+
+
Shares

कांग्रेसमा युवा प्रतिनिधित्वले जगाएको हुटहुटी : व्यवसायसँगै राजनीतितर्फ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १६:३८

१७ असोज, काठमाडौं । जेनजी आन्दोलन सकिएको केही महिनामात्रै भएको थियो । अन्तरिम सरकारले चुनावी तयारी अघि बढायो ।

यहीबीचमा नेपाली कांग्रेस आफ्नो आन्तरिक विवादमा थियो । विशेषगरी पार्टीमा युवाको प्रतिनिधित्व हुनुपर्ने एजेन्डासहित गगन थापा लगायतका शीर्ष नेताहरू रस्साकस्सीमा थिए ।

चुनावमा भाग लिनुपर्ने र जनतामाझ जाँदा ‘बदलिएको कांग्रेस’ लिएर जाने आकांक्षाबीच पुसमा महाधिवेशन भयो ।

फागुनमा निर्वाचन थियो । पोखरामा त्यही जेनजी आन्दोलनले खरानी बनाएको व्यवसायलाई जसोतसो तङ्ग्र्याउने तयारीमा थिए, सौगात थापा ।

थापा अहिले पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष छन् । सानैदेखि राजनीतिक पृष्ठभूमिमा हुर्किएका थापालाई कांग्रेसको विशेष महाधिवेशनले कता कता राजनीतिक चेत बढायो ।

एउटै कारण थियो– पार्टीमा युवा प्रतिनिधित्व ।

उमेरले २८ वर्ष मात्रै पुगेका थापा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सघाउने निधोमा पुगे ।

अहिले कांग्रेसले ३५ वर्षमुनिका युवाहरूलाई विभिन्न तहमा कोटा नै तोकेर प्राथमिकतामा राखी सहभागिताको ग्यारेन्टी गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ मा एघारौँ पटक संशोधन गरी युवा प्रतिनिधित्व सुनिश्चित गरिएको हो ।

पार्टीको दाबी अनुसार, यसपटक करिब १६ हजार युवा प्रतिनिधित्व हुनेगरी पार्टी संरचनामा काम भइरहेको छ ।

व्यवसायिक व्यस्तताकाबीच थापाले पनि पार्टीको यो आकांक्षामा मलजल गरिरहेका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु हुने १५ औं महाधिवेशनका लागि उनी महाधिवेशन प्रतिनिधि बनेर सहभागी भएका छन् ।

उद्यम तथा व्यवसायमा हात हाल्दै अघि बढेको पुस्तालाई समेटेर अघि बढ्दा थापाले पनि आफ्नो राजनीतिक यात्रालाई अघि बढाउन चाहेका हुन् ।

‘विधानमा व्यवस्था नभएको भए यति लामो लिगेसी भएको पार्टीमा हामीलाई छिर्न कहाँ सम्भव हुन्थ्यो ? यो विधान युवामैत्री बन्यो, हामीलाई पनि पार्टीमा जोड्यो,’ सौगातले सुनाए ।

उनका अनुसार, पार्टीले अघि सारेको एजेन्डालाई मलजल गर्नका लागि आफूहरू व्यवसायसँगै राजनीतिमा पनि अघि बढ्नुपर्ने छ ।

‘समाजका धेरै पक्षसँग राजनीति जोडिन्छ, हामी व्यवसायीलाई झनै हरेक पक्षको साथ चाहिन्छ, समाजसेवासहितको राजनीति र राजनीतिक चेतसहितको व्यवसायिकताले समाज सफल बन्ला,’ थापाको बुझाइ छ ।

कांग्रेसले हरेक प्रदेशबाट एक युवा र एक महिलासहित कूल १४ र खुलाबाट ७ जना गरी २१ जना निर्वाचित हुने बाटो खुलाएको छ ।

‘म आफैं कुनै तहको नेतृत्वमा रहनुपर्छ भन्ने होइन, तर अब कांग्रेसका लागि युवा आवश्यक छन्, युवाले नै नेतृत्व लिनुपर्छ,’ उनले भने ।

पोखराको व्यवसायिक घरानामा जन्मिएका थापाले व्यवसायलाई मात्रै आफ्नो पौरख मानेनन् ।

‘जेनजी आन्दोलनले ढलेका व्यवसाय त विस्तारै अघि बढ्न थालेका छन्, अब पनि युवाले तिनै पुराना नेतृत्वलाई विश्वास गर्ने दिन छैनन्,’ उनी भन्छन्, ‘हाम्रो उपस्थिति गतिलो हुनुपर्छ ।’

पोखरामा विभिन्न होटल व्यवसाय र पर्यटन प्रवर्द्धन लगायतका काममा खटिएका उनलाई बुवा विन्दुकुमारले बोकेको राजनीतिक सिद्धान्त मन पर्‍यो ।

हिजोका नेताहरूले गरेको गल्ती आगामी पुस्ताले भोग्न हुँदैन भन्ने विश्वास राखेका उनी कांग्रेस बदलिए मात्रै युवाले काम गर्न सक्ने चेत राख्छन् ।

एक वर्षअघि जे आरोप खेपेर उनले जेनजी आन्दोलनमा सर्वस्व गुमाए, भविष्यका लाखौं सन्ततीले यस्तो दिन खेप्न नपर्ने दिन ल्याउनुपर्ने उनको बुझाइ छ ।

‘नढल्नुपर्ने थियो, नहुनु भयो । ढलेपछि उठ्नु नै युवा हुनु हो,’ उनी भन्छन्, ‘एक पटक सबैलाई कठिन समय आउँछ भन्ठानेर उठ्ने प्रयास गरें । सबैभन्दा ठूलो कुरा मैले हार मानिनँ,’ सौगातले सुनाए ।

कांग्रेसको यो महाधिवेशनमा पोखरा–८ बाट क्षेत्रीय प्रतिनिधि हुँदै ३५ वर्ष मुनिको युवा क्लस्टरमा उनी निर्वाचित भएका छन् ।

कांग्रेसले युवालाई अघि बढाउन थालेको यो मौकाले ‘आफूहरूलाई राजनीतिमा फक्रन’ मौका मिलेको बुझाइ उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?