+

आईसीसी क्रिकेट विश्वकप छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

२०८३ असोज  १६ गते १६:४६ २०८३ असोज १६ गते १६:४६

१६ असोज, काठमाडौं । आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोटका लागि हुने १० टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ ।

विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वतः छनोट भएका छन् ।

बाँकी चार स्थानका लागि १० टोलीले क्वालिफायर खेल्नेछन् । क्वालिफायरमा वेस्ट इन्डिज र आयरल्यान्डसहित विश्व क्रिकेट लिग २ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् ।

हाल लिग २ को शीर्ष चारमा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान छन् । नामिबिया, क्यानडा, नेपाल र यूएई बटम फोरमा रहेका छन् । लिग २ का केही शृङ्खलाहरू अझै बाँकी छन् ।

लिग २ को पुछारमा रहने चार टोलीसँगै च्यालेन्ज लिगका शीर्ष चार टोली इटाली, युगान्डा, जर्सी र कुवेतले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

विश्वकप छनोट प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुने तय भएको छ । यसको आयोजना स्थल भने तय भइसकेको छैन ।

क्वालिफायरको विजेता सिधै विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ । बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन् । त्यसको विजेता पनि विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ ।

विश्वकप छनोटको क्वालिफायरमा पुग्न नामिबियाले भने प्लेअफ खेल्नुपर्ने अवस्था टार्न सक्छ । त्यसका लागि उसले अक्टोबर ३ देखि सुरु हुने खेलमा अमेरिका र यूएईविरुद्ध दुई–दुई खेल जित्नुपर्नेछ भने ओमान, नेपाल र क्यानडाबीचको खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ ।

यसअघि आईसीसीले क्वालिफायर फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने संकेत गरेको थियो। गत साता दुबईमा बसेको आईसीसी बैठकले भने फेब्रुअरी २६ देखि मार्च २१ सम्मको नयाँ मिति तय गरेको हो ।

-क्रिकइन्फोको सहयोगमा

आईसीसी क्रिकेट विश्वकप आईसीसी क्रिकेट विश्वकप छनोट लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय