१६ असोज, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ ।
उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ अक्टोबर ५ देखि १४ सम्म सञ्चालन हुनेछन् । दुवै प्रतियोगितामा गरी १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेल मलेसियाका बायुएमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा हुनेछन् ।
उपक्षेत्रीय छनोट ‘ए’ मा बहराइन, भुटान, कुवेत, मंगोलिया, म्यानमार, कतार र थाइल्यान्ड छन् । छनोट ‘बी’ मा हङकङ, चीन, मलेसिया, माल्दिभ्स, साउदी अरेबिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै प्रतियोगिता एकल राउन्ड रोबिन ढाँचामा सञ्चालन हुनेछ । प्रत्येक समूहका शीर्ष तीन टोलीले २०२७ मा हुने एसिया छनोटको अर्को चरणमा स्थान बनाउनेछन् ।
मलेसियन क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले प्रतियोगिता आयोजना गर्न पाउनु सम्मानको विषय भएको बताएका छन् । उनले यी प्रतियोगिताले एसियाली क्रिकेटको विकास, प्रतिभा र महत्वाकांक्षा प्रस्तुत गर्ने अवसर दिने बताए ।
सबै खेल आईसीसी टिभीमा विश्वभर प्रत्यक्ष प्रसारण हुनेछन् । भारतमा फ्यानकोडबाट पनि खेल हेर्न सकिनेछ ।
उपक्षेत्रीय छनोट ‘ए’ को पहिलो खेल अक्टोबर ५ मा म्यानमार र भुटानबीच तथा थाइल्यान्ड र बहराइनबीच हुनेछ । सोही दिन कुवेत र कतारबीच पनि खेल हुनेछ ।
उपक्षेत्रीय छनोट ‘बी’ को पहिलो खेल अक्टोबर ८ मा हुनेछन् । सो दिन माल्दिभ्स र चीन, साउदी अरेबिया र सिंगापुर तथा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4