+
+
Shares

वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १७:१३

१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसद डा. रेग्मीले निगमले एयरफेयर (हवाई भाडा) नियन्त्रण गर्न थप सक्रिय भुमिका खेल्नुपर्ने बताए ।

निगमको घाटा न्यूनीकरण गर्न उनले वित्तीय अडिट, रुट प्रोफिट्याबिलिटी (कुन रुटमा कति नाफा छ भन्ने विश्लेषण) र कार्गो तथा ग्राउण्ड ह्यान्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न सुझाव दिए ।

जहाजको ओभरहल (मर्मत) कार्य समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको विषयप्रति ध्यानाकर्षण गराउँदै उनले व्यवस्थापकीय कमजोरी औंल्याए ।

‘निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा प्रदान गर्नसके मात्र अन्य विदेशी एयरलाइन्सको अस्वभाविक भाडा वृद्धि रोक्न सकिन्छ,’ सांसद रेग्मीले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुर्‍याउँछ । यो सन्धिमा हस्ताक्षर नगरेसम्म अन्तर्राष्ट्रिय स्तरमा सहजै विमान लिजमा लिन सक्ने अवस्था छैन ।’

थप विमान लिजमा ल्याउने सम्बन्धमा डा. रेग्मीले ‘केपटाउन कन्भेन्सन’मा नेपालले तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता औंल्याए । तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधार गरे मात्र निगमलाई व्यावसायिक रूपमा सफल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?