+
+
Shares

क्यान टुक्रियो भने कर्मचारीको समायोजन कसरी हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १५:४६

१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याएर दुईवटा छुट्टाछुट्टै निकाय बनाउँदा हाल कार्यरत कर्मचारीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योललाई सरकारले विधेयक मार्फत सम्बोधन गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले कर्मचारीको समायोजन, स्वेच्छिक अवकाश र पेन्सनका विषयमा स्पष्ट कानुनी खाका अघि सारेको हो।

विधेयकको दफा ३५ मा ‘कर्मचारी समायोजनसम्बन्धी व्यवस्था’ गरिएको छ। उक्त दफाको उपदफा (१) अनुसार, यो ऐन प्रारम्भ हुँदाका बखत साविकको क्यानमा कार्यरत स्थायी कर्मचारीहरू स्वतः यस नयाँ ‘नेपाल हवाई सेवा प्राधिकरण’ (सेवा प्रदायक) का स्थायी कर्मचारी हुनेछन्।

तर, सेवा प्रदायकमा बस्न नचाहने र नियामक निकाय (नेपाल नागरिक उड्डयन प्राधिकरण) मै जान चाहने कर्मचारीलाई पनि अवसर दिइएको छ। उपदफा (२) ले यदि कुनै कर्मचारी नियामक निकायमा जान चाहेमा नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले ६० दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

यसरी प्राप्त निवेदनका आधारमा मन्त्रालयले कर्मचारीको ज्येष्ठता, योग्यता र कार्यप्रकृतिको मापदण्ड बनाई नियामक निकायमा समायोजन गर्नेछ।

यसरी कुनै पनि निकायमा समायोजन हुन नचाहने कर्मचारीका लागि सरकारले गोल्डेन ह्यान्डसेकको बाटो पनि खुला राखेको छ। उपदफा (६) अनुसार, पदस्थापना हुन नचाहने कर्मचारीलाई उपयुक्त योजनाअन्तर्गत स्वेच्छिक अवकाशको अवसर दिन सकिनेछ।

साथै, अब उप्रान्त नयाँ भर्ना हुने कर्मचारीका लागि दफा ३४ बमोजिम प्रचलित कानुनअनुसार योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिने विधेयकमा उल्लेख छ ।

पहिलेदेखि नै पेन्सन खाइरहेकाहरूको हकमा भने आत्तिनुपर्ने अवस्था छैन। दफा ३६ को उपदफा (१) ले साविकको क्यानबाट निवृत्तिभरण पाइरहेका कर्मचारीले यो ऐन प्रारम्भ भएपछि नयाँ प्राधिकरणबाटै निरन्तर रूपमा निवृत्तिभरण पाउने सुनिश्चितता गरेको छ। नयाँ कानुनले हाल कार्यरत कर्मचारीको सेवा सुविधा नघट्ने गरी सुरक्षित सङ्क्रमणकालीन व्यवस्थापनको बाटो तय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?