोलुंगे पुल विकासक्रमकै ऐतिहासिक संरचना भएको उनको भनाइ छ । तत्कालीन समयमा देशको अन्य भूभागसँग यातायात सम्पर्क नभएको, जनजीवन ज्यादै कठिन भएको दोधाराचाँदनीलाई प्रत्यक्ष जोडेको यो पुल दोधाराचाँदनी वा कन्चनपुर मात्र होइन, देशकै ऐतिहासिक भएको उनले फेसबुकमा लेखेका छन् ।
आफू २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएपछि महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधाराचाँदनीलाई देशको अन्य भूभागसँग जोड्नुपर्ने विषय संस्दमा उठाउँदा कतिपयले महाकालीमा झोलुंगे पुल बनाउने कुरा असम्भव भन्दै ठट्टा गरेको स्मरण समेत उनीले गरेका छन् । तर सोही अवधिमा पुल निर्माणको काम अघि बढेको र नेपाल सरकारको बजेट, नेपाली प्राविधिक तथा नेपाली निर्माणकर्ताको संलग्नतामा ऐतिहासिक लामो झोलुंगे पुल निर्माण भएको लेखकको भनाइ छ ।
‘यो पुलको निर्माण पछि देशको अन्य ठाउँमा पनि लामो झोलुङ्गेपुल बनाउने प्रविधि शुरू भयो,’ लेखकको भनाइ छ, ‘तसर्थ यो पुल नेपालको झोलुङ्गे पुलको विकासक्रममा सिंगो इतिहास पनि हो । यसको संरक्षण आवश्यक छ । म नेपाल सरकार र सरकारका सम्बन्धित सबै निकायलाई यथाशक्य चाँडो पुलको पुनर्निर्माण, मरमत र सम्भार गर्न अनुरोध गर्दछु ।’
काठमाडौंको टोली पुल अवलोकनमा
दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था अवलोकन गर्न काठमाडौंबाट प्राविधिकहरुको टोली सुदूरपश्चिम पुगेको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो । सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।
उपमहानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले नै बनाएको आइकोनिक पुलको अवस्था हेरेर आवश्यक निर्णय गर्नेछौं ।’
पुलमा क्षति भएकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला दोधाराचाँदनी पुगेर प्राविधिक अध्ययनको प्रक्रिया अघि बढेको र अध्ययन रिपोर्ट प्राप्त भएपछि पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी कोइराराले विहीबार नै गृह मन्त्रालयलाई पत्राचार गरेर पुल मर्मतका लागि आवश्यक समन्वय गरिदिन भनेको अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4