युद्धका कारण विश्वव्यापी छाएको ऊर्जा संकटको सामना गर्न रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल तेल निकालिएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले मार्चमा प्रतिबद्धता जनाएको ४० करोड ब्यारेलमध्ये हालसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य पदार्थ रणनीतिक भण्डारबाट निकालिसकेका छन् ।
विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको चिन्ता कम गर्न जी–७ राष्ट्रहरूले पनि आईईएको समन्वयमा तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए ।
त्यसको एक दिनपछि आईईएको यस्तो जानकारी आएको हो ।
अमेरिका–इजरायल युद्धका कारण इरानमा उत्पन्न परिस्थितिको प्रभावले विश्वव्यापी ऊर्जा आपूर्तिमा परेको असरलाई सम्बोधन गर्न जी–७ ले उक्त निर्णय गरेको हो ।
तर, जी–७ ले बजारमा ल्याउन लागिएको १० करोड ब्यारेलमा मार्चमा गरिएको प्रतिबद्धताअनुसार बाँकी रहेको ७ करोड ५० लाख ब्यारेलसमेत समावेश छ कि त्योभन्दा अतिरिक्त हो भन्ने स्पष्ट पारेको छैन ।
रणनीतिक पेट्रोलियम भण्डार के हो ?
रणनीतिक पेट्रोलियम भण्डार (एसपीआर) भनेको आपूर्तिमा अवरोध आएको अवस्थामा बजारमा आपूर्ति गर्नका लागि विभिन्न देशले भण्डारण गरेर राखेको कच्चा तेलको मौज्दात हो ।
अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारको अधिकतम स्वीकृत क्षमता ७१ करोड ४० लाख ब्यारेल रहेको छ । २०२६ मे २९ सम्म त्यहाँ ३५ करोड ७१ लाख ब्यारेल कच्चा तेल मौज्दात थियो ।
अमेरिकी सरकारले विगतमा मानवीय कारणले भएका दुर्घटना, आर्थिक संकट र प्राकृतिक विपत्तिपछि रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निकालेको छ । केही अवस्थामा अन्य देशलाई पनि भण्डारमा रहेको कच्चा तेल बिक्री तथा ऋणमा उपलब्ध गराएको छ ।
कसरी काम गर्छ ?
प्राकृतिक विपत्ति, दुर्घटना वा आर्थिक प्रतिबन्धका कारण आपूर्तिमा अचानक र अस्थायी अवरोध आउँदा रणनीतिक पेट्रोलियम भण्डारले देशलाई त्यसको असर सामना गर्न सहयोग पुर्याउन सक्छ ।
रणनीतिक भण्डारमा जमिनबाट निकालिसकिएको कच्चा तेल भण्डारण गरिन्छ, जसलाई आवश्यक पर्दा तत्काल प्रशोधन गरेर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ ।
यसलाई प्रमाणित तेल भण्डारसँग भने भ्रमित गर्नु हुँदैन । प्रमाणित तेल भण्डार भन्नाले भविष्यमा निकाल्न सकिने गरी जमिनमुनि रहेको कच्चा तेलको अनुमानित परिमाणलाई जनाउँछ ।
तेलको खपतको तुलनामा भण्डारण क्षमता सीमित हुने भएकाले रणनीतिक भण्डारले केही महिनाभन्दा लामो समयसम्म जारी रहने आपूर्ति अवरोधलाई पूर्ण रूपमा पूर्ति गर्न सक्दैन ।
भण्डारबाट तेल निकाल्दा आपूर्तिमा एकपटकका लागि वृद्धि हुन्छ, तर यसले दीर्घकालीन रूपमा तेलको उपलब्धता बढाउँदैन ।
प्रतिक्रिया 4