+
+
Shares

दुबईका लागि एल अलका उद्धार उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १७:५५

१६ असोज, तेल अभिभ (रासस/एएनआई)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति नदिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ ।

एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान पूर्ण रूपमा बुक भइसकेको कम्पनीले जनाएको छ । इजरायली र इमिराती अधिकारीबीच लामो छलफलपछि विमान अवतरणका लागि अन्तिम अनुमति प्राप्त हुन नसकेको जनाइएको छ ।

उडान रद्द भएको घटना सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ आएको फ्लाई दुबईको विमानमा भएको गम्भीर सुरक्षा घटनापछि भएको हो । उक्त घटनामा ओमानी सहपाइलटले विमानका कमान्डरमाथि आक्रमण गरी विमान तल झार्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गम्भीर घाइते भए पनि क्याप्टेन स्मिट मच्छरले आक्रमणकारीको प्रतिरोध गरेका थिए । चालक दल र यात्रुको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानको कमान्ड पुनः कायम गरिएको थियो । विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरेको र १८० यात्रु सुरक्षित रहेको जनाइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार घटनाका बेला विमान इजरायली हवाई क्षेत्रनजिकै थियो । उनले क्याप्टेन मच्छरले सहपाइलटलाई नियन्त्रणबाट हटाउन सफल भएको तथा दुई गैरड्युटी उडानकर्मीले विमान सम्हालेको बताएका छन् । सहपाइलट ओमानमा जन्मिएको र ओमानी नागरिक रहेको एक ओमानी अधिकारीले बताएका छन् ।

नेतान्याहुले सहपाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको अनुसन्धानबाट देखिएको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहपाइलटको तेहरानसँग सम्बन्ध हुन सक्ने आफूले सुनेको बताएका छन्। यद्यपि इरानको संलग्नताबारे निष्कर्षमा पुग्न अझै समय लाग्ने नेतान्याहुले बताएका छन्।

इजरायली अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् । यसैबीच, युएईका लागि भारतका राजदूत दीपक मित्तलले क्याप्टेन मच्छरको अवस्था स्थिर रहेको र उनी यूएईको अस्पतालमा उपचाररत रहेको पुष्टि गरेका छन्। उनले क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्दै सयौँ यात्रुको ज्यान जोगाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?