मानव जातिको उत्पत्तिको स्थल अफ्रिकालाई मानिन्छ। अफ्रिकाकै केन्याको माउन्ट एल्गन वनस्पति जैविक विविधताले धनी भएको क्षेत्र हो। यहाँ हात्तीहरूले खाने खनिजजन्य पदार्थहरू पनि प्रशस्त मात्रामा पाइन्छ।
पौराणिक कालदेखि मानव जातिले कुनै पनि प्रकारको रोगव्याधि लाग्दा आफ्नो वरपर पाइने वनस्पतिहरू उपयोग गर्दछन् भन्ने त हामीले विभिन्न लेखहरू तथा किताबहरूमा पढ्दै आइराखेका छौं। हामी हालसम्म पनि आवश्यक पर्दा नजिकै पाइने विभिन्न प्रकारका वनस्पतिहरू उपयोग गर्दछौं। प्रारम्भिक उपचार भनेको नजिकै पाउने वनस्पतिको प्रयोग नै हो।
प्रारम्भिक कालदेखि हिट एन्ड ट्रायल कै रूपमा प्रयोग हुँदै आएको वनस्पतिहरू कालान्तरमा स्थायी रूपमा नै पनि प्रयोग भएको पाइन्छ। आयुर्वेदमा यसको प्रस्ट रूपमा उल्लेख गरिएको छ। आधुनिक औषधि विज्ञान आउनु अगाडिदेखि प्रयोग हुँदै आएको यो विधि समय क्रममा झन् परिष्कृत र विकसित हुँदै अहिलेको अत्याधुनिक युगसम्म आइपुग्दा पनि उत्तिकै समयसान्दर्भिक रहेको पाइन्छ।
मानव जातिले उपयोग गरेको त स्वाभाविक नै मानिन्छ। तर हालैको एउटा अध्ययनले जनावरहरूले पनि आफ्नो वरपर पाइने वनस्पतिहरू विभिन्न रोगहरूका लागि प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट पारेको छ।
हालैका वर्षहरूमा जनावरहरूले पनि स्व–उपचार गर्छन् भन्ने कुरा उजागर भएको छ। चिम्पान्जी, ग्रेटबस्टर्ड चरा, डल्फिनसमेतका जीवहरूले स्व–उपचार गर्छन् भन्ने देखाएको छ। यो उपचार मेरुदण्ड भएका प्राणीहरूमा मात्रै सीमित छैन; मेरुदण्ड नभएका प्राणीहरूले समेत स्व–उपचार गर्छन् भन्ने प्रमाणहरू भेटिएका छन्। हालै गरिएको एउटा अध्ययनले यी कुराहरूको पुष्टि हुन गएको छ।

जनावरहरूको औषधीय ज्ञानको अध्ययनलाई जुफार्माकोग्नोसी भनिन्छ। यसको अध्ययन सन् १९७० देखि सुरु भएको मानिन्छ। यसमा धेरै वनस्पतिहरू पहिचान गरी सूचीकृत गरिएको छ। विशेषगरी जङ्गली जनावरहरूको आहारलाई समावेश गरिएको छ। धेरैजसो वनस्पति रहेका छन् भने मुख्यतः वनस्पतिको बोक्रा, गुदी, पात र खोटो प्रयोग गर्छन्।
अन्य प्राकृतिक वस्तुहरू (कोइला, माटो, किरा, फट्याङ्ग्राहरू पनि) उपयोग गरेको पाइन्छ। विशेषतः सामान्य रोगहरूमा उपयोग गरेको पाइन्छ भने परजीवी सङ्क्रमण, श्वासप्रश्वास, चोटपटक, घाउ र पाचन प्रणालीको खराबीमा वरपर पाइने वनस्पतिहरू उपयोग गर्छन्।
जनावरहरूले पनि स्व–उपचारका लागि विभिन्न प्रक्रियाहरू पूरा गर्छन्। जसमा तापक्रम सन्तुलनका लागि घाम ताप्छन्। बिरामीपनका व्यवहारहरू देखाउँछन् (जस्तो: अल्छीपना, अवसाद, ज्वरो आउने गर्दछ)। दूषित खाना, पानी र वातावरणहरूबाट टाढा हुन्छन्।
जानेर वा नजानेर औषधीय गुणहरू भएको स्रोतहरू सेवन गर्दछन्। बिरामी भएको बेलामा मेकानिकल वा फर्माकोलजिकल गुण भएका वस्तुहरू सावधानीपूर्वक कम मात्रामा सेवन गर्दछन्। परजीवी नियन्त्रण तथा बाह्य स्वास्थ्य अवस्थाको व्यवस्थापनका लागि शरीरमा बाह्य पदार्थ लगाउने, कमिला घस्ने, गुफामा धुप लगाउने काम गर्दछन्।
एसियाका हात्तीहरूले दिनमा एकपटकसम्म धेरै दिन चिम्टाइलो माटो खान्छन्। मूलतः आन्द्रामा रहेका परजीवीहरू बाहिर निकाल्नका लागि यस्तो व्यवहार गर्दछन्। अफ्रिकी हात्तीहरूले पनि नियमित रूपमा यस्तै माटो खाने गर्छन्। यसमा रहेको खनिज तथा पोषक तत्त्वहरू प्राप्त गर्छन्।
दोस्रो तथा तेस्रो शताब्दीमा नै जनावरहरूले स्व–उपचार गर्छन् भन्ने कुरा उल्लेख गरिएको छ। क्लोडियस एलियनसले यसबारेमा उल्लेख गरेका छन्। जीउमा घाउ तथा चोटपटक लाग्दा ओलिभ वनस्पतिको फूलहरू खान्छन् भने बियाँहरू पनि खान्छन्; जसमा ओलिभ तेल पाइन्छ। तान्जानियाका अफ्रिकन हात्तीहरूले पाचन क्रियाका लागि पिलियोस्टिग्मा थोनिङ्गीको पातहरू टुक्राटुक्रा पारी आफ्नो सुँडमा पानी राखेर भिजाउँछन्। त्यसपछि बाँकी रहेका पातहरू बाहिर फाल्छन् र सबै पानी पिउँछन्।
पिलियोस्टिग्मा थोनिङ्गी अफ्रिकामा परम्परागत औषधिका रूपमा प्रयोग गरिएका प्रमाणहरू छन् भने औषधीय गुण रहेको भनेर सूचीकृत पनि गरिएको छ। माउ हात्तीहरूमा प्रसव प्रक्रिया सुरु गराउन त्यहाँ उपलब्ध वनस्पति कोर्डिया कोइन्जीका पातहरू खाने गर्छन्। केन्याको केही भागका महिलाहरूले यसका पातहरू प्रसवका लागि चियाको रूपमा खान्छन्। माटोमा पोषण तथा औषधीय दुवै गुणहरू रहेको पाइन्छ।
हात्तीहरूले आफ्नो स्वास्थ्य समस्याहरूको उपचार कसरी गर्छन् ? भन्ने कुराको जानकारी यस अध्ययनमा विस्तृत रूपमा उल्लेख गरिएको छ। अध्ययनले ‘कुनकुन प्रजातिका वनस्पतिहरू प्रयोग गर्छन् र अन्य जीवहरू तथा माटोहरू कसरी खान्छन् ?’ भन्ने कुराको उल्लेख गरेको छ। परम्परागत तथा त्यहाँ रहेका आदिवासीहरूको उपचारसँग सम्बन्धित ज्ञानका बारेमा पनि विस्तृत अध्ययन गरिएको छ।

आमाको दूधसँग वनस्पति मिसाएर असामान्य तरिकाले खाएको पनि देखियो। हात्तीले विरलै तथा विशेष मौसममा मात्रै लक्षित रूपमा वनस्पति उपयोग गरेको पाइयो। विशिष्ट वनस्पति प्राप्त गर्न २० किलोमिटरसम्म कुनै ठाउँमा पनि नरोकिईकन तथा कुनै पनि प्रकारको खानेकुरा नखाईकन हिँडेको पाइयो।
अध्ययनमा २३ परिवारका तथा ३५ प्रकारका वनस्पति प्रजातिका प्रयोग हुने गरेको देखाएको छ। चार प्रकारका माटो तथा खनिज पदार्थहरू भएका माटोहरूको बारेमा उल्लेख गरिएको छ। अन्तर्वार्ताको क्रममा ३९ वटा प्राणीजन्य औषधीय ज्ञानसँग सम्बन्धित स्रोतहरू उल्लेख गरिएको छ भने १९ वटाका लागि आवश्यक प्रमाणहरू प्राप्त गरेका छन्। यसमा खानपानका विविध प्रकारहरू, विशेष तयारी विधिहरू, स्रोतका अनियमित प्रयोग र हात्तीहरूको स्याहारसुसार सम्बन्धमा अध्ययन पनि गरिएको छ।
३९ वटा अन्तर्वार्ता स्रोतमध्ये ३४ वटा (झन्डै ८७ प्रतिशत) ले परम्परागत मानवमा प्रयोग हुने औषधि प्रयोग भएको पाइएको थियो। यीमध्ये २५ वटा हात्तीहरूले उपयोग गरेको पाइयो। यसमा माउहरूले छावाहरूलाई औषधिको रूपमा उपयोग गरेको पाइयो।
निम्न ८ प्रजातिका वनस्पतिहरू हात्तीका आमाहरूले आफ्ना बच्चाहरूलाई विभिन्न प्रकारका रोगहरूका लागि उपयोग गरेका छन् :
- ब्याब्या ब्याओब्याब (Biaebia baobab)
- बोम्बाक्स बोनपाटे (Bombax bonpate)
- कमुका बुरुन्डी (Commuca burundi)
- डोम्बेया डोगेनसिएम (Dombeya dogensiem)
- डोम्बेया रोटुन्डीफोलिया (Dombeya rotundifolia)
- डोम्बेया टोरेन्टी (Dombeya torrenti)
- फोकस नटालिएन्सी (Focus nataliency)
- फोकस स्युबाएन्सी (Focus subaency)
अध्ययनअनुसार हरेक हात्तीहरूले आफ्नो लागि विभिन्न प्रकारका बिरामी हुँदा आफैंले विभिन्न प्रकारका औषधीय वनस्पतिहरू खोजेर प्रयोग गर्न सक्दछन् भन्ने देखाएको छ। लक्षित आहार तथा व्यवहारमा ध्यान दिन सक्दछन्। अफ्रिकन हात्तीहरूमा विशिष्ट प्रकारको औषधिको ज्ञान हुन सक्ने देखियो। आफूलाई आवश्यक पर्दा छानीछानी विभिन्न प्रकारका वनस्पतिहरू उपयोग गर्न सक्ने देखियो।

यस अध्ययनले नयाँ प्रकारका औषधि निर्माणका लागि आवश्यक ज्ञानहरू उपलब्ध भएको छ भने त्यसको प्राकृतिक स्रोतको पनि पहिचान हुन पुगेको छ। मानव जाति तथा जनावरहरूबीचको अन्योन्याश्रित सम्बन्ध स्थापित गर्न सफल भएको छ। यसले प्रकृतिमा पाइने जीवजन्तु तथा पानी, माटो, खनिज पदार्थहरूको प्राकृतिक सन्तुलन कायम गर्नको लागि आवश्यक पहल गर्न निर्देशित पनि गर्दछ।
प्रतिक्रिया 4