+
नेपाली क्रिकेट :

ओडीआई मान्यता जोगाउने नेपालको प्रमुख लक्ष्य

२०८३ असोज  १९ गते १४:४५ २०८३ असोज १९ गते १४:४५

विश्वकप छनोटमा सोझै पुग्ने बाटो नेपालका लागि धेरै नै कठिन भइसकेको छ । त्यसकारण हालका लागि नेपालको मुख्य लक्ष्य भने ओडीआई मान्यता जोगिने कुरा सुनिश्चित गर्ने हुनेछ ।

१९ असोज, काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बनेको नेपाली क्रिकेट टोलीसामु अब अर्को एउटा ठूलो चुनौती उभिएको छ- आईसीसी विश्वकप लिग-२ को अन्तिम शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु ।

विश्वकप छनोटमा सोझै पुग्ने बाटो नेपालका लागि धेरै नै कठिन भइसकेको छ । यद्यपी गणितीय सम्भावना अझै बाँकी छ । यदि चमत्कारिक रूपमा आगामी सबै नतिजाहरू नेपालकै पक्षमा आए भने मात्र नेपाल लिग-२ को शीर्ष चारभित्र परेर सोझै विश्वकप छनोटमा पुग्न सक्छ; तर यसको सम्भावना अत्यन्तै न्यून छ ।

शीर्ष ४ मा नपरेपनि नेपाल प्लेअफमार्फत विश्वकपको छनोट प्रतियोगितासम्म पुग्ने सम्भावना त छँदै छ, त्यसकारण हालका लागि नेपालको मुख्य लक्ष्य भने ओडीआई मान्यता जोगिने कुरा सुनिश्चित गर्ने हुनेछ ।

त्यसैले अब ओमानमा हुने शृङ्खलाले नेपालले ओडीआई मान्यता जोगाउन सक्छ कि सक्दैन भन्ने समीकरणलाई मुख्य रूपमा निर्णायक बनाउनेछ । सँगै, विश्वकप छनोटतर्फ अघि बढ्ने नेपालको सम्भावना कुन चरणमा पुग्छ भन्ने पनि यही शृङ्खलाले अन्तिमपटक दिशा दिनेछ ।

‘टिमको लयमा परिवर्तन देखिएको छ, ओडीआई मान्यता बचाउने, टिमलाई विश्वकप छनोटमा पुर्‍याउने नै हाम्रो लक्ष्य रहनेछ’ कप्तान सन्दीपले भनेका छन् ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा नेपाल, ओमान र क्यानडाबीच हुने यो शृङ्खला तीनवटै टोलीका लागि महत्त्वपूर्ण छ । तर नेपालका लागि भने यसको अर्थ अझ गहिरो छ ।

नेपाल अहिले लिग-२ का ३२ खेलबाट २४ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । शीर्ष चारमा पर्दै सोझै विश्वकप छनोटमा पुग्ने बाटो निकै जटिल बने पनि लिग-२ मा नेपालको सबै लक्ष्य सकिएको भने होइन । नेपालसँग अझै एउटा महत्त्वपूर्ण र अस्तित्वसँग जोडिएको लक्ष्य बाँकी छ- ओडीआई मान्यता जोगाउने ।

यही कारण ओमानमा हुने शृङ्खला नेपालका लागि सामान्य शृङ्खला मात्र हुने छैन । शृङ्खला सकिँदा नेपाल तालिकाको शीर्ष ६ भित्र अटाउन सकेन भने लिग-२ को अन्तिम तालिकामा सातौं वा आठौं स्थानमा सीमित हुँदै ओडीआई मान्यता गुमाउने गम्भीर संकटतर्फ धकेलिनेछ ।

ओडीआई मान्यताका विषयमा आईसीसीको अन्तिम र स्पष्ट प्रावधान अझै आइसकेको छैन । तर अहिलेको अवस्थामा तालिकाको शीर्ष ६ भित्र पर्नु नेपालका लागि सुरक्षित अवतरणजस्तै देखिन्छ, क्यानकै भाषामा ।

अंक तालिका र अबको समीकरण

अंक तालिका हेर्दा नेपालको चुनौती प्रस्ट हुन्छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित शीर्ष स्थानमा छ । उसले आफ्ना सबै खेल खेलिसकेको छ । अमेरिका ३२ खेलमा ४३ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा छन् । यी तीनै टोली शीर्ष तीनमा रहने पक्का भइसकेको छ ।

चौथो स्थानमा रहेको ओमानको २८ खेलबाट ३१ अंक छ । नामिबिया ३३ खेलबाट २९ अंकसहित पाँचौं र क्यानडा ३२ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छन् ।

नेपाल २४ अंकसहित सातौंमा छ । आठौं स्थानको यूएईको २९ खेलबाट १९ अंक छ ।

अर्थात् नेपाल अहिले क्यानडाभन्दा केवल एक अंक पछाडि छ । तर यही एक अंकको दूरी पार गर्नु मात्र पर्याप्त हुने छैन । बाँकी खेल, अन्य टोलीको नतिजा र अन्तिम अंक तालिकाको समीकरण सबै नेपालका पक्षमा आउनुपर्नेछ ।

अमेरिकामा अहिले अमेरिका, नामिबिया र यूएईबीचको शृङ्खला चलिरहेको छ । त्यसको नतिजाले ओमानमा नेपाल, ओमान र क्यानडा मैदान उत्रिँदा समीकरण अझ स्पष्ट पार्नेछ ।

त्यसपछि यूएई, नेदरल्यान्ड्स र ओमानबीच लिग–२ को अन्तिम शृङ्खला हुनेछ । त्यसैले नेपालले ओमान जानुअघि नै आफ्नो अवस्थाबारे धेरै कुरा बुझिसकेको छ ।

नेपालले ओमान र क्यानडाविरुद्धका ४ मध्ये ३ वा चारै खेल जितेमा ३० देखि ३२ अंक पुग्नेछ । यस्तो अवस्थामा नेपालले कम्तीमा क्यानडालाई पछाडि पार्नेछ । अर्को शृङ्खलामा नामिबिया अगाडि नबढेमा नामिबिया पनि पछाडि पर्नेछ । नामिबिया नेपालभन्दा अगाडि गइहालेमा पनि नेपाल छैटौंभन्दा तल झर्ने छैन ।

यदि नेपालले क्यानडालाई दुवै खेलमा हराउँछ तर ओमानसँगका दुवै खेल हार्छ भने नेपालको २८ अंक हुनेछ । नेपालले क्यानडालाई दुवै खेलमा पराजित गरेर ओमानले पनि कम्तीमा एक खेलमा क्यानडालाई हराउँछ भने पनि क्यानडा नेपालभन्दा पछाडि पर्नेछ ।

त्यसैले नेपालले क्यानडाविरुद्धका दुवै खेल जितेर कम्तीमा २८ देखि ३० अंक पुर्‍याउनु नै ओडीआई मान्यता जोगाउने सबैभन्दा सुरक्षित बाटो हुनेछ ।

यसर्थ, नेपालका लागि सबैभन्दा सहज बाटो भनेकै आगामी शृङ्खलामा शतप्रतिशत जित निकाल्नु नै हुनेछ । नेपालले क्यानडा र ओमानलाई हराउन नसकेमा स्वत: शीर्ष ६ मा नपर्ने पक्का हुनेछ ।

शीर्ष ६ मा परेर नेपालले कम्तीमा २८ वा ३० अंक पुर्‍याएर यूएईले सबै खेल जितेमा नामिबिया २८ भन्दा अगाडि नबढ्ने हुँदा नेपालको शीर्ष ६ भित्र स्थान पक्का हुनेछ ।

नेपाल २६ वा २८ अंकमा सीमित रहेमा भने यसपछिका नतिजामा भर पर्नुपर्नेछ ।

कप्तान फेरिए, चुनौती उही

पछिल्लोपटक नेदरल्यान्ड्समा भएको लिग २ शृङ्खलामा चारवटै खेलमा हार बेहोरेको नेपालले त्यसपछि कप्तानसहित टिममा फेरबदल गरेको थियो ।

रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेले कप्तानी सम्हालेका थिए । सन्दीपको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप जितेर पनि आइसकेको छ ।

लिग २ मा भने नेपाल राम्रो लयमा देखिएको थिएन । त्यसकारण नेपालका लागि चुनौती भने लिग २ मा आफ्नो प्रदर्शन सुधार गर्नु र महत्त्वपूर्ण अंक बटुल्ने नै हुनेछ ।

प्रिमियर कप जितेर आएको केही दिनमा नै नेपाली टोली एसियन गेम्स (टी-२०) खेल्न जापान गएको थियो र त्यहाँबाट पनि फर्किइसकेको छ । प्रिमियर कप जितेकै टोलीका अधिकांश खेलाडी अबको शृङ्खलामा पनि समावेश रहेकाले टिमको मनोबल भने उच्च छ ।

‘टिमको लयमा परिवर्तन देखिएको छ, ओडीआई मान्यता बचाउने, टिमलाई विश्वकप छनोटमा पुर्‍याउने नै हाम्रो लक्ष्य रहनेछ’ सन्दीपले भनेका छन् ।

मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि शृङ्खलाको महत्व बुझेका छन् । उनका लागि अहिले सबैभन्दा महत्वपूर्ण कुरा केवल जित्ने कुरा गर्नु होइन, त्यसका लागि सही प्रक्रिया र योजना मैदानमा उतार्नु हो ।

‘जित्छौं भन्न सजिलो छ तर त्यसका लागि प्रोसेस पनि थाहा हुनुपर्छ र त्यसैअनुसार प्रदर्शन पनि गर्नुपर्छ,’ लले भने ।

यस्तो छ टिम

फाइल तस्वीर : क्यान

नेपालले एसीसी प्रिमियर कप खेलेको टोलीबाट एकमात्र परिवर्तन गर्दा एक खेलाडी थपेको छ । प्रिमियर कप खेलेका हेमन्त धामीको स्थानमा नेपालले नन्दन यादवलाई टिममा फिर्ता ल्याएको छ भने बाँयाहाते स्पीनर शाहब आलम पनि थपिएका छन् ।

सोमपाल कामी, कुशल भुर्तेल र भीम सार्कीजस्ता खेलाडी यो शृङ्खलाका लागि पनि टोलीमा छैनन् । उनीहरुले प्रिमियर कप पनि खेलेका थिएनन् ।

नेपालका लागि ओपनिङमा आसिफ शेख र अर्जुन कुमालको जोडीले नै निरन्तरता पाएको छ भने इशान पान्डे, देव खनाल, रोहित पौडेल टप अर्डर अनि दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप जोरा, बसिर अहमदको मिडल अर्डर विकल्प छ । तल्लोक्रममा करण केसी र नन्दन यादवसँगै कप्तान सन्दीप, ललित राजवंशी, शेर मल्ल र शाहब आलम छन् ।

नेपालसँग पेसभन्दा स्पीन बलिङमा प्रशस्त विकल्प छन् । मुख्य पेस बलिङमा करण केसी र नन्दन यादव रहँदा गुल्शन झा पार्ट टाइम पेसरका रूपमा छन् । स्पीनमा भने कप्तान सन्दीपसँगै ललित, शाहब, शेर, बसिर अनि दीपेन्द्र र रोहितको विकल्प छ ।

यीमध्ये प्लेइङ ११ मा को पर्छन् भन्ने अनुमान गर्न कठिन छ । यद्यपी नेपालले आसिफ र अर्जुनसँगै इशान, रोहित, दीपेन्द्र, बसिर, गुल्शन, करण, नन्दन, ललित र सन्दीपको विकल्प प्रयोग गर्न सक्छ ।

***

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल

प्रशिक्षक: स्टुअर्ट ल, म्यानेजर : सुमन राज कार्की

ओडीआई मान्यता नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय