१९ असोज, काठमाडौं । सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट खोजी गरी परिवारको जिम्मा लगाएको छ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि आफ्नै घरबाट हराएका थिए। लामो समयसम्म सम्पर्कविहीन रहेका उनलाई परिवारले खोजी गर्दै आएको थियो।
खोजीका क्रममा शिवकुमार भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि दिल्लीस्थित किङ इन्डिया संस्थासँग आवश्यक समन्वय गरी खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
संस्थाले शिवकुमारलाई फेला पारेपछि उक्त संस्थाका निर्देशक नवीन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरेका थिए।
त्यसपछि आइतबार शिवकुमारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई बुझाइएको थियो।
उनलाई अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया 4