१७ असोज, जनकपुरधाम । मधेशमा पछिल्ला दुई महिनामा विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।
उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । दुई महिनामै करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।
त्यसैगरी पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य छ । बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत पर्ने गरेका छन् ।
मधेशमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ घटना भएका छन् । आगलागीका कारण ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
त्यसैगरी करेन्ट लागेका १०७ घटना भएका छन् । पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ ।
आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य देखिएपनि यी घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी तथा जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने एसएसपी ढकालले बताए ।
विपद्का ४५९ घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेका छन् । आगलागीबाट मात्रै दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया 4