+
ब्लग :

भारतमा फुटबलको ऐतिहासिक रात, नेपाली फुटबल सन्नाटामै

२०८३ असोज  १८ गते १०:४२ २०८३ असोज १८ गते १०:४२

हामीसँग खेलाडी छन् । समर्थक छन् । राष्ट्रिय टोली छ, क्लब छन्, मैदान छन् । फुटबल खेल्ने इच्छा पनि छ । तर फुटबल चलाउने संरचना नै विवादमा परेपछि मैदानमा बल पुग्नुअघि नै खेल रोकिने अवस्था छ ।

कल्पना गरौं । नेपाली फुटबल यतिबेला साफ च्याम्पियनसिपको तयारीमा व्यस्त हुन्थ्यो । प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले राष्ट्रिय टोलीको प्रारम्भिक खेलाडी घोषणा गरिसकेका हुन्थे । खेलाडीहरू प्रशिक्षणमा व्यस्त हुन्थे। समर्थकहरू नेपालले बंगलादेशमा खेल्ने खेलको हिसाबकिताब गरिरहेका हुन्थे ।

साफ च्याम्पियनसिप आउँदै थियो, त्यसैले नेपाली फुटबलमा पनि केही दिनका लागि भए पनि राष्ट्रिय टोलीको चर्चा चुलिन्थ्यो ।

तर यो सबै कल्पनामा मात्र सीमित राखौं । किनभने, यो अब हुनेवाला छैन।

नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप गुमाएको छ । कारण, नेपाली फुटबलमाथि लागेको फिफाको निलम्बन ।

यता, छिमेकी राष्ट्र भारतमा भने शनिबार त्यस्तो ऐतिहासिक दृश्य देखियो, जुन नेपाली फुटबलका लागि हेर्दा झन् टिठलाग्दो लाग्न सक्छ ।

पाँचपटकको विश्वकप विजेता ब्राजिलको टोली भारत आइपुग्यो । भिनिसियस जुनियरदेखि नयाँ पुस्ताका खेलाडीसम्म बोकेको ब्राजिलले कोलकाताको साल्ट लेक स्टेडियममा भारतसँग मैत्रीपूर्ण खेल खेल्यो ।

भारत ४–० ले पराजित भयो । तर परिणामभन्दा ठूलो कुरा थियो- भारतले ब्राजिललाई आफ्नो मैदानमा बोलाएर खेल्यो । त्यतिमात्र होइन, २ दिनपछि उरुग्वेसँग पनि खेल्दैछ । यसअघि पानामासँग पनि बराबरी खेल्यो ।

यो भारत र ब्राजिलबीचको पहिलो सिनियर अन्तर्राष्ट्रिय भेट थियो । खेल हेर्न ५१ हजारभन्दा बढी दर्शक रंगशालामा पुगेका थिए । ब्राजिलले खेल जित्यो, भारतले हार्‍यो ।

तर भारतले विश्व फुटबलको एउटा महाशक्तिसँग आफ्नै मैदानमा खेल्ने अवसर पायो । आफ्नै समर्थकसामु विश्व फुटबलको सबैभन्दा ठूलो टोलीमध्ये एकसँग खेल्ने अवसर ।

भारतले ब्राजिललाई बोलायो । ब्राजिल आयो, खेल भयो । दर्शक आए, खेलाडीले अनुभव पाए । भारतीय फुटबलले एउटा ठूलो अन्तर्राष्ट्रिय रात पायो ।

भारतले हारेर पनि केही पाएर त्यो रात सकायो । नेपालले भने अहिले खेल्न पाउने अवसरसमेत गुमाइरहेको छ ।

हामीसँग खेलाडी छन् । समर्थक छन् । राष्ट्रिय टोली छ, क्लब छन्, मैदान छन् । फुटबल खेल्ने इच्छा पनि छ ।

तर फुटबल चलाउने संरचना नै विवादमा परेपछि मैदानमा बल पुग्नुअघि नै खेल रोकिने अवस्था छ ।

यहीँनेर प्रश्न उठ्छ- सबै कुरा भएर पनि हामी कहाँ छौं त ?

ब्राजिल छिमेकमै आउँदा नेपाल मैदानबाहिर

ब्राजिल नेपालभन्दा धेरै टाढा गएको थिएन । भारतमै आएको थियो ।

तर नेपाल भने आफ्नै फुटबलको आधारभूत गतिविधि कसरी चलाउने भन्ने प्रश्नमा अल्झिएको छ ।

फिफाले गत जुन २४ मा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनिश्चितकालका लागि निलम्बन गर्‍यो । फिफाले एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपलाई निलम्बनको कारण बनाएको थियो। निलम्बनसँगै नेपाली राष्ट्रिय टोली र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अधिकार गुमाए ।

निलम्बनको असर यतिमै रोकिएन । घरेलु फुटबल गतिविधिसमेत ठप्प बन्यो । राष्ट्रिय लिग, महिला लिग, युथ लिगलगायतका गतिविधि प्रभावित भए । खेलाडी, प्रशिक्षक र कर्मचारी अन्योलमा परे । एन्फाले नै निलम्बनका कारण अन्तर्राष्ट्रिय प्रतियोगितासहित धेरै फुटबल गतिविधि प्रभावित भएको बताउँदै आएको छ ।

सबैभन्दा ठूलो चोट भने साफ च्याम्पियनसिपमा लाग्यो । नेपालले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक गुमायो । फिफाको निलम्बन फुकुवा गराउनका लागि सेप्टेम्बर ३० सम्मको समय दिइएको थियो । त्यो समयसीमाभित्र निलम्बन नफुकेपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

अर्थात्, जब दक्षिण एसियाका टोलीहरू साफको तयारी गरिरहेका थिए, नेपाल भने प्रतियोगितामा सहभागी हुनै नपाउने अवस्थामा पुगिसकेको थियो ।

यो संकट एउटा खेल हारेको वा एउटा प्रतियोगिता गुमाएको विषय होइन । नेपाली फुटबल अहिले संस्थागत विवादको बीचमा छ ।

सरकार र एन्फाबीच फिफाको निलम्बन फुकुवा गर्ने विषयमा सहमति बन्न सकेको छैन । सरकारको निष्कर्ष एन्फाले निलम्बन फुकुवाका लागि पर्याप्त सहयोग नगरेको भन्ने छ । एन्फाले भने सरकारकै कारण समस्या सिर्जना भएको दाबी गर्दै आएको छ । दुवै पक्षका आफ्ना-आफ्ना तर्क छन् ।

त्यसमाथि एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि संकट थप जटिल बनेको छ । उनीहरूमाथि खेल मिलेमतो, आर्थिक अनियमितता र अन्य विषयमा अनुसन्धान भइरहेको छ । दुवैजनाको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सर्वोच्च अदालतले पनि तत्काल रिहाइको आदेश दिएको छैन ।

यसले नेपाली फुटबलको संस्थागत संकटलाई अझ गहिरो बनाएको छ ।

सरकार आफैं अघि बढ्ने तयारीमा

एक समय खेलकुदमन्त्रीले फिफासँग सकारात्मक छलफल भइरहेको र निलम्बन चाँडै फुकुवा हुने संकेत दिएका थिए । तर त्योअनुसार प्रगति हुन सकेन ।

फिफाको निलम्बन सय दिनमाथि पुगिसकेको छ र तत्काल फुकुवा हुने स्पष्ट संकेत देखिएको छैन । फिफाले निलम्बन फुकुवाका लागि राखेपको मार्च २५ को निर्णय पूर्ण रूपमा फिर्ता लिनुपर्ने, वर्तमान एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र एन्फाले आफ्नो निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने सर्त राखेको छ ।

अब सरकार अर्को बाटोतर्फ जान खोजिरहेको छ । निलम्बन फुकुवाका लागि भएका पटकपटकका छलफलबाट उपलब्धि नआएपछि सरकारले घरेलु फुटबल गतिविधि आफैं अघि बढाउने तयारी गरेको छ ।

पूर्वफुटबलरसँगको छलफलपछि निलम्बन कायम रहे पनि घरेलु लिगहरू अघि बढाउने गरी योजनाबद्ध रूपमा काम गर्ने समझदारी भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले बताएका थिए ।

यो निर्णयको अर्थ के हुन्छ, त्यो आउने दिनले देखाउनेछ । तर एउटा कुरा स्पष्ट छ—फुटबल रोकिएर बस्न सक्दैन ।

निद्राबाट कहिले उठ्ने ?

ब्राजिल भारत आयो र खेलिसक्यो । भारतले विश्व च्याम्पियन टोलीसँग खेलिसक्यो ।

नेपालले भने पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा थियो, जतिबेला नेपाल लाओससँग भिडेको थियो । त्यो भनेको राखेपबाट एन्फा निलम्बनमा परेको ६ दिनपछिको खेल हो ।

त्यसयता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेन, फिफाकै निलम्बनमा पर्‍यो ।

फलस्वरुप नेपालले साफ च्याम्पियनसिप पनि गुमाइसक्यो । अब घरेलु फुटबल कसरी चलाउने भन्ने विषयमा सरकार र एन्फाबीच फेरि अर्को अध्याय सुरु हुँदैछ।

तर यो अध्याय पनि विवादमै बित्यो भने त्यसको मूल्य कसले तिर्ने ? सरकारले होइन । एन्फाले मात्रै पनि होइन ।

मूल्य तिर्ने तिनै खेलाडीले हुन्, जो अहिले मैदानमा हुनुपर्ने थियो ।

साफका लागि प्रशिक्षणमा पस्नुपर्ने खेलाडी कोही घरमै छन्, कोही स्थानीय प्रतियोगिता खेल्दै छन्, कोही विदेशी लिगमा खेलिरहेका छन् ।

जर्सी लगाएर मैदानमा उत्रिनुपर्ने खेलाडी प्रतियोगिताको पर्खाइमा छन् । समर्थकहरू खेलको मिति खोजिरहेका छन् । र नेपाली फुटबलको भविष्य फेरि ‘कहिले चल्छ?’ भन्ने प्रश्नमा अडिएको छ ।

छिमेकमा ब्राजिलजस्तो टोली आएर खेल्छ । हामी भने आफ्नै फुटबल चलाउने बाटो खोजिरहेका छौं ।

यो तुलना भारतसँगको प्रतिस्पर्धाको होइन । यो हामीले गुमाउँदै गएको अवसरको हो ।

र नेपाली फुटबल अझै यहीँ छ, निद्राबाट ब्युँझने प्रतीक्षामा ।

एन्फा निलम्बन नेपाली फुटबल
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय