१६ असोज, काठमाडौं । रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले हिमाली पर्यटकीय राजमार्गका नाममा सयौँ वर्ष पुरानो पर्यटनको चिहान मेटाउने गरी काम गर्न नहुने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विकासका नाममा डोजर चलाउनुअघि जीपीएस डेटाका आधारमा री–म्यापिङ गर्नुपर्ने बताएका हुन् ।
पर्यटन पनि जोगाउने, मोैलिकता पनि बाँच्ने, विकास पनि झल्किने रैथाने मोडलमा काम गनुपर्ने उनको आग्रह छ ।
‘डोजरे विकासका नाममा हिमाल खन्दै जाने हो भने हामीले पर्यटक मात्र गुमाउने छैनौँ, महाविपत्ति निम्त्याएर फेरि ठूलो जनधनको क्षति भोग्नेछौं,’ उनले भने, ‘यो गरिमामय सभामा आज म हाम्रा हिमाली पदयात्रा, डोजरे विकास, पर्यापर्यटन र रैथाने संवेदनशीलताका सवालमा गम्भीर ध्यानाकर्षण गराउन उभिएको छु ।’
सरकारले एकातिर ‘पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ को अध्ययनका लागि ४ करोड १९ लाख बजेट छुट्याएको र अर्कातिर ‘ग्रेट हिमालयन ट्रेल’लाई रणनीतिक पर्यटन कोरिडोरका रूपमा स्तरोन्नति गर्ने घोषणा गरेको उनले स्मरण गराए ।
‘अमेरिकाको प्यासिफिक क्रेस्ट ट्रेल वा युरोपको टुर डे मोन्ट ब्लङ्क यी केवल प्राकृतिक पदमार्ग हुन् । तर नेपालको जीएचटी प्राकृतिक सौन्दर्य, ८ हजार मिटर अग्ला ८ वटा हिमाल र हजारौँ वर्ष पुरानो मानव सभ्यताको अद्वितीय उपहार संसारकै सर्वोच्च र साहसिक पदमार्ग हो,’ उनले भने ।
हिमाली जनताका लागि सडक पूर्वाधार चाहिने बताउँदै उनले, तर त्यसका नाममा पर्यटनको नाममा घोषणा गरिएको राजमार्गको रेखाङ्कन वैज्ञानिक नभए, रैथाने सोच संरक्षण नभए त्यसको दूरगामी असर पर्ने बताए ।
‘हामीले बिर्सनु हुन्न, अव्यवस्थित डोजरे विकासका कारण हामीले अन्नपूर्ण सर्किट, कालिगण्डकी र जोमसोम–लोमान्थाङ जस्ता विश्वप्रसिद्ध पदमार्गहरूको मौलिकतालाई क्षयीकरण गरीसकेका छौँ’, सचेतक परियारले भने ।
प्रतिक्रिया 4