+

एसपीए लिटल फ्लावर प्राइड लिगमा घोडाघोडी, मर्निङ ग्लोरी र बिरेन्द्र स्पोर्ट्स विजयी

२०८३ असोज  १६ गते २०:५२ २०८३ असोज १६ गते २०:५२

१६ असोज, कैलाली । धनगढीको फाप्लामा जारी दशौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगमा शुक्रबार घोडाघोडी क्रिकेट एकेडेमी, मर्निङ ग्लोरी स्कुल र बिरेन्द्र स्पोर्ट्स एकेडेमी विजयी भएका छन् ।

प्रतियोगिताको चौथो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले पाइनियर्स एकेडेमी लम्कीलाई ३६ रनले पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो । यसअघि घोडाघोडी पहिलो खेलमा मर्निङ ग्लोरी स्कुलसँग नौ विकेटले पराजित भएको थियो ।

घोडाघोडीले दिएको १३३ रनको लक्ष्य पछ्याएको पाइनियर्सले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि रोशन शाहीले २५, प्रकाश माझीले २४ र कप्तान धीरेन्द्र न्यौपानेले १५ रन बनाए ।

घोडाघोडीका सुधांशु रावलले तीन ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । भुपेश जोशी र रोशन विश्वकर्माले समान दुई तथा सुजित भट्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडीले १५ ओभरमा सात विकेट गुमाएर १३२ रन बनाएको थियो । गोविन्द बिष्टले ४३ बलमा सात चौका र चार छक्कासहित ६२ रन बनाए। नितेश बुढाथोकीले २३ र गणेश शाहले १० रन जोडे ।

पाइनियर्सका सोलुप चौधरीले तीन तथा विमल कटुवाल र रोयल ढकालले समान दुई विकेट लिए । अर्धशतक बनाएका गोविन्द बिष्ट खेलको म्यान अफ दी म्याच चुनिए ।

प्रतियोगिताको पाँचौं खेलमा शुक्लाफाँटा नगरपालिका झलारीको टोली निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि मर्निङ ग्लोरी स्कुल महेन्द्रनगर विजयी भएको छ ।

त्यस्तै, छैटौं खेलमा बिरेन्द्र स्पोर्ट्स एकेडेमी सुख्खडले खप्तड इन्डोर स्पोर्ट्स सेन्टरलाई सात विकेटले पराजित गर्‍यो ।

खप्तडले दिएको ५६ रनको लक्ष्य बिरेन्द्र स्पोर्ट्सले ८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। रोशन साउँदले अविजित २७ र निशान रेग्मीले २५ रन बनाए। खप्तडका केशव चन्दले दुई तथा पंकज शार्कीले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको खप्तड ११.४ ओभरमा ५५ रनमा अलआउट भयो। उसका लागि दिपेश भाटले १७ र सुभम खड्काले १५ रन बनाए।

बिरेन्द्र स्पोर्ट्सका ओमकार यादवले तीन ओभरमा चार रन मात्रै खर्चेर चार विकेट लिए। रुपेश थापाले दुई तथा निराजन कठायत, रुद्रप्रसाद आचार्य र अमर मिश्रले समान एक विकेट लिए। ओमकार खेलको म्यान अफ दी म्याच चुनिए।

बिहीबारदेखि सुरु भएको प्रतियोगिता असोज २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी पाउनेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका १५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

3 एसपीए लिटल फ्लावर प्राइड लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय