+

हङकङ सिक्सेस क्रिकेटको समूह विभाजनसहित खेलतालिका सार्वजनिक

२०८३ असोज  १६ गते १७:३९ २०८३ असोज १६ गते १७:३९

१६ असोज, काठमाडौं । हङकङमा आयोजना हुने हङकङ सिक्सेस क्रिकेटको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ ।

आयोजकले शुक्रबार समूह विभाजन गर्दै खेलतालिका पनि सार्वजनिक गरेको हो । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र हङकङ छन् भने समूह ‘बी’ मा बंगलादेश, स्कटल्यान्ड र श्रीलंका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र यूएई छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, ओमान र अफगानिस्तान छन् ।

पहिलो दिन पहिलो खेलमा अस्ट्रेलिया र हङकङ खेल्नेछन् । सोही दिन अन्य ९ खेल पनि हुनेछन् ।

नेपाल भने यसपटक सहभागी छैन । हङकङ सिक्सेसका बेला नेपालमा एनपीएलको तेस्रो संस्करण चल्ने भएकाले नेपाल सहभागी नहुने भएको हो ।

प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ३ दिन हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा चल्नेछ ।

नेपालले यसअघिका दुई संस्करणमा सहभागिता जनाएको थियो ।

हङकङ सिक्सेसका खेलहरू ६ ओभरको मात्र हुन्छन् र खेलाडी पनि ६ जना मात्र खेल्छन् जसको लक्ष्य हरेक बलमा छक्का प्रहार गर्नु हुन्छ । त्यहीकारण प्रतियोगिताको नाम नै ‘सिक्सेस’ राखिएको छ ।

यस खेलका लागि मैदान पनि तुलनात्मक रूपमा सानो हुन्छ । ६ जना मात्र खेलाडी खेल्ने हुँदा बलर र विकेटकिपरबाहेक फिल्डरहरू ४ जना मात्र हुन्छन् । त्यहीकारण ब्याटरहरू हरेक बलमा ठुलो शट खेल्छन् ।

ब्याटिङ र बलिङमा अर्को रोचक नियम छ । ब्याटरले ५० रन बनाएपछि स्वत: रिटायर हुनुपर्छ र अन्तिम विकेट बाँकी हुँदा मात्र फेरि फर्किएर खेल्न पाइन्छ । पाँच विकेट झरिसकेपछि पनि एकजना ब्याटर एक्लै खेल्न पाउँछन् र अर्कोले रनिङमा साथ दिन क्रिजमै बस्छन् ।

बलिङ पनि विकेटकिपर बाहेक सबैले गर्नुपर्ने हुन्छ र एकजनाले मात्र २ ओभर गर्न पाइन्छ ।

यो प्रतियोगिताका लागि विशेषत: अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका खेलाडीहरू समावेश गरेर टोली पठाइन्छ । ६ जना मात्र खेलाडी हुने हुँदा ब्याटिङ बलिङ दुवैमा सक्षम भएका खेलाडी चयन हुन्छन् ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय