१६ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश पारित गरेको छ ।
साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ प्रतिशत नगद लाभांश छ ।
सञ्चालक समितिका तर्फबाट बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको तुलनामा १५.९० प्रतिशत बढी हो ।
यसैगरी बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सभामा अध्यक्ष ढकालले सेयरधनीको अटुट विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे ।

उनले सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पूर्णपालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्याए ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ उपाधि प्राप्त गरिसकेको छ ।
यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कार समेत प्राप्त गरेको छ ।
ग्लोबल आईएमई बैंक ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३ सय ४१ शाखा, ३ सय ६६ एटीएम, १ सय ४७ शाखारहित, ६९ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दैै आइरहेको छ ।
साथै, बैंक विदेशबाट वैधानिक माध्यम मार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ । बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारत लगायत देशबाट औपचारिक माध्यम मार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
त्यसैगरी हालैको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई तत्काल राहत र उद्धारका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकका कर्मचारीको १ दिनको तलब बराबर रकम सहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया 4